नेता-कर्मचारीका आफन्तको भर्ती केन्द्र बन्दै त्रिवि सेवा आयोगः विरोधमा अखिल क्रान्तिकारी,निरन्तर आन्दोलनमा…

यस्तो छ आन्दोलनमा समर्थन र थप तयारीको अवस्था……

काठमाडौं । लामो संघर्षको प्रकृयापछि आएको लोकतान्त्रिक गणतन्त्रमा समेत शिक्षा, स्वास्थ्य, रोजगार जस्ता मानविय आवश्यकताका क्षेत्रमा दलालीकरण, व्यापारिकरण भैरहेको र त्यसमा राज्यको भूमिका मौन भएको भन्दै पछिल्लो समय नेकपा क्रान्तिकारी माओवादीका विद्यार्थी, युवाहरु आन्दोलित बन्दै गएका छन ।

मुलुककै सबै भन्दा ठूलो र सरकारी विश्वपवद्यालय त्रिभूवन विश्वविद्यालयनै दलालहरुको अखडाको रुपमा विकास हुँदै गएको निष्कर्ण सहित क्रान्तिकारी माओवादी निकटको अखिल क्रान्तिकारी यतिबेला शैक्षिक सुधारको मुद्दालाई केन्द्रमा राखेर शैक्षिक अराजकता विरुद्धको आन्दोलनमा उत्रिएको छ ।

केन्द्रीय क्याम्पस त्रिभुवन विश्वविद्यालय अन्तर्गतको सेवा आयोगको परिक्षा प्रणालीमा सुधारको माग राख्दै अखिल क्रान्तिकारीका नेता, कार्यकर्ताहरु गत सोमबारदेखि निरन्तर रिले अनसनमा बसेका छन । त्रिवि सेवा आयागले लिएको परिक्षामा व्यापक अनियमितता भएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेसँग विद्यार्थीहरु आन्दोलीत बन्दै आएका हुन ।

तर उक्त विषयमा अख्तियारले अनुसन्धार बढाएको बुझिएपनि अहिलेसम्म कारबाहीमा भने कसैलाई लगेको छैन । अखिल क्रान्तिकारीले त्रिविमा भैराखेको भ्रष्टिकरणको विषयमा पटक पटक आवाज उठाएपनि बलियो आन्दोलन भने गर्न सकेको थिएन ।

निरन्तर भ्रष्टिकरणका विषयहरु सार्वजनिक भैरहदा समेत ठूला भनिने सत्ताँधारी विद्यार्थी संगठनहरुले मुख नखोलेपछि क्रान्तिकारी वैकल्पिक धारको नेतृत्व गर्दै अखिल क्रान्तिकारी आन्दोलनमा होमिएको उक्त संगठनका नेताहरुको भनाई छ ।

आज रिले अनसनको तेस्रो दिनसम्म पुग्दा आन्दोलनप्रति अन्य संग, संगठनहरुको साथ समर्थन जुट्दै गएको र विभिन्न मोर्चा, संगठनहरुले अनसनमै आएर एक्यवद्धता जनाउँने क्रम बढेको देखिन्छ ।

अखिल क्रान्तिकारीले शैक्षिक क्षेत्रमा भैरहेको विकृति, विसंगतिहरुको भण्डाफोर गर्दै सुधारको लागि सचेतन ढंगको दवावमूलक आन्दोलन गर्दा त्यसलाई न्यूनिकरण गर्ने सरकारी प्रयत्न असफल बनेको र आन्दोलनले नयाँ गति लिएको दावी अखिल क्रान्तिकारीका अध्यक्ष हरीकृष्ण गजुरेलको छ ।

अध्यक्ष गजुरेलले आफ्नो संगठन जहिले पनि देश, जनता र परिवर्तनका पक्षमा उभिएको इतिहास खोतल्दै मुलुकमा भैराखेको दलाली, माफियाकरण र छोटे राजाहरुको निरञ्कुशताका विरुद्धको लडाईमा होमिनु परेको तर्क गरे ।

अध्यक्ष गजुरेलले त्रिविमा आफ्नो संगठनका नेताहरुले सेवा आयोगकोमा भैराखेको भ्रष्टिकरणको विरोध गर्दै सुधार्न माग राखेर ताला लगाएकोमा त्यसलाई राज्य शक्तिको दूरुपयोग गर्दै क्याम्पस प्रशासनले अराजनैतिक व्यवहार गरेर तोडेपछि त्यसका विरुद्ध पहिलो चरणमा रिले अनशन गरिरहेको बताए ।

