अरु ऋणीहरुको ऋण पनि म माथि थुपारिएको ः अरुण कुमार पाठक

आफुलाई फसाईएको प्रवन्धक पाठकको दावी

बाँके । सहकारी वित्तिय विकास संस्था लिमिटेड नेपालगञ्जमा २६ करोड बढी अपचलनको आरोप लागेका मध्ये संस्थाका प्रबन्धक अरुण कुमार पाठकले आफुलाई फसाइएको दावी गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय बाँके परिसरमा मंगलवार पत्रकारहरुसँग कुरा गर्दै उनले आफुले सहकारीको रकम हिनामिना नगरेको दावी गरेका छन ।

सहकारीको हरहिसाब गर्न सञ्चालकहरुलाई पटक पटक जानकारी गराई रहँदा पनि वेवास्ता गरेको भन्दै पाठकले सहकारी डुब्ने भएपछि आफुलाई कोठामा थुनेर सहकारीको रकम अपचलन गरेको भनेर जवरजस्ती कागजातमा हस्ताक्षर गराएको आरोप लगाए ।

पाठकले आफुले लिएको ऋण बिभिन्न समयमा तिरेको र अरुले दिने ऋणको रकमसमेत आफुमाथि थुपारिएको दावी बताए ।

छानबिन समितिले दोषी ठहर्याए आफुले रकम तिर्ने पाठकले जानकारी दिए । सहकारीले नियम बिपरित सन्ध्याकालिन काउण्टर समेत चलाएको पाठकको भनाई छ ।

त्यस्तै संस्थाका अध्यक्ष संधै बेलुका आएर नियम बिपरित खर्च लिएर जाने गरेको र मासिक रुपमा एक लाख समेत लिने गरेको प्रबन्धक पाठकले बताए ।

सहकारीका प्रमुखहरु बिरुद्ध मुद्दा परेपछि फरार रहेका पाठक मंगलवार नेपालगञ्ज आएर पत्रकार सम्मेलन पश्चात प्रहरी सामु पुगेका छन् ।

सहकारीको रकम हिनामिना भएपछि गठन गरिएको छानविन समितिको प्रतिवेदन अनुसार प्रबन्धक पाठकले २२ करोड, नायब महाप्रबन्धक गंगाधर सुवेदीले ३ करोड, बैजापुर शाखा प्रमुख लिलाधर वलीले ४४ लाख र खजुरा शाखा प्रमुख सुर्यकुमार विकले ६४ लाख रुपैयाँ हिनामिना गरेको उल्लेख छ ।

प्रतिवेदनमा उल्लेख भएको रकम बुझाउन कागज गरेका उनीहरु मध्ये जेठ ५ गतेदेखि प्रबन्धक पाठक र बैजापुर शाखा प्रमुख लीलाधर र नायब प्रबन्धक सुवेदी पनि विरामी भएको भन्दै जेठ ११ गतेदेखि सम्पर्कविहीन भएका थिए ।

उनीहरुले नक्कली कर्जा वितरण गरेको कागजात बनाएर रकम ठगी गरेको श्रोतको भनाई छ । २६ करोड रुपैयाँ अपचलन भएको सहकारीले सार्वजनिक गरेपनि संस्थामा करीब ५२ करोड रुपैयाँ मौज्दात रहेको देखिन्छ ।

सहकारीमा एउटै व्यक्तिको ३० लाख रुपैयाँसम्म बचत रहेको छ । उता कर्मचारीहरुबाट अपचलन भएको संस्थाको रकम र सो सम्बन्धी पूर्ण अध्ययन गर्न कम्तिमा १५ दिन लाग्ने भन्दै सञ्चालक समितिको बैठकले २६ गतेसम्म बैंैंकिङ कारोबार स्थगन गर्ने निर्णय गरेको छ ।

संस्थाले ग्राहकहरुको रकम सुनिश्चित रहेको र आन्तरिक हिसाब छिट्टै मिलान गरी संस्था नियमित सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ ।

सञ्चालक समितिका अध्यक्ष हरदेवबक्स चौधरीलाई बचतकर्ताहरुको उजुरीपछि प्रहरीले नियन्त्रणमा लिएको थियो । २०५१ सालमा स्थापना भएको उक्त सहकारी वित्तीय विकास संस्था लिमिटेडमा ३ हजार भन्दा बढी सदस्य छन् ।