विप्लव समूहसँग राजनीतिक ढङ्गबाट समाधान खोज्ने प्रयास भैरहेको छः गृहमन्त्री थापा

नेता पौडेलको हत्याबारे छानबिन गर्न निर्देशन

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा वादलले नेकपा ‘विप्लव’ समूहका गतिविधिलाई गम्भीर समस्याका रूपमा लिई राजनीतिक ढङ्गबाट समाधान खोज्न लामो समयदेखि प्रयत्न भइरहेको बताएका छन ।

प्रतिनिधिसभा राज्यव्यवस्था तथा सुशासन समितिको आज सम्पन्न बैठकमा यही असार ५ गते सर्लाही लखनदेहीमा कुमार पौडेल मारिएको घटनाबारे जानकारी दिँदै उनले विप्लव समूहबाट उठाइएका मुद्दालाई राजनीतिकरूपमै समाधान खोज्न वार्ता र संवादका लागि पहल भइरहेको जानकारी दिएका हुन ।

वार्ता र छलफलका माध्यमबाट राजनीतिकरूपबाटै समस्याको समाधान खेजिनुपर्छ भनेर विगतदेखि नै प्रयत्न भइरहेको बताउँदै गृहमन्त्री थापाले पछिल्लो समय उक्त समूहबाट जुन किसिमको घटनाक्रम विकशित हुँदै गइरहेको छ, सरकारले त्यसलाई कानूनी र व्यावहारिक दृष्टिकोणबाट नियन्त्रण गर्ने नीति लिएको बारेमा पनि प्रष्ट पारे ।

उक्त समूहबाट हुँदै आएको सशस्त्र गतिविधिलाई नियन्त्रण गर्नुपर्छ भन्ने नीतिअनुसार देश व्यापीरूपमा सो समूहका कार्यकर्तालाई नियन्त्रण गर्ने प्रक्रिया अघि बढिरहेको सन्दर्भमा कुमार पौडेलको प्रहरीसँगको भिडन्तमा मृत्यु भएको गृहमन्त्री थापाले जानकारी दिए ।

“विप्लव समूह यो समस्यालाई राजनीतिकरूपमा समाधान गर्ने पक्षमा देखिएको छैन”, उनले भने । देशमा फेरि द्धन्द्ध चर्काएर प्राप्त उपलब्धि उल्टाउने षड्यन्त्र कतै राज्य संयन्त्रबाटै त भइरहेको छैन भन्ने सांसदको जिज्ञासामा गृहमन्त्री थापाले भने, “युद्धको नियमलाई सरकारले मान्छ, मुठभेडको नाममा अपराधी र विरोधीलाई सखाप गर्न हुँदैन भन्नेमा सरकार सचेत र सजग छ । कानूनी कठघरामा ल्याएर समाधान खोजिनुपर्छ भन्नेमा हामी स्पष्ट छौँ ।”

उक्त घटनाबारेमा आवश्यक छानबिन गर्ने वचन दिँदै गृहमन्त्री थापाले सुरक्षाकर्मीबाट आएको स्थलगत जानकारी अनुसार स्थानीय व्यापारी, जनप्रतिनिधि लगायतसँग चन्दा मागेर त्रसित बनाई समुदायमा सन्त्रास फैलाउँदै आएका पौडेलको प्रहरीसँगको दोहोरो भिडन्तमै मृत्यु भएको बताए ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले निज पौडेलेको आपराधिक र ध्वसात्मक गतिविधिमा संलग्न भएका घटनाको फेहरिस्त प्रस्तुत गर्दै उनका विरुद्धमा प्रहरी प्रशासनमा परेका उजुरी र मुद्दासम्बन्धी विवरण सुनाए ।

यसअघि बैठकमा सांसदले मुठभेडका नाममा पहिले नै यातना दिएर राजनीतिक कार्यकर्ता कुमार पौडेलको हत्या गरिएको भनी आक्रोश व्यक्त गर्दै छानबिन समिति गठन गरेर सत्यतथ्य बाहिर ल्याउन सरकारसँग माग गरेका थिए ।

विप्लव समूहको राजनीतिलाई निस्तेज तुल्याउने ढङ्गबाट वार्ता र संवाद छाडेर सरकारले किन मुठभेड रोज्यो भनी प्रश्न गर्दै उनीहरुले नियन्त्रण गर्ने नाममा यातना दिएर गोली हान्ने काम भएको भनी आक्रोश व्यक्त गरेका थिए ।

विप्लव समूहलाई संवादमा ल्याउन सुझाव दिँदै उनीहरूले मृतकको झोलामा भेटिएको बन्दुकले दोहोरो भिडन्तलाई पुष्टि गर्छ कि गर्दैन भनी प्रश्न गरे ।

राज्य असल र खराब दुवै मान्छेको अभिभावक भएकाले अपराधीलाई संविधान र कानूनको दायरामा ल्याएर कारवाही अघि बढाउन सुझाव दिँदै सांसदहरुले प्रहरीको प्रतिवेदनमा मुठभेड भए पनि जनताको प्रतिवेदनले त्यसलाई पुष्टि नगरेकाले सत्यतथ्य जानकारीका लागि छानविन समिति गठनको माग गरे ।

बैठकमा सांसदहरू डिला सङ्ग्रौला, रेखा शर्मा, जनार्दन शर्मा, दीलेन्द्रप्रसाद बडू, महेश्वरराज गहतराज, यशोदाकुमारी सुवेदी, लक्ष्मी चौधरी, झपट रावल, मीना पाण्डे, तीर्था गौतम, रामसहायप्रसाद यादवलगायतले गृहमन्त्रीसमक्ष घटनाबारे सत्यतथ्य जानकारी माग गरेका थिए ।

यसैबीच समितिले नेकपा विप्लव समूहका सर्लाही इञ्चार्ज कुमार पौडेलेको दोहोरो भिडन्तमा प्रहरीको गोली लागी मृत्य भएको घटनाको तत्काल छानबिन गरी सत्यतथ्य पत्ता लगाई समितिसमक्ष सात दिनभित्र प्रतिवेदन पेश गर्न गृहमन्त्रालयलाई निर्देशन दिएको छ । रासस