उनले पछिल्लो समयमा आफ्नो संगठनले चलाएको आन्दोलन समग्र विद्यार्थीहरुको पक्षमा भएको र त्यो शैक्षिक क्षेत्रमा सुधारको नयाँ अभ्यासका रुपमा रहेको भन्दै क्रान्तिकारी माओवादी र अन्य पार्टी सम्बद्ध विभिन्न संघ, संगठनहरुले एक्यवद्धता, साथ समर्थन जुटाउँदै आउपछि क्याम्पस प्रशासन वार्ताका लागि छटपटाहट गरिरहेको बताए ।

उनले क्याम्पस प्रशासनले हिजो आफ्नो संगठनसँग पहिलो चरणको छलफल गरेर माग सम्बोधन गर्ने गरी छिट्टै वार्ता गर्ने प्रस्ताव अघि सारेको बताए । उनले विद्यार्थीहरुको हक, अधिकार र सबैखाले शैक्षिक दलाल, तस्करहरुको अन्त्य नभएसम्म आफ्नो आन्दोलन निरन्तर जारी रहने बताएका छन ।

उनले भने–‘त्रिवि सेवा आयोगको निष्पक्षताको मुद्धा आम विद्यार्थी र राज्यको नीतिसँग जोडिएको विषय हो । यसमा बेइमानी गर्ने छुट कुनै वहालवालालाई छैन । यसमा कुनै प्रकारको सम्झौता गरिन्न, पूर्णतया सुधारको लागि आन्दोलन गरिएको हो । क्याम्पस प्रशासन माग सुन्न तयार नभएमा अर्को चरणको कार्यक्रममा जान्छौं । हामी कसैको शक्तिसँग झुक्दैनौं ।’

उनले मुलुकमा लोकतान्त्रिक गणतन्त्र नामको व्यवस्था आएपनि राज्यले दलाल, तस्कर, भ्रष्टहरुलाई कारबाही भन्दा पनि संरक्षण गरेको आरोप लगाउँदै आफ्नो संगठनले समग्र विकृतिको अन्त्य गर्न निरन्तर आन्दोलनको झण्डा उठाउने चेतावनी समेत दिए ।

उनले भने–‘यो व्यवस्था दलाल, तस्कर र भ्रष्टहरुको पक्षमा छ । हामीले जनताको जनजीविका र व्यवहारसँग जोडिने खालको जनवादी र वैज्ञानीक शिक्षा प्रणालीको मागलाई केन्द्रमा राखेका छौ तर त्यसलाई यो राज्यले पुरा गर्ने अवस्था देखिन्न । तसर्थ हामी व्यवस्था परिवर्तनमो विकल्मा समेत आन्दोलनलाई सोचिरहेका छौं । आम नेपालीका छोराछोरीले निशुल्क र जीवनउपयोगी शिक्षा संघीय जनगणतन्त्रबाट मात्र सम्भव छ भन्ने हाम्रो निष्कर्ष रहेको छ ।’

परिक्षा प्रणाली निष्पक्ष नगरिए अनिश्चितकालिन अनसन बस्ने अखिल क्रान्तिकारिका
केन्द्रिय उपाध्यक्ष शिलु न्यौपानेले हरपल नेपालसँग कुरा गर्दै आन्दोलन बिना निष्कर्ष नरोकिने बतायन ।

उपाध्यक्ष न्यौपानेले त्रिभुवन विश्वविद्यालयले परीक्षा सञ्चालनमा चरम लापरबाही तथा अनियमिता गरेको र सेवा आयोग भष्टिकरणमा लिप्त हुँदै जान लागेकाले त्यसको गरिमा बचाउँदै शैक्षिक क्षेत्रको सुधारका लागि आन्दोलनमा उत्रिन बाँध्य भएको तर्क गरिन ।

यस्तो छ सेवा आयोगको अनियमितता र विरोधको श्रृखला….

अखिल क्रान्तिकारीले त्रिवि आफन्तलाई जागिर खुवाउने भर्ती केन्द्र बन्दै गएको आरोप लागएको छ । त्रिभुवन विश्वविद्यालयको सेवा आयोगका पदाधिकारीहरूको गतिविधि पछिल्लो समय थप विवादमा समेत पुगेको देखिन्छ ।

आयोगले यसअघि तीनपटक लिएको परीक्षासमेत विवादको घेरामा परेको थियो। अहिले पनि आफ्नो पुरानै विवादित परम्परालाई दोहोर्‍याउँदै आयोगका पदाधिकारीहरूले अनियमित किसिमले परीक्षा सञ्चालन गरेको र आर्थिक चलखेल भएको भन्दै उजुरी परेपछि अख्तियारको छानबिन प्रकृया जारी रहेको छ ।

पटक पटक मितव्ययी र पारदर्शी रूपमा परीक्षा सञ्चालन नगरेको आरोप खेप्दै आएको त्रिवि सेवा आयोग र त्यसका केही पदाधिकारीहरु अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको घेरामा रहेको बुझिएको छ ।

आयