क्रान्तिकारी माओवादीका नेता शाहीको सम्झनामा दैलेखमा स्मृति सभा: नेतादेखि सर्वसाधारणसम्मको सहभागिता

वर्ग दुश्मन विरुद्धको संघर्ष जारी राख्नुपर्नेमा वक्ताहरुको जोड

दैलेख । नेकपा (क्रान्तिकारी माओवादी) का पोलिटव्यूरो सदस्य समेत रहेका दैलेखमा कम्युनिस्ट विचारको प्रचार तथा सस्थापक नेता हर्कबहादुर शाहीको ४५ औ तिथिको अवसरमा हिजो दैलेखमा भव्य कार्यक्रमबीच स्मृति सभा सम्पन्न भएको छ ।

लामो समयदेखि देश र जनताको पक्षमा क्रान्तिकारी पार्टीको विचारसहित सामाजिक काममा जुट्दै आएका नेता शाहीको केही समयअघि काठमाडौंको धापासी स्थित ग्राण्डि अस्पतालमा उपचारको क्रममा निधन भएको हो । नेता शाही लामो समयदेखि उपचारार्थ थिए ।

अस्पतालको उपचारकै क्रममा उनी रेस्टको लागि धापासी स्थित उनको निजि निवासमा रहेका बेला उनको निधन भएको हो ।

नेता शाहीले सामाजमा देखिएको वर्गिय विभेदको अन्त्य गरेर समतामूलक समाजको रुपान्तरणका निर्माणका लागि आफ्नो जीवनकालभरी संघर्ष गरेको भन्दै उनको योगदानको सम्झना गर्दै पछिल्लो समयमा ठाउँ ठाउँमा उनको स्मृतिसभाहरु गरिदैँ आएका छन ।

काठमाडौंमा नेकपा क्रान्तिकारी माओवादीले यसअघि नै उनको स्मृतिमा सभाको आयोजना गरेको थियो । त्यस्तै परिवारजनका तर्फबाट उनको काठमाडौं स्थित निवासमा समेत विभिन्न चरणहरुमा कार्यक्रमहरु गरेर उनका योगदानलाई सम्झने कामहरु भएका छन । र त्यसैको निरन्तरतामा हिजो दैलेखमा उक्त सभाको आयोजना भएको बुझिएको छ ।

नेता शाहीको स्मृति सभामा विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ताहरुदेखि सर्वसाधारण आम नागरिकसम्मको बाक्लो सहभागिता रहेको थियो । कार्यक्रममा सहभागि राजनीतिक दलका नेताहरुले उनको योगदानको चर्चा गर्दै आफ्नो धारणा समेत राखेक थिए ।

उक्त कार्यक्रममा नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेशका सेक्रेटरी चक्रप्रसाद शर्माले सत्तारुढ पार्टीको बेथिति विषयमा प्रतिपक्ष दलले गर्नैपर्ने बिरोधका कार्यक्रम गर्न नसकेको टिप्पणी गरेका छन् ।

उनले ‘निर्मला पन्तको बलात्कारपछि हत्या घटना, वाइडबडी घोटाला, ३३ किलो सुन काण्ड, मिडिया काउन्सिल विधेयक लगायत विषयमा प्रतिपक्षले संसदमा जोडदार आवाज उठाएको भए त्यसको सुनुवाई नभएको बताए ।

उनले मुलुकमा दलाल चरित्रको व्यवस्था रहेकाले त्यले जनताको न्यायपूर्ण आवाजमा दमन गर्दै दलाल, तस्कर र माफियाहरुको पक्षपोषणमा समय खर्चिने काम गरेको आरोप लगाए । उनले वर्तमान व्यवस्थाबाट जनताले न्याय नपाउँने भन्दै नेता शाहीले देखेको समाजिक व्यवसथा परिवर्तनको प्रकृयाबाट मात्र सबै समस्याहरुको हल खोज्न सकिने भएकाले क्रान्तिकारी पार्टी र योजनामा जुट्न सबैलाई आह्वान गरे ।

नेता शर्माले मिडिया काउन्सिल विधेयकले स्वतन्त्र प्रेसको गलो निमोठ्ने काम गरेको भन्दै त्यसको विरोध समेत गरे । उनले भने–‘सरकारका मन्त्रीहरु भने रे अमेरिकामा गलत समाचार लेखे १० लाख डलर सजायँ हुने व्यवस्था छ भनेर तर उनीहरुले चीनमा भ्रष्टाचार गर्नेलाई फाँसी दिने सजायँ छ भन्न किन सकेनन् ?’

उनले दुईतिहाईको सरकारले आफू अनुकूलको व्याख्या गरेर नियम कानुन बदल्दै न्यायको हत्या गर्ने र अन्त्यमा फासिवाद ल्याउने संकेत देखिएको भन्दे उनले त्यसको विरोधमा उत्रिन नागरिकहरुमा आग्रह गरे । उनले समाजमा वर्ग रहेंसम्म वर्ग विभेद हुने भन्दै त्यसको हलका लागि सामाजिक व्यवस्था बदल्नुपर्ने धारणा राखें ।

उक्त कार्यक्रममा पूर्वराज्यमन्त्री गणेशबहादुर खड्काले दैलेखी कम्यूनिष्ट आन्दोलनको अग्रज हर्कबहादुर शाहीले जीवनकालमा गरेको राम्रा कामको अनुशरण गर्न निर्वाचित जनप्रतिनिधिहरुलाई सुझाव दिए । उनले स्थानीय तहका जनप्रतिनिधिहरु सुविधाभोगी भएको टिप्पणी गरे ।

त्यसबखत प्रतिनिधिसभाका सदस्य पार्वतीकुमारी बिशुन्केले पठाएको सन्देश पढेर सुनाइएको थियो । सन्देशमा साँसद विशुन्केले स्वर्गीय शाहीले पञ्चायती व्यवस्थामा जिल्लाको कम्यूनिष्ट आन्दोलन संगठित गर्दै जनपक्षीय जनप्रतिनिधिको रुपमा उपेक्षित, उत्पीडित समुदायको चेतना उठाउन गर्नुभएको योगदान प्रशंसनीय रहेको उल्लेख गरेकी थिइन ।

पूर्व संविधानसभा सांसद भरतकुमारी रेग्मीले नेता शाही दैलेख कम्यूनिष्ट आन्दोलनको अभिभावक भएको बताइन् । कार्यक्रममा पूर्व जिविस सभापति टेकबहादुर खाँणले शाहीको योगदान इतिहास लेखिनुपर्ने सुझाव दिए ।

उक्त कार्यक्रम हर्कबहादुर शाही स्मृति प्रतिष्ठानका अध्यक्ष एवं नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य दीपकबहादुर शाहीको अध्यक्षतामा भएको थियो ।

कार्यक्रममा पूर्वजिविस उपसभापतिहरु सूर्यबहादुर शाही, खड्गबहादुर सिजापती, राजनीतिक नेताहरु मणीराम रेग्मी, लक्ष्मीकुमार बिक, केहरसिंह बुढा, बीरेन्द्र शाही, शिवसुन्दर शाही, अम्मरबहादुर नेपाली, निमित्त समन्वय अधिकारी पदम सापकोटा, सामाजिक सेवा केन्द्रका अध्यक्ष हीरासिंह थापा लगायतले शाहीको राजनीतिक योगदानबारे चर्चा गरेका थिए ।

शाहीको निधनपछि ५ दिनमै क्रिया सकेको विषयमा पारिवारिक र सामाजिक आलोचना खेप्दै आएका नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य दीपकबहादुर शाहीले बुबाको इच्छा स्वास्थ्य विज्ञानमा अन्वेषणका लागि अस्पताललाई लास दिनू भन्ने रहेकाले हिन्दू संस्कार अनुसार पूर्णतया कार्यक्रमहरु गर्न नसकेको स्पष्ट पारेका थिए ।

दीपकबहादुर शाहीले स्मृतिसभामा स्थानीय तह र प्रदेशसभा जनप्रतिनिधिहरुले बेवास्ता गरेको प्रति रोष प्रकट गरे । ‘जिल्लाको कम्यूनिष्ट आन्दोलनमा हर्कबहादुरकै चेला हुँ भन्नेहरु नआएकोमा दुःख लागेको छ’ उनले भने ।

प्रस्तावित हर्कबहादुर शाही स्मृति प्रतिष्ठानले चामुण्डामा बाल विकास केन्द्र स्थापना, दाङ्गमा अध्ययरत बालबालिकाहरुलाई छात्रबृति दिइएको र कृषि क्षेत्रमा अन्वेषणको काम गर्न लागिएको उनले बताएका छन ।

२००२ साउन १५ गते चामुण्डाबिन्द्रासैनी नपा–४ जन्मेका शाहीको गत चैत २६ गते काठमाण्डौंमा निधन भएको थियो ।
२०४३ सालमा जनपक्षीय उम्मेदवार भई चामुण्डा गाउँ पञ्चायतको प्रधानपञ्च भएको बेला दैलेखमा मदिरा बिरुद्ध जिल्ला व्यापी आन्दोलन चलिरहेको बेला पञ्चायत बिरुद्ध लागेको भन्दै उनी लगायतलाई १९ दिन प्रहरी हिरासतमा राखिएको थियो ।

२०६४ को संविधानसभा निर्वाचनपछि नेपाल मजदूर किसान पार्टीको केन्द्रीय सदस्य छोडेर तत्कालिन नेकपा माओवादी पार्टीमा प्रवेश गरेका शाही २०६९ असारमा मोहन बैद्यको नेतृत्वमा गठन नेकपा क्रान्तिकारी माओवादीमा संगठित बनेका थिए ।

उनी क्रान्तिकारी माओवादीको पोलिटव्यूरो सदस्यको रुपमा राम्रो भूमिक निर्वाह गर्दै आएका वौद्धिक नेताका रुपमा परिचित छन ।