अपाङता भएकालाई ह्वीलचियर र बैशाखी बितरण

जानकी गाउपालिकाका ६ वटा बडामा २ सय ९६ जना अपाङ

बाँके । बाँकेको जानकी गाउँपालिकाका अपाङ्ता भएकालाई ह्वीलचियर, सेतो छडी र वैशाखी प्रदान गरिएको छ ।

वडा नं. १ साईगाउँ र वडा नं. २ बेलभारमा रहेका अपाङ्गहरुलाई मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम अन्तर्गत बिहीवार ८ थान ह्वीलचियर, ५ थान वैशाखी, ८ थान सेतो छडी प्रदान गरिएको हो ।

जानकी गाउँपालिकाका सबै अपाङ्गलाई ह्वीलचियर, सेतो छडी र वैशाखी वितरण गर्ने योजना रहेको मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम बाँकेका सहजकर्ता केशव चालिसेले जनाए ।

जानकी गाउँपालिकाका ६ वटा वडामा २ सय ९६ अपाङ्ग रहेका छन् भने तीमध्ये पूर्णरुपमा अपाङ्ग रातो कार्ड प्राप्त ३८ जनालाई ह्वीचियर वितरण गरिने चालिसेले जानकारी दिए ।

यसैगरी खुल्ला दिसामुक्त अभियानमा सहयोग पुर्याएका अपाङ्ता भएकालाई एक सय थान सरसफाई किट पनि वितरण गरिएको छ ।

सो अवसरमा वडा नंं.१ का अध्यक्ष मोहम्मद रजा राई, वडा नं. २ का अध्यक्ष चन्द्रिका गुप्ता, कार्यपालिका सदस्य टिकाराम सुनार, स्वास्थ्य शाखा सह संयोजक दल बहादुर राना लगायतको सहभागिता रहेको थियो ।

जानकी, डुडुवा र नरैनापुर गाउँपालिकामा मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम लागू भएको छ । कार्यक्रमले गाउँपालिकाका अतिगरीब, विपन्न र आर्थिकरुपले पछाडि परेका परिवारलाई प्रत्यक्ष सहयोग हुने गरी कार्यक्रम सञ्चालन गरिएको सहजकर्ता चालिसेले समाचारदातासंगको कुराकानीको क्रममा बताए ।