खोपको प्रयोगप्रति मानिसहरु किन हिच्किचाउँछन् ! हेर्नुहोस्, विज्ञहरू यस्तो भन्छन्…

यस्ता छन्, वैज्ञानिक आधारमा खोपको महत्त्वहरु

काठमाडौं । आम मानिसमा खोपप्रति अविश्वासले घातक तर रोक्न सकिने सङ्क्रामक रोगहरूविरुद्धको लडाइँमा विश्वले उल्टो कदम चालिरहेको सङ्केत दिने विज्ञहरूले चेतावनी दिएका छन्।

खोपप्रतिको मानिसहरूको धारणाबारे गरिएको हालसम्मको सबभन्दा विस्तृत विश्वव्यापी अध्ययनले केही क्षेत्रमा चिन्ताजनक स्तरमै कम विश्वास रहेको पाइएको छ।

वेलकम ट्रस्टले गरेको विश्लेषणमा १४० भन्दा धेरै देशका १ लाख ४० हजार जनाको प्रतिक्रिया समेटिएको छ।

यो अध्ययनको निचोड त्यतिबेला आएको छ जतिबेला विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले खोपप्रतिको हिच्किचाहटलाई संसारमा सबभन्दा खतरनाक १० समस्यामध्ये एक भनेको छ।

वेलकम ग्लोबल मनिटरले १४२ देशमा राष्ट्रव्यापी प्रतिनिधित्व हुने किसिमका सर्वेक्षण गरेको छ। सर्वेक्षणका विषयहरू विज्ञान, वैज्ञानिक तथा स्वास्थ्य जानकारीमा विश्वास बुझाइएको स्तर तथा विज्ञान एवं स्वास्थ्यमा रुचि र खोपप्रतिको धारणा लगायत रहेका थिए।

विश्वव्यापी सर्वेक्षणले धेरै सङ्ख्यामा मानिसहरूमा खोपप्रति थोरै मात्र भरोसा वा विश्वास भएको देखाएको छ। के खोप सुरक्षित छन् ? भनेर सोधिएको प्रश्नमा यस्तो प्रतिकृया प्राप्त भएको छ ।

  • ७९ प्रतिशतले (१० मा ८ जना) ले थोरै वा एकदम सहमत भएको बताए
  • ७ प्रतिशतले थोरै वा एकदम असहमत भएको बताए
  • १४ प्रतिशतले सहमति वा असहमति केही जनाएनन् र थाहा छैन भने

त्यस्तै खोपले काम गर्छ त भन्ने प्रश्नमा पनि उनीहरुले प्रतिकृया दिएका छन । उनीहरुको प्रतिकृया यस्तो छ ।

  • ८४ प्रतिशतले एकदम वा थोरै सहमत भएको बताए
  • ५ प्रतिशतले एकदम वा थोरै असहमत भएको बताए
  • १२प्रतिशतले सहमति वा असहमति केही जनाएनन् र थाहा छैन भने

खोप यो किन महत्त्वपूर्ण छ !

दादुरा जस्ता घातक एवं हानिकारक रोगहरूका विरुद्ध खोप नै सबभन्दा उत्तम रक्षाकवच भएको बारे अत्यधिक वैज्ञानिक प्रमाण उपलब्ध छन्।

खोपले विश्वभर अर्बौँ मानिसको ज्यान जोगाउँछ। खोपको कारण एउटा रोग त पूर्ण उन्मूलन नै भयो । बिफर र पोलियोजस्ता अन्य रोगपनि निर्मूल हुने क्रममा छन्।

तर विगतमा निकै नियन्त्रणमा ल्याइसकिएको दादुरा जस्ता केही अन्य रोग पुनः उदय हुन खोज्दैछन्। विज्ञहरू भन्छन् डर र गलत जानकारीले गर्दा मानिसहरूले खोपलाई त्याग्नु नै यसको एउटा मुख्य कारण हो।

डब्लुएचओकि खोप विज्ञ डा एन लिन्ड्स्ट्राम भन्छिन् वर्तमान अवस्था निकै गम्भीर छ। खोप प्रयोग प्रतिको हिच्किचाहटले कम्तीमा केही क्षेत्रमा विश्वले खोपबाट जोगाउन सकिने रोगको जोखिम कम गर्ने भएका वास्तविक प्रगतिमा बाधा हुन सक्छ।

कुनै पनि रोग पुनः फर्कँदै छ भने त्यो अस्वीकार्य अवनति हुनेछ। दादुरा उन्मूलन हुनै लागेका देशहरूमा ठूला प्रकोप देखा परेका छन्।

आँकडा भन्छन् विश्वका लगभग सबै क्षेत्रमा दादुराका घटना बढेका छन्। सन् २०१६ को तुलनामा २०१७ मा यो रोगका बिरामी ३० प्रतिशतले बढेका छन्।

जुनसुकै कारणले किन नहोस् खोपको प्रयोग नगर्ने निर्णयले सम्बन्धित व्यक्ति एवं अन्यका निम्ति खतरा उत्पन्न गर्छ।

यदि पर्याप्त मानिसले खोप प्रयोग गरे भने उक्त रोग सो समुदायमा फैलनबाट रोकिन्छ । जसलाई विज्ञहरू समुदायगत प्रतिरोधी क्षमता भन्छन्।

वेलकम ट्रस्टका इमरान खान भन्छन्, हामी यसबखत एकदमै चिन्तित छौँ किनभने दादुराको हकमा ९५ प्रतिशत भन्दा कम जनसङ्ख्यामा खोपको प्रयोग हुने बित्तिकै प्रकोप वा महामारी फैलन सक्छ, र हामी त्यही देखिरहेका छौँ।

कहाँ छ कम अविश्वास ?

कतिपय उच्च आय भएका क्षेत्रमा बस्ने केही मानिसहरूमाझ खोपको सुरक्षालाई लिएर सबभन्दा कम भरोसा भएको पाइयो।

कतिपय युरोपेली देशमध्ये फ्रान्समा दादुराको प्रकोप देखापरेका छन्। यहाँ ३ मध्ये एक मानिसले खोप सुरक्षित भएको मान्दैनन्। विश्वभरमै यो सबभन्दा धेरै प्रतिशत हो।

साथै फ्रान्समा खोप अप्रभावकारी मान्ने जमात पनि धेरै छ। त्यहाँ १९ प्रतिशतले खोप अप्रभावकारी मान्छन् तथा १० प्रतिशतले खोप बालबालिकाका निम्ति महत्त्वपूर्ण रहेको ठान्दैनन्।

फ्रान्सको सरकारले त्यहाँका बालबालिकाका निम्ति पहिले देखि नै अनिवार्य भन्दै आएको ३ को अतिरिक्त अन्य ८ खोप सो सूचीमा थपेको छ।

छिमेकी इटलीमा ७६ प्रतिशतले खोप सुरक्षित मान्छन्। इटलीले हालै एक कानुन पास गरेको छ जस अनुसार स्कूलहरूलाई खोप नलिएका बालबालिकामाथि प्रतिबन्ध लगाउन अनुमति दिन्छ।

खोपको प्रयोग दर खस्किएपछि त्यहाँ अभिभावकमाथि पनि जरिवाना गराउन सकिने नियम ल्याइएको छ। ब्रिटेनमा यति धेरै कडा कानुन ल्याइएको त छैन, तर स्वास्थ्यमन्त्री म्याट ह्यान्ककले भनेका छन् अनिवार्य खोपको नीति ल्याउन सकिन्छ।

अमेरिकाले पनि दादुराको प्रकोप झेलिरहेको छ। सन् २०१९ को हालसम्म त्यहाँ दशकौँ यता सबभन्दा ठूलो दादुरा प्रकोप फैलिएको छ। यो अवधिमा त्यहाँको २६ राज्यमा ९८० दादुराका रोगी फेला परेका छन्।

उत्तर अमेरिका, तथा दक्षिण र उत्तर युरोपमा केवल ७० प्रतिशत मानिसमात्र खोप सुरक्षित भएकोमा सहमत छन्। पश्चिम युरोपमा यो आँकडा ५९ प्रतिशत मात्र छ भने पूर्वी युरोपमा केवल ५० प्रतिशत छ।

गत वर्ष युक्रेनमा युरोपभरमै सबभन्दा धेरै सङ्ख्यामा दादुराका घटना भेटिए (कुल ५३,२१८)। त्यहाँ जम्मा ५० प्रतिशत मानिसमात्र खोपलाई प्रभावकारी ठान्छन्। बेलारुसका निम्ति यो आँकडा ४६ प्रतिशत छ भने मोल्दोभामा यो ४९ प्रतिशत र रुसमा ६२ प्रतिशत छ।

सफलताका कथा

कम आय भएका क्षेत्रका अधिकांश मानिस भने खोपलाई सुरक्षित मान्छन्। यस्तो मान्ने सबभन्दा धेरै सङ्ख्या दक्षिण एसियामा छ जहाँ ९५ प्रतिशत मानिस खोपलाई सुरक्षित मान्छन्। त्यसपछि पूर्वी अफ्रिका रहेको छ जहाँ ९२ प्रतिशत मानिस यस्तो ठान्छन्।

बांग्लादेश र रुवाण्डामा लगभग सबै मानिस खोपको सुरक्षा र प्रभावकारिता बारे सहमत छन्। त्यहाँ खोपका लागि भौतिक पहुँचमा निकै चुनौती छ तर पनि खोपको प्रयोग दर उच्च छ।

सर्भिकल क्यान्सरबाट जोगाउने एचपीभी खोप सबै महिलाका निम्ति उपलब्ध गराउने रुवाण्डा पहिलो थोरै आय भएको देश बनेको छ।

खानले भने, खोप प्रयोग बढाउन डटेर काम गरे कति हासिल गर्न सकिन्छ भन्ने यो एउटा उदाहरण हो।

सर्वेक्षणमा के देखियो भने जो मानिसहरूले वैज्ञानिक, चिकित्सक एवं नर्सहरूप्रति धेरै विश्वास जनाए, उनीहरू खोप प्रति पनि विश्वस्त हुने सम्भावना बढी छ।

त्यस्तै जसले विज्ञान वा औषधि विज्ञान वा स्वास्थ्य प्रति दुविधा देखाए उनीहरू खोपप्रति पनि कम विश्वस्त हुने सम्भावना पाइयो।

वेलकम प्रतिवेदनले खोप प्रतिको कम विश्वसनीयताका पूर्ण कारणको खोज गरेको छैन। तर अनुसन्धानकर्ताहरू भन्छन् यसका पछाडि थुप्रै कारण छन्।

कतिपयको हकमा कम गम्भीरता नै यसको कारण हुन सक्छ। यदि कुनै रोग हराउँदै गएको छ भने खोप प्रयोग गर्ने आवश्यकता कम भएको अनुभव भएको हुन सक्छ।

मानिसहरूले सम्भाव्य जोखिम र फाइदा तुलना गर्दा कम गम्भीरताका साथ लिन पनि सक्छन्। खोप सहित सबै औषधिको विविध असर हुन्छन्।

तर खोप प्रयोगका लागि अनुमति दिनुभन्दा पहिले त्यसको सुरक्षित प्रयोग र प्रभावकारिताबारे थुप्रै परीक्षण गरिएका हुन्छन्।

इन्टरनेट यस्तो चीज हो जहाँ मानिसहरूले आफ्ना विश्वास वा धारणा अरूसँग तत्कालै बाँड्न सक्छन्। त्यहाँ तथ्यमा आधारित नभएका जानकारी वा सूचना पनि फैलन्छन्।

जापानमा एचपीभी खोपले स्नायुप्रणालीमा समस्या उत्पन्न गराउन सक्ने सम्भावना का चिन्ता निकै सार्वजनिक भए। विज्ञहरू ठान्छन् तिनै चिन्ताका कारण खोपप्रति आम धारणा र विश्वास नै खस्कियो।

साथै फ्रान्समा इन्फ्लुएन्जाको एक खोप बारे विवाद फैलियो। सरकारले ठूलो परिमाणमा खोप खरिद गरेको र त्यो निकै छिटो समयमा उत्पादन गरिएकोले सुरक्षित हुन नसक्ने चिन्ता फैलियो। ब्रिटेनमा एमएमआर खोप र अटिजम् बारे गलत सूचना फैलिए।

डा लिन्ड्स्ट्राम भन्छिन्, खोपका विरुद्ध फैलिएका दुविधा तथा चिन्तासँग जुध्न सबभन्दा प्रभावकारी कदम भनेको स्वास्थ्य कार्यकर्ताहरूलाई राम्ररी प्रशिक्षित गर्नु हो।

उनीहरू वैज्ञानिक तथ्यका आधारमा खोपको महत्त्व दर्शाउन र सिफारिस गर्न सक्षम हुनुपर्छ। साथै अभिभावक तथा समुदायमाझ रहेका प्रश्न र चिन्ताको सही सम्बोधन गर्न उनीहरूले सक्नुपर्छ। बीबीसीबाट