आज असार १५ ‘दही च्यूरा खाने दिन’-देशभर राष्ट्रिय धान दिवसका रुपमा मनाइदै

मानो लगाएर मुरी फलाउने दिनः बर्दियामा विशेष कार्यक्रम

काठमाडौं । आज असार १५ गते अर्थात किसानहरुको लागि महत्वपूर्ण दिन, धान दिवस मुलुकभर रोपाईसहित गीत गाउँदै, विविध परिकार खाएर मनाउने परम्परा रहेको छ ।

यो बर्ष ‘धान खेतीमा प्रविधि र यान्त्रिकीकरण, चामल आयातमा न्युनीकरण’ भन्ने मूल नाराका साथ १६ औं राष्ट्रिय धान दिवस देशभर भव्य रुपमा मनाइँदै छ ।

बर्षभरीको लागि खाद्यान्नको उत्पादनका लागि आजको दिन किसानहरुको लागि निक्कै महत्वपूर्ण मानिन्छ, तसर्थ धान दिवस विशेष दिन पनि हो ।

धान दिवसलाई रोपाइँ यात्राको रुपमा पनि चर्चा गरिन्छ । नेपाल कृषि प्रधान देश भएकाले अधिकाशं नागरिकहरु कृषि पेशामा आबद्ध रहेका छन तर मुलुकमा अझै प्रविधिमैत्रि कृषि पेशा हुन नसक्नु दुर्भाग्य हो ।

काँधमा हलो र जुवा बोक्दै सबैंको लागि आहाराको जोहो गनेृ किसान लक्षित कार्यक्रमहरु सरकारले अझै ल्याउन सकेको देखिन्न । कृषिमा उन्नत प्रविधि, उपकरण तथा आवश्यक आर्थिक सहुलियत जस्ता कार्यक्रम राज्यले ल्याउन आवश्यक देखिन्छ ।

असार महिना धान रोप्ने अर्थात मानु छरेर मुरी रोप्ने महिना पनि हो । त्यसमा पनि असारको मध्य अथार्त १५ गतेदेखि मुलुकका अधिकांश क्षेत्रमा रोपाईको तयारी गरीने समय भएकाले आजको दिनमा किसानहरुले रोपाईको शुरुवात पौष्टिक तत्वभएका बस्तुहरु खाएर अनि विभिन्न स्थानीय लोकभाकाहरु खेलेर रमाउँदै गर्ने परम्परा चल्दै आएको छ ।

असारे भाकामा मस्त दौतरीहरु आजको दिनदेखि छुपुछुपु हिलोमा धान रोप्दै रमाउँदै युवा, युवतीबीच खेतका गराको हिलो छ्यापाछ्याप गर्दै मनोरञ्जन समेत गर्ने परम्परा रहेको छ ।

खेतको काममा जुट्नुपर्ने भएकाले शरीरमा शक्ति बढाउनका लागि किसानहरुले आज दही च्यूरा लगायतका पौष्टिक आहार बढि भएका खानेकुरा समेत खान्छन । दही च्यूराले शरीरमा शीतलता कायम गरी शक्ति सञ्चय गर्ने विश्वास गरिन्छ।

त्यसैले आजको दिनलाई कतिपयले दही च्यूरा खाने दिनका रुपमा समेत चिन्ने गर्छन । नेपाली संस्कारमा दहीलाई शुभ संकेतका रुपमा बुझ्दै आएको देखिन्छ । कुनै काम शुरु गर्दा होस वा महत्वपूर्ण कामका लागि टाढा जाँदा होस् सफलताको लागि दही खाने र दहीटीका लगाउने चलन रहेको छ ।

नेपालको एकीकरण गर्दा पृथ्वीनारायण शाहलाई गुरु गोरखनाथले समेत दही खान दिएर पराक्रमी हुने भविष्यवाणी गरेको किवदन्ती पाइन्छ भने आयुर्वेदमा पनि खनापछि दही वा मोही खानु स्वास्थ्यको लागि उपयोृगी हुने उल्लेख गरिएको छ ।

यो बर्षको लागि सरकारले मुख्य कार्यक्रम बर्दियाको राजापुर नगरपालिका ८ मा आयोजना गरेको छ । उक्त कार्यक्रमको लागि कृषिमन्त्री चक्रपाणी खनाल (बलदेव), कृषि विभागका महानिर्देशक सूर्यप्रसाद पौडेल, नेपाल कृषि अनुसन्धान परिषद (नार्क) का महानिर्देशक टेकबहादुर गुरुङ, सांसदहरु लगायतको टोली बर्दिया पुगिसकेको खबर प्रप्त भएको छ ।

सोह्रौं राष्ट्रिय धान दिवस आयोजक समितिका अध्यक्षसमेत रहेका महानिर्देशक पौडेलले धान खेतीमा यान्त्रिकीकरणबाट उत्पादकत्वसमेत करिब १५ प्रतिशतले वृद्धि हुने विश्वास ब्यक्त गरेका छन ।

उनले आगामी दिनहरुमा धानखेतीको लागि वैज्ञानिक यान्त्रिकीकरणलाई बढावा दिने र अन्य आवश्यक प्रवन्ध मिलाइने बताएका छन । आज नेपालीहरुले यो पर्वलाई आ आफ्नो स्थानीय संस्कृति, परम्परा अनुसार मनाउने गर्दछन ।