करोडैंको लागतका योजनामा पप्पु कन्स्ट्रक्सनको चरम लापरबाहीः नागरिकहरु सास्तीमा

ठूला पुल तथा सडक निर्माणको काम अलपत्र

सिरहा । प्रदेश नम्बर २ अन्तर्गत सिरहा, सप्तरी, धनुषा र महोत्तरीका ठूला पुल तथा सडक निर्माणको ठेक्का पाएको पप्पु कन्स्ट्रक्सनले तोकिएको समयमा काम सम्पन्न नगर्दा नागरिकले सास्ती खेप्नुपरेको छ ।

सिरहा र धनुषा जोड्ने हुलाकी राजमार्गअन्तर्गत कमला नदीका साथै महोत्तरीको रातो नदी पुल र दुई वटा सडकको ठेक्का लिएको पप्पुले समयमा काम नसक्दा वर्षायाममा हिलो र सुख्खायाममा धुलोले जनजीवन प्रभावित रहेको छ ।

सिरहा र धनुषाको सीमा भएर बग्ने कमलानदी र सिरहा सप्तरीको सीमामा बग्ने बलान नदीको पुल ठेक्का लागेको वर्षौ भए पनि अवस्था जस्ताको त्यस्तै छ ।

५५ करोड रुपैयाँभन्दा बढीको लागतमा ४ वर्षभित्र निर्माण पुरा गर्ने सर्तमा ठेक्का लिएको पप्पु कन्स्ट्रक्सन ले ९ वर्ष बित्दा पनि काम सकेको छैन ।

पप्पुको उक्त ठिलाईको मारमा आम नागरिक परेका छन । समयमै भौतिक संरचनाको निर्माण सम्पन्न नहुँदा स्थानीयवासीहरुले सास्ती भोग्नु परेको देखिन्छ ।