बाँके सेवा समाजद्वारा ठकुरी परिवारलाई आर्थिक सहयोग

प्राप्त सहयोग रकम छोरीको अध्ययनमा खर्चिने

बाँके । बाँके सेवा समाज कतार दोहाले वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका एक ब्यक्तिको छोरीको शिक्षाकालागि सहयोग रकम पठाएको छ ।

दोश्रो पटक घरबाट वैदेशिक रोजगारीकालागि माघ १६ गते खाडी मुलुक कतार पुगेका बर्दियाको बढैयाताल गाउँपालिका १ शान्तिपुरका २७ बर्षीय नविन्द्रसिंह ठकुरीको तीन दिनमै निधन भएको थियो ।

समाजले ठकुरीकी छोरीको शिक्षाकालागि ८३ हजार रुपैयाँ सहयोग गरेको छ ।

समाजका अध्यक्ष राजकुमार क्षेत्री, सचिव रोशन विक, सुरेन्द्र सिंह ठकुरी लगायतको पहलमा संकलन गरि पठाइएको सहयोग रकम परिवारका सदस्यलाई सोमवार बुझाइएको हो ।

नेकपा बाँकेका नेता रत्न खत्रीले ठकुरीको निवास मै पुगेर रकम हस्तान्तरण गरेका छन् ।

सो क्रममा नेपालगञ्ज उपमहानगरपालिकाका प्रबक्ता प्रमोद रिजाल, धम्बोझी क्लबका अध्यक्ष देबेन्द्र खड्का, युवा संघ बर्दियाका सचिव भिम सिंह लगायतको उपस्थिती रहेको थियो ।

कतारको प्रहरी र अस्पतालको प्रतिवेदनमा आत्महत्या गरेको भनिएपनि स्थानीय बासिन्दाहरु मृत्यु रहस्यमय नै भएको बताउँछन् ।

नेपालबाट स्वास्थ्य जाँच गरि विदेशिएका ठकुरी कतारमा अनफिट भएको जानकारी आएको आफन्तले बताए ।

पीडा भुलाउन हाल माईतीमा बस्दै आएकी नविन्द्रकी पत्निलाई चिकित्सकले असारको पहिलो साता सुत्केरी हुने समय दिएको छ ।

मृत्यु भएका नविन्द्रकी चार बर्षिया छोरी निहारिका समेत छन् ।