सगरमाथामा वैज्ञानिक अनुसन्धानः पाँच ठाउँमा रियल टाइम उपकरण जडान, यस्ता छन कामहरु….

कसरी काम गर्छन् उपकरणले, विस्तृतमा हेर्नुहोस्

सोलुखुम्बु । हिजो बिहान ७ बजे सगरमाथाको चुचुरो भन्दा ठ्याक्कै ४ सय १८ मिटर तलको भाग अर्थात् सगरमाथाको ८ हजार ४ सय ३० मिटर उचाइ क्षेत्रको मौसम अत्यन्त चिसो थियो ।

त्यो बिचको स्थान, जसलाई बाल्कोनी पनि भनिन्छ। त्यहाँको मौसम सम्बन्धी विवरणको अनुमान गर्न सकिन्न । किनकि त्यहाँको मौषम बदलिरहन्छ ।

सगरमाथा चढिसकेका कर्मचारीको नेतृत्वमा सर्वोच्च शिखर नाप्ने टोली त्यहाँ पुगेको छ । तर यो मौषमी विवरण सगरमाथा क्षेत्रमा बसेर हेरिएको भने होइन। न त नजिकैको स्थानमा बसेर कुनै व्यक्तिले पठाएको नै।

यस्तो विवरण आएको हो, हालै मात्र खुम्बु क्षेत्र, सगरमाथा आधार शिविरदेखि ८ हजार ४ सय ३० मिटर क्षेत्रमा राखिएका मौसमको जानकारी दिने उपकरणहरूबाट।

उपकरणका अनुसार हिजो बिहानको त्यहाँ तापक्रम १५.४६ डिग्री सेल्सियस, हावाको गति २.५३४ मिटर प्रति सेकेन्ड र सापेक्षित आर्द्रता ८४ प्रतिशत रहेको थियो ।

सगरमाथा क्षेत्रका पाँच स्थानमा राखिएका ती उपकरणहरूले हाल दैनिक रूपमा जल तथा मौसम विज्ञान विभाग र त्रिभुवन विश्व विद्यालय जल तथा मौसम विभागमा पठाइरहेका छन्।

अनि कम्प्युटरमा ती विवरणहरू हेरेर अध्ययन गर्न चाहनेहरूले सगरमाथा क्षेत्रको मौसम परिवर्तन सम्बन्धी नयाँ जानकारीहरू बटुलिरहेका छन्।

न्याशनल जियोग्राफिक सोसाइटी र त्रिभुवन विश्वविद्यालयका अनुसन्धानकर्ताहरूको टोलीले गत एप्रिलदेखि यही जुन महिनासम्म राखेका ती उपकरणहरूलाई न्याशनल जियोग्राफीले विश्वैकै सबैभन्दा उच्च स्थानमा राखिएका मौसम सम्बन्धी जानकारी दिने उपकरण भनेर दाबी गरेको छ।

उक्त टोली र परियोजनामा सामेल नेपाली वैज्ञानिकहरूका अनुसार सगरमाथा क्षेत्रको उच्च भागमा रियल टाइम अर्थात् तत्कालको तत्कालै सूचना दिने यस्ता खाले उपकरणहरू राखिएको पहिलो पटक हो।

ती उपकरणहरू राखिनुको उद्देश्य वैज्ञानिक अनुसन्धान रहेको न्याशनल जियोग्राफीले जनाएको छ। उसले बिहीवार जारी गरेको विज्ञप्तीमा जलवायु परिवर्तनबाट सगरमाथा क्षेत्रबाट हुनसक्ने खतराबाट बच्न यस क्षेत्रका १ अर्ब भन्दा बढी मानिसहरूलाई सहायता गर्न ती उपकरणहरू राखिएको दाबी गरेको छ।

नेपाल सरकारले चाहिँ सगरमाथाको उचाइ मापन गर्न विभिन्न स्थानमा उपकरणहरू राखेर उचाइ मापन गरेको थियो।

यसले हिमालय क्षेत्रमा हिमनदीहरूको अवस्थाबारे अध्ययन गर्न र थप नयाँ ज्ञान आर्जन गर्न सहयोग पुग्ने विज्ञप्तिमा उल्लेख छ।

सगरमाथा क्षेत्रमा यस्ता उपकरण राख्ने परियोजनाको एउटा साझेदार त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागका प्रमुख दीपक अर्यालले पनि उपकरणहरू राख्नुको मुख्य उद्देश्य अनुसन्धान नै भएको बताए।

