औषधी पसल र एग्रोभेटमा औषधी व्यवस्था बिभागद्वारा अनुगमन

निलम्बनसम्मको कार्यवाही गरिने ः अधिकृत शाह

बाँके ।  नेपालगञ्जमा स्थित रहेको औषधि पसल र एग्रोभेटहरुमा औषधि व्यवस्था विभागले शुक्रवार अनुगमन गरेको छ ।

औषधी व्यवस्था बिभागद्वारा गरिएको अनुगमनको क्रममा अधिकाँश पसलमा म्याद नाघेको र नियम विपरीत सञ्चालन रहेको पाइएको हो ।

अनुगमनका क्रममा अष्टाङ आयुर्वेद प्रालिमा शिलबन्दी गरी ३० दिनकालागि निलम्बन गरिएको औषधि व्यवस्था विभाग नेपालगञ्जले जनाए ।

आयुर्वेदमा दर्ता भएको उक्त पसलले एलोप्याथिक औषधिहरु विक्री वितरणकालागि राखेको र नेपालमा दर्ता नभएका औषधिहरुसमेत सञ्चय गरेकोले उक्त पसलमा शिलबन्दी गरी ३० दिनका लागि निलम्बन गरिएको विभागका फार्मेसी अधिकृत दिपेन्द्र कुमार साहले बताए ।

निरीक्षणका क्रममा चितवन एग्रोभेटले नेपालमा दर्ता नभएका औषधि बिक्री वितरण गर्नुका साथै म्याद नाघेका औषधी राखेको पाइएको अधिकृत शाहले जनाए ।

भेटेनेरी औषधि कारोबारमा दर्ता रहेको उक्त पसलमा कृषिको विउविजनका साथै कीटनाशक विषादी समेत विक्रीवितरण गरेको पाइएकोले आवश्यक कारबाहीकालागि कार्यालयमा बोलाइएको फार्मेसी अधिकृत साहले जानकारी दिए ।

साहको नेतृत्वमा फार्मेसी सुपरभाइजर यादव प्रसाद ढकाल र अनिश ढोडरीको टोलीले गरेको अनुगमनमा हरि ओम मेडिकलमा म्याद नाघेको औषधि राखेको पाउनुका साथै उचित तापक्रममा राख्नु पर्ने औषधि फ्रिजमा नराखेकाले औषधिको गुणस्तरमा प्रतिकूल प्रभाव पार्ने भएको हुँदा उक्त मेडिकलका सञ्चालकलाई कारबाहीकालागि कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको फार्मेसी अधिकृत साहले बताए ।

यस्तै उपकार मेडिकल हल र कुलाशिस मेडिकल हलमासमेत अनुगमन गरिएको थियो । दुबै मेडिकल नियमानुसार सञ्चान भएको पाइएको औषधि व्यवस्था विभाग नेपालगञ्जले जनाएको छ । नियम विपरीत सञ्चालन र म्याद नाघेको औषधि विक्री वितरण गर्ने पसलमाथि विभागीय निर्णयानुसार निलम्बनसम्मको कारबाही गरिने फार्मेसी अधिकृत साहले बताए ।