प्रदेश नम्बर दुईमा पहिलो पटक शुरु भयो महिला प्रिमियर लिग क्रिकेट प्रतियोगिता

सुरुंगा र खडकबीच पहिलो खेल सम्पन्न

सप्तरी । प्रदेश न २ अन्तर्गत रहेको सप्तरी जिल्लाको राजबिराज नगरपालिकामा पर्ने पबिमाबिको क्रिकेट मैदानमा पहिलो पटक महिला प्रिमियर लिग क्रिकेट खेल प्रतियोगिता शुरु भएको छ।

सबल नेपालका कार्यकारी निर्देशक दिपक कुमार झाको अध्यक्षतामा तथा राजबिराज नगरपालिकाका नगर प्रमुख शम्भु प्रसाद यादवको प्रमुख आतिथ्यतामा सम्पन्न एक भव्य कार्यक्रमबीच शुक्रबार उक्त प्रतियोगिताको उदघाटन भएको हो ।

प्रतियोगिताको उद्घाटन राजबिराज नगरपालिकाका उपमेयर साधना झा, सुरुंगा नगरपालिकाका उपमेयर बिन्दा कुमारी पासवान र खडक नगरपालिकाका उपमेयर यासमिन सुल्तानले संयुक्त रुपमा ब्याटिंग, बलिंग र किपिंग गरेर गरेका थिए ।

शुक्रबारबाट शुरु भएको पहिलो खेलमा सुरुंगाले खडकलाई ८ बिकेटले पराजित गर्यो भने पहिलो ब्याटिंग गर्दै खडकले निर्धारित २० ओभरको खेलमा ८ बिकेट गुमाउँदै ८२ रनको योगफल तयार पारेको थियो ।

खडकका लागि सन्तोषी चौधरीले १८, सरस्वती चौधरी १२, रश्मी शर्मा १० र काजल श्रेष्ठले ९ रनको योगदान दिएका थिए भने बलिंग तर्फ सुरुंगाका लागि संगिता राई र सोमु बिष्टले सामान २ बिकेट तथा रुविना श्रेत्री र अप्सरा बेगमले सामान १ बिकेट लिएका थिए ।

८३ रनको झिनो लक्ष्य लिई मैदानमा ओर्लेको सुरुंगाले १९ ओभरमा १ बलमा २ बिकेटको नोक्सानी गरेको थियो ।

सुरुंगाका लागि रोमा थापाले ३४ तथा अप्सरा बेगमले १५ रनको योगदान दिएका थिए भने रुविना चौधरी र नितु भण्डारीले क्रमश १४ र १३ रनको योगदान दिएका थिए ।

खडकका लागि शान्ति चौधरी र रश्मी शर्माले सामान १ बिकेट लिएका थिए । खेलको म्यान अफ द म्याच सुरुंगाका रोमा थापा भएका थिए । खेल आज पनि जारी छ ।