मस्तिष्कघात हुनुको कारण र उपचार विधिबारेः न्युरो सर्जन डा. शर्माको सुझाव यस्तो छ….

यस्ता लक्षणहरु देखिएमा तुरुन्त उपचारमा लाग्नुस्…

काठमाडौं । मस्तिष्कघात अर्थात् ब्रेनस्ट्रोकको समस्याले धेरैलाई सताएको देखिन्छ । उपचारका लागि अस्पताल र डाक्टको क्लिनिकहरुमा बिरामीहरु तारेख लगाउन बाध्य छन ।

वास्तवमा आफ्नो स्वास्थ्य र खानपानमा ध्यान दिन सकेमा यस्ता स्वासथ्य समस्याबाट जोगिन सकिन्छ । यो विषयमा चिकित्सकहरुले समतेत समय समयमा सल्लाह दिदै आएका छन ।

मस्तिष्कघातबाट बच्नका लागि यो समस्या के हो, कसरी हुन्छ भन्ने बुझेपछि जोगिने विधिहरुको प्रयोग निरन्तर गर्नु जरुरी हुन्छ भन्नेमा त्रिवि शिक्षण अस्पतालका न्युरो सर्जन डाक्टर मोहन शर्माको सुझाव रहेको छ ।

डा. शर्माका अनुसार सामान्यतया मस्तिष्कमा अचानक रक्तसञ्चार बन्द हुनु र त्यहाँ भएका रक्तकोषिका फुटेर रगत बग्नुलाई मस्तिष्कघात अर्थात् ब्रेनस्ट्रोक भनिन्छ ।

मस्तिष्कघात भएका अधिकांश बिरामीलाई पक्षाघात पनि हुने भएकाले यो रोगलाई प्यारालाइसिसका नामले पनि पुकारिन्छ । यसका विभिन्न प्रकारका लक्ष्यणहरु हुन्छन ।

ब्रेनस्ट्रोक हुँदा टाउकोको एकापट्टिको भागमा प्यारालाइसिस हुने, मुख बांगिने, बेहोस हुने, आँखा नदेख्ने आदि हुन्छ । मस्तिष्कको पूरै भागबाट रक्तसञ्चार बन्द भएमा मानिसको मृत्युसमेत हुन्छ ।

जुनसुकै उमेरका मानिसमा पनि मस्तिष्कघात वा पक्षाघातको खतरा हुने गर्छ । यद्यपि, गर्भनिरोधक चक्की सेवन गरिरहेका महिला, मधुमेह, उच्च रक्तचाप र कोलेस्ट्रोलका बिरामीमा यसको जोखिम बढी हुन्छ ।

मस्तिष्कघातका लक्षणहरु

ब्रेन स्ट्रोक हुँदा एक्कासि बेहोस हुने हुन्छ । अन्य समस्याका कारण बेहोस हुँदा मानिस एकैछिनमा आफैँ ठीक हुन्छ । तर, स्ट्रोक हुँदा लामो समयसम्म बेहोस हुने अर्थात् होसमै नआउने हुन्छ । अचानक मुख बांगिने, प्यारालाइसिस हुने, कमजोर महसुस हुने, एक्कासि आँखा नदेख्ने यसका मुख्य लक्षण हुन् ।

मस्तिष्कघातका कारणहरु

ब्रेन स्ट्रोक हुनुका विभिन्न कारण छन् । अत्यधिक धूम्रपान गर्नु, बढी तनावयुक्त जीवन जिउनु आदि कारणले यसको जोखिम हुने गर्छ ।

मस्तिष्कघातको उपचार विधि

ब्रेन स्ट्रोक भएमा सकेसम्म छिटो उपचार गरिसक्नुपर्छ । जति छोटो समयमा उपचार गर्न सकियो, त्यति नै उपलब्धिमूलक हुन्छ ।

मस्तिष्कमा रगत भरिँदै गएको भए उपचार गर्न अझ हतार गर्नुपर्छ । रक्तसञ्चार बन्द भएर पक्षाघातको स्थिति आएमा ३ घन्टाभित्रमा अस्पताल पुर्‍याइसक्नुपर्छ ।

रोगको अवस्था हेरेर शल्यक्रिया वा औषधि सेवनबाट यसको उपचार सम्भव छ । यद्यपि, नेपालका अधिकांश अस्पतालमा न्युरो सर्जन छैनन् । यो आवश्यकता पूर्ति गर्न सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।

(डा. शर्मा त्रिवि शिक्षण अस्पतालका न्युरो सर्जन हुन् । हामीले यो समाचार सामाग्री आजको नयाँ पत्रिका दैनिकबाट साभार गरेका हौं ।)