सैनिक जवानको कुटपिट गरी हत्या गरेको आरोपमा एक पक्राउ

अन्यको खोजि कार्य जारी

सिरहा । बिजुलीको खम्बामा बाँधेर कुटपिट गरी सैनिक जवानको हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सिरहाले एक जनालाई पक्राउ गरेको छ ।

कुटपिटको उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तेनुवापट्टिका ३८ वर्षीय मङ्गल साहलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

सिरहाको बरियारपट्टि गाउँपालिकाको तेनुवापट्टिमा गत वैशाख २८ गते राति सैनिक जवान बरियारपट्टि–४ सोहपुरका २२ वर्षीय अनिसकुमार सिंहको स्थानीयवासीको कुटपिटबाट उपचारको क्रममा मृत्यु भएको थियो ।

भारतीय सीमाक्षेत्रमा लुकीछिपी बसेको अवस्थामा साहलाई गएराति पक्राउ गरिएको प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए ।

पक्राउ परेका साहमाथि ‘अपरहण तथा कर्तव्य ज्यान’ मुद्दामा सिरहा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको उनले बताए ।

सङ्खुवासभाको खाँदबारीस्थित बराह दल गुल्ममा कार्यरत सैनिक जवान सिंह बिदामा घर आएका बेला तेनुवापट्टिका स्थानीयवासीले चोरी गरेको आरोपमा बिजुली पोलमा बाँधेर कुटपिट गरेका थिए ।

घटनापछि गाउँका अधिकांश पुरुषले गाउँ छाडेका छन् । घटनामा संलग्न अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ । घाइतेको मृत्यु भएपछि संलग्नहरु फरार रहेको बुझिएको छ ।