मानिसको रूपरङ भनेको के हो ? हेर्नुहोस्, वास्तविकता यस्तो छ…

लघुकथाः ‘जब सुन्दरता कुरूपतामा बदलिन्छ’

फाइल तस्बिर

साँझ ७ः०० बजेदेखि अहिलेसम्म लगातार पखाला लागिरहेको छ । वर्षमा एकदुई पटक पखाला लाग्नु राम्रो हो भन्ने सुनेको हुँदा जीवनजल बाहेक अरू औषधी सेवन गरेको छैन । धेरै पटक शौचालय जाँदा शरीर शिथिल भएको छ र ऐनामा हेर्दा अनुहारको रूपरङ उडेको छ । मेरो रूपरङ २४ घण्टा नबित्दै किन उड्यो ? उडेर कहाँ गयो ? वास्तवमा मानिसको रूपरङ के हो भन्ने विषयमा एउटा लघुकथा प्रस्तुत गरेको छु ।

कुनै एक राजकुमारीकी निजी सेविका सिकिस्त बिरामी परेकी हुँदा उनले आफ्नो सट्टामा दरबारमा आफ्नो छोरालाई पठाइन् । छोरो जब राजकुमारीको कक्षमा पुग्यो, उनलाई देख्नेबित्तिकै मोहित भयो । जब ऊ घर फर्कियो, आमाले उसलाई एकोहोरो प्रेममा विह्वल भएको देखिन् । जब आमाले छोरालाई कारण सोधिन्, छोराले मलाई तिनै राजकुमारी चाहिन्छ भन्ने अड्डी लियो ।

भोलिपल्ट ती आमा राजकुमारीको कक्षमा पस्दा तिनको अनुहार मलिन थियो । राजकुमारीले के भयो भनेर सोद्धा छोरो राजकुमारीको एकतर्फी प्रेममा परेर जिद्दी भएको बताइन् । अनि राजकुमारीले हाँस्दै ती आमालाई भनिन्, पर्सि छोरालाई मलाई भेट्न पठाइदिनू ।

राजकुमारीले दरबारको बैद्यलाई बोलाएर जुलाफ मागिन् र अरू सेविकालाई भनेर माटाका कताराहरू मगाइन् । जुलाफ खाएपछि राजकुमारीलाई पखाला चल्न थाल्यो । जतिपल्ट पखाला लाग्थ्यो, उनले कहतारोमा नै दिसा गर्थिन् । पखाला रोकिँदा सबै कताराहरू पखालाको पानीले भरिएका थिए ।

निश्चित समयमा ती सेविकाको छोरो राजकुमारीको नजिक पुग्यो । राजकुमारी पलङमा कोल्टे परेर सुतिरहेकी थिइन् । युवकलाई देखेपछि रावकुमारी सिरानीमा अडेस लगाएर बसिन् । राजकुमारीका ओठमा कलेँटी परेको थियो , आँखा भित्रतिर धसिएका थिए, कपाल जिङ्ग्रिङ्ग परेको थियो भने अनुहारको रूपरङ सबै उडेको थियोे । यो देखेर युवक आहत भयो र भन्यो, राजकुमारी ! तपाईं कसरी यति बिरूप हुनुभयो ?

राजकुमारीले युवकलाई लक्ष्यित गर्दै पखालाको पानीले भरिएका कतारा देखाइन् । युवक अक्कनबक्क भयो । राजकुमारीले पटकथा सुनाउँदै युवकलाई भनिन्, ‘मेरो रूपरङ सबै त्यहाँ छ । हेर, रूप भनेको हाड, छाला र मासु हो । यी कुरामा तलमाथि हुनेबित्तिकै सुन्दरता कुरूपतामा बदलिन्छ । त्यसैले तिमी बाहिरी रूपको पछि नलाग । फेरि अर्को कुरा, यदि तिमी रूपको पछि लाग्यौ भने अर्को झन् सुन्दर रूप फेला पर्छ । अनि के गर्छौ ? एउटा भन्दा अर्को झन् राम्रो देख्नेबित्तिकै पछिल्लोलाई छोड्दै जान्छौ ? युवकले कुरा बुझ्यो र घर फर्कियो……।

(यो लघुकथा फणिन्द्र नेपालले संकलन गरेका हुन । उनी विशाल नेपाल निर्माणको अभियानमा सक्रिय रहँदै आएका छन । बेला बखत विविभ विषयमा कलम समेत चलाउँछन ।)