नेपालगन्जको तापक्रम ४३ डिग्रिसेल्सियस ः बिद्यालयहरुमा पठनपाठनसमेत प्रभावित

अस्पतालहरुमा सरुवा रोगका बिरामीहरुको चाप बढदै

बाँके । बिगत केही दिन देखी तापक्रममा बृद्धि भई तातो हावा अर्थात् ‘लु’ चल्न थालेपछि बाँकेको जनजीवन प्रभावित भएको छ । 
४३ डिग्री सेल्सियससम्म पुगेको तापक्रमका कारण बाँकेको जनजीवन प्रभावित भएको हो । 
अत्याधिक तापक्रमका कारण दिउँसो घरबाट बाहिर निस्कने अवस्था नरहेको नेपालगञ्जवासीको भनाई छ । असाह्य गर्मी तथा तातो हावाले गर्दा विशेष गरी ग्रामीण क्षेत्रका विद्यालयको पठनपाठनसमेत प्रभावित भएको छ । 
विद्युत आपूर्तिसमेत अनियमित हुँदा नेपालगञ्ज लगायत आसपास क्षेत्रका नागरिकको जनजीवन थप कष्टकर बनेको छ । विद्युत प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रले सकेसम्म विद्युत आपूर्ति नियमित गर्ने प्रयास गरेपनि गर्मीको प्रभावले विद्युतीय उपकरण बिग्रि रहने कारणले थप समस्या निम्तिएको प्राधिकरणका एक कर्मचारीले बताए । 
गर्मी बढ्दै गएपछि सरकारी तथा गैरसरकारी कार्यालयमा सेवाग्राहीको उपस्थिति समेत पातलिएको छ । बजारमा चिसो पेय पदार्थको बिक्री एक्कासी बढेको छ ।
यसैगरी प्रचण्ड गर्मी र ‘लु’ले सरुवा रोगका बिरामीको चाप पनि बढ्दै गएको अस्पतालका चिकित्सक बताउँछन् । 
भेरी अस्पताल, नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्ज र कोहलपुरमा बिरामीको चाप बढ्दै गएको छ । 
‘लु’बाट बच्न खानपानमा ध्यान दिनुका साथै पानीलाई उमालेर वा फिल्टर गरेर मात्र खान चिकित्सकहरुले सुझाव दिएका छन् । 
दैनिक प्रयोग गर्ने भाँडाकुँडाहरु सफा राख्ने, खाना खानुभन्दा अघि र पछि हात राम्रोसँग साबुन पानीले माडेर धुनुका साथै अत्यावश्यकीय काम बाहेक दिउँसोको समयमा बाहिर ननिस्कन चिकित्सकहरुले सुझाए ।