उनले भने, यी उपकरण राख्नुको उद्देश्य भनेकै सगरमाथा क्षेत्रको मौसम सम्बन्धी विवरण रियल टाइममा निः शुल्क रूपमा सबैलाई उपलब्ध गराउनु हो। हाम्रो विभाग, जल तथा मौसम विज्ञान विभाग र न्याशनल जियोग्राफीको सिस्टममा (तथ्याङ्क) डेटा स्टोर हुन्छ र त्यो सबैलाई उपलब्ध गराउने सम्झौता छ।

मौसम विवरण दिने उपकरणहरू जडान गर्ने काममा सगरमाथा क्षेत्रमा उक्त टोलीमा सहभागी भएका त्रिभुवन विश्वविद्यालयका एकजना जल तथा मौसम विज्ञानका विद्यार्थी अरविन्द्र खड्काका अनुसार नियमित रूपमा मौसम अनुगमन गर्ने काम ती उपकरणहरूले गर्नेछन्।

उनले भने, ती उपकरणले नियमित मौसमको अनुगमन गर्छन्। ती सूचना हेरेर भविष्यमा पनि मौसम के हुन्छ हेर्न सकिन्छ।

सगरमाथा क्षेत्रका पाँच स्थानमा राखिएका उपकरणहरूले हरेक दिन डेटा पठाउने खड्काले जानकारी दिए। उनले भने, ती उपकरणहरूले स्याटलाइट र मोबाइल नेटवर्कबाट पनि डेटा पठाउँछन्। त्यसलाई हाम्रो विभाग, जल तथा मौसम विज्ञान विभाग र न्याशनल जियोग्राफीका सेन्टरमा पनि हेर्न सकिन्छ।

सगरमाथा क्षेत्रमा राखिएका ती उपकरणहरू हिउँ र चिसोले असर कम गर्ने खालका रहेको अर्यालले बताए।

उनका अनुसार क्याम्पबेल नामक कम्पनीका उपकरण प्रयोग गरिएको र उक्त कम्पनीले धेरै अत्यन्त हिउँ पर्ने स्थानमा पनि यी उपकरण जडान गरेको पाइएपछि सगरमाथा क्षेत्रमा राखिएको दाबी गरे।

उनीहरूका अनुसार पहिले स्याटलाइटबाट मात्र प्राप्त हुने सूचनाहरूले ुरियल टाइमुमा जमिनस्तरको मौसमबारे यकिन जानकारी नपठाउँदा कतिपय दुर्घटना भएकामा अब त्यसमा कमी ल्याउन सकिनेछ।

हरेक वर्ष धेरै आरोहीको मृत्यु हुने गर्छ। अहिलेसम्म सगरमाथाको मौसमबारे हामी स्याटलाइटमा भर परिरहेका छौँ। रियल टाइममा यी उपकरणले जानकारी दिन्छन्। त्यसले यस्ता दुर्घटना कम गर्न सक्छन्, अर्यालले भने।

वैज्ञानिक खोज र अनुसन्धानका नाममा सगरमाथा क्षेत्रमा विन अनुमति पनि यस्ता उपकरण राखिएको विवरणहरू सार्वजनिक हुने जानकारहरू बताउँछन्।

तर न्याशनल जियोग्रफीको र त्रिभुवन विश्वविद्यालयको उक्त टोलीले भने अनुमति लिएर नै यस्ता उपकरणहरू राखेको अर्यालले बताए।

यसमा त हामी सरकारी निकायकै मानिसहरू संलग्न छौँ। सम्झौताहरू भएका छन् त्यसका आधारमा अनुमति र सरकारी सहमतिमा नै उपकरणहरू राखिएको हो, उनले भने।

सगरमाथा क्षेत्रमा राखिएका उपकरणहरू बिग्रिएमा तत्कालै निकालेर ल्याउने र मर्मत हुने भए गरेर फेरि जडान गरेर पठाउने व्यवस्था मिलाइएको उनले बताए।

पर्यटन विभागकी निर्देशक मीरा आचार्यले पनि उक्त टोलीले विभिन्न निकायबाट सगरमाथा क्षेत्रमा यस्ता उपकरण राख्ने सम्झौता गरेका पत्रहरू पेश गरेको जानकारी दिइन्।

उहाँहरूले पेश गरेका कागजातमा विभिन्न निकायबाट लिनुपर्ने अनुमति अनुसारकै कागजपत्र देखिएको छ, उनले भनिन्, हामीले यहाँबाट आरोहण अनुमति मात्र दिने हो। अन्य कामका लागि सम्बन्धित निकायहरूबाटै अनुमति लिनुपर्छ।

तर कानुन अनुसार सगरमाथा क्षेत्रमा गर्न नपाइने भनेर तोकिएका गतिविधि गरेको पाइएमा त्यस्ता आरोहीलाई भविष्यमा आरोहण गर्न नपाउने गरेर रोक लगाउने र अन्य कारबाही समेत हुनसक्ने उनले बताइन्। बीबीसीबाट