भिडियोमा हेर्नुहोस्, अनियमितताको विरोध गर्दा अखिल क्रान्तिकारीका अध्यक्षसहित दर्जनबढी नेताहरु गिरफ्तार

राज्यलाई जिम्मेवार बन्दै नेताहरु रिहा गर्न बैद्यको माग

काठमाडौं । त्रिवि सेवा आयोगमा व्यापक भ्रष्टाचार भएको र उपल्लो स्तरका कर्मचारी र नेताका आफन्तजनहरुको सेवा आयोग भर्ति केन्द्र बन्दै गएको भन्दै सुधारका लागि तीन बुदें मागसहित सेवा आयोगको गेटमा विगत २९ दिनदेखि अनशनरत विद्यार्थी नेताहरुलाई आज प्रहरीले गिरफ्तार गरेको छ ।

अनियमितताको विरोधमा शान्तिपूर्ण आन्दोलनमा रहेका विद्यार्थीहरुमाथि आज एक्कासि प्रहरीले बल प्रयोग गर्दै गिरफ्तार गरेको हो । प्रहरीले गिरफ्तार गर्न खोजेपछि केहीबेर त्यहाँ विद्यार्थी र प्रहरीबीच तनावको स्थिति समेत उत्पन्न भएको थियो ।

प्रहरीले अनशन स्थलबाट अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष हरीकृष्ण गजुरेलसहितच १६ जना नेता, कार्यकर्ताहरुलाई गिरफ्तार गरेको खुल्न आएको छ ।

शैक्षिक क्षेत्रको सुधारको माग राख्दै अनशन बसेका विद्यार्थीहरुमाथी कालीमाटी प्रहरी वृत्तको प्रहरी टोलीले अमानवीय ढंगले हस्क्षेप गरी कुटपिट, लछारपछार गरेको भन्दै विभिन्न विद्यार्थी संगठनका नेताहरु सामाजिक सञ्जाल मार्फत विरोध जनाएका छन ।

घटना लगत्तै आफ्नो पाटी निकटको विद्यार्थी संगठनका नेता, कार्यकर्ताहरुको गिरफ्तार गरिएको प्रति कडा शब्दमा विरोध जनाउँदै नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहनबैद्य किरणले विज्ञप्ति जारी गरेका छन ।

बैद्यको विज्ञप्तिमा भनिएको छ– ‘२०७६ जेठ ६ गतेदेखि त्रिवि सेवा आयोगको गेटमा त्रिवि सेवा आयोगको खारेजी, आयोगका भ्रष्ट पदाधिकारीहरुमाथि कार्वाही र अवैधानिक रुपमा प्रकाशित नतिजाको खारेजी जस्ता तीन सूत्रीय माग राखी रिले अनसनमा बस्दै आएका अनेरा स्ववियु क्रान्तिकारीका नेताहरु र अनसनप्रति ऐक्यवद्धता जाहेर गर्न गएका हाम्रो पार्टीका केन्द्रीय समितिका सदस्य क सुरेश श्रेष्ठ, क. शारदा महतसहितका कमरेडहरुलाई प्रहरीद्वारा गिरफ्तार गरिएको छ ।’

विज्ञप्तिमा थप भनिएको छ– ‘विषयको गम्भीरतामाथि ध्यान दिई विद्यार्थीहरुद्वारा प्रस्तुत माग सम्बोधन गर्नुको सट्टा उल्टै यसरी गिरफ्तार गरेकोमा हाम्रो पार्टी यस प्रकारको जनविरोधी तानाशाही गतिविधिको तीब्र विरोध तथा भर्त्सना गर्दछ । साथै, हाम्रो पार्टी विद्यार्थीहरुद्वारा राखिएका मागहरुलाई सम्बोधन गर्न र गिरफ्तार गरिएका पार्टी तथा विद्यार्थी नेताहरुको अबिलम्ब रिहाईका लागि जोडदार माग गर्दछ ।’

त्यसैगरी संगठनका नेताहरुको गिरफ्तारीको विरोध गर्दै अखिल क्रान्तिकारीका उपाध्यक्ष शिलु न्यौपानेले बिनासर्त रिहाईको माग गर्दै विज्ञप्ति जारी गरेकी छन ।

हरपललाई प्राप्त जानकारी अनुसार अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेल, महासचिव पेशल दाहाल, सचिव सूर्य कार्की, महेश श्रेष्ठ र नेताहरु शोभा सेन्चुरी, कुमार गडतौला, जितेन्द्र लम्साल, हेमराज शर्मा, देवी धामी, नरबहादुर कुमाल, सन्देश लिम्बु, दीपेन क्षेत्री, सागरकुमार शाही, मदन साउद, राम नेपाली लगायत गिरफ्तार परेका छन ।

त्यसैगरी प्रहरीसँगको झडपमा परी विद्यार्थी नेताहरु राम नेपाली र कुमार गडतौला घाइते भएका छन् । राम नेपालीको छात्तीमा र कुमार गड्तौलाको पिठ्युँमा निकै चोट लागेको बताइएको छ ।

उनीहरुलाई प्रहरीले कालिमाटी वृतमा राखेको बुझिएको छ । गिरफ्तार परेका विद्यार्थी नेताहरुले प्रहरी कार्यालय भित्रै अनसन शुरु गरेको हरपललाई खबर प्राप्त भएको छ ।

उनीहरुले अनियमितता गर्नेहरुलाई कारबाही नभएसम्म निरन्तर संघर्ष चलाउने बताउँदै आएका छन । बाँकी भिडियोमा हेर्नुहोस्