ओली सरकारको फासीवादी हर्कत विरुद्ध अखिल क्रान्तिकारीद्धारा आन्दोलनको घोषणा

शिक्षामन्त्री पोखरेलको राजीनामा माग

काठमाडौं । त्रिवि सेवा आयोगमा ब्यापक अनियमितता भएको भन्दै लामो समयदेखि अनशनमा उत्रिएको अखिल क्रान्तिकारीले अब नयाँ ढंगले शैक्षिक विकृति, विसंगति विरुद्ध आन्दोलको उठान गर्ने आफ्नो तयारीबारे जनाउ गरेको छ ।

हिजो काठमाडौंको कमलादीस्थित होटल कमलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अखिल क्रान्तिकारीका अध्यक्ष हरीकृष्ण गजुरेलले आन्दोलनको तयारीबारे संकेत गरेका हुन।

अखिल क्रान्तिकारीका महासचिव पेसल दहालले सञ्चालन गरेको उक्त कार्यक्रममा अध्यक्ष गजुरेलले त्रिवि सेवा आयोगको अनियमितताको विरोध गर्दै विद्यार्थीहरुले तीन बुर्दे माग सहित गरेको आन्दोलनमा भएको प्रहरी हस्तक्षेपको कडा शब्दमा विरोध जनाए ।

उनले त्रिवि सेवा आयोगको खारेजी, आयोगका भ्रष्ट पदाधिकारीहरुमाथि कारबाही र अबैधानिक रुपमा प्रकाशित नतिजा खारेजी लगायतका मागहरु राखेको बताए ।

अखिल क्रान्तिकारी रिले अनसनमा बसिरहेको अवस्थामा जायज मागहरुको सम्बोधन गर्नुको सट्टा ओली सरकारले प्रहरी दमनको बाटो अपनाएको भन्दै उनले राज्यको त्यस्तो हर्कतलाई आन्दोलनको माध्यमबाट तह लगाउने चेतावनी समेत दिए ।

शैक्षिक सुधारको मुद्दालाई लिएर शान्तिपूर्ण आन्दोलनमा रहेका आफ्नो संगठनका नेता, कार्यकर्ताहरुमाथि राज्यले बल प्रयोग गरेर आफ्नो भ्रष्ट र फासिवादी शैलिको प्रदर्शन गरेको भन्दै उनले ओली सरकराको मातलाई अबको विद्यार्थी, युवा र आम नागरिकको आन्दोलनले तह लगाउने दावी गरे ।

उनले वर्तमान सरकारको पालमा शिक्षा क्षेत्रमा सबैभन्दा बढि भ्रष्टिकरण, दलालीकरण र व्यापारीकरण भएको भन्दै शिक्षामन्त्री गिरीराजमणि पोखरेलको राजिनामा समेत माग गरे ।

उनले आम नागरिकको जीवन ब्यवहारसँग जोडिने, पहुँचमा हुने खालको शिक्षा नीति बनाउँनुको सट्टा वर्तमान राज्य व्यवस्थाले दलाल, विभेदकारी तथा अब्यवहारीक शिक्षा नीति लागु गरेकाले हरेक स्कुल कलेजदेखि विश्वविद्यालयसम्म समस्याहरु रहेको प्रष्ट पारे ।

उनले शिक्षालाई आम नागरिकको पहुँचमा पुर्याउनको लागि वर्तमान संसदीय व्यवस्थालाई हटाउनु पर्नेमा जोड दिए । उनले आफ्नो संगठन शैक्षिक क्षेत्रका विकृति, विसंगतिहरुको अत्य गर्दै सबैको लागि गुणस्तरिय र एकै प्रकारको शिक्षा दिलाउनका लागि निरन्तर संघर्षमा उत्रिने उद्घोष गरे ।

उनले आफ्नो संगठनले उठाएको जायज मागहरुलाई सत्ताको बलमा दमन गर्न खोजिए अब सडकको बाघ भएर प्रस्तुत हुने र त्यसका विरुद्ध आफूहरु डाइनामाइट बनेर पड्नेकिन तयार बाँध्य हुने बताए ।

त्रिवि सेवा आयोगमा अनसन बसिरहेको स्थानबाट प्रहरीले उनीहरुलाई गिरफ्तार गरेपछि आन्दोलनको नयाँ कार्यक्रमबारे जनाकारी दिने उद्देश्यले आयोजित उक्त कार्यक्रममा संघर्षलाई नयाँ ढंगले ब्यवस्थित अघि बढ्ने बताइयो ।

तर आन्दोलनका ठोस रुपहरु कस्ता हुने भन्नेबारे भने गजुरेलले आवश्यकतामा निर्भर हुने भन्ने जवाफ मात्र दिए ।