युवक अपहरण गरी हत्या गरेको अभियोगमा एक पक्राउ

थप अनुसन्धान जारी

सिरहा । सिरहाको धनगढीमाई नगरपालिका–६ का एक युवकको अपहरण गरी हत्या गरेको आरोपमा सिरहा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

धनगढीमाई नगरपालिका–६ स्थित कसहा र वसन्तपुरचोकबाट स्थानीय १७ वर्षीय सुभाषकुमार यादवको अपहरण गरी हत्या गरेको आरोपमा प्रहरीले सिरहाको औरही गाउँपालिका–२ का २१ वर्षीय गङ्गाराम मण्डल खत्बेलाई पक्राउ गरेको हो ।

अपहरणमा परेका यादवको गत फागुन ९ गते भारतको मधुवनी भुतही बलान तटबन्ध नजिक लगेर गोली हानी घाइते बनाइएको थियो । उनको पछि उपचारको क्रममा भारतको बिहार पटानस्थित मेडिकल कलेजमा मृत्यु भएको थियो ।

उक्त अपहरण र हत्याको घटनामा संलग्न रहेको आरोपमा खत्बेलाई सिरहा नगरपालिका–७ बाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले बताएका छ्न ।

पक्राउ परेका खत्बेमाथि थप अनुसन्धान भैरहेको बुझिएको छ । उनलाई कानुन अनुसारको सजाय दिलाउन अदालतमा लिने प्रहरीको तयारी रहेको छ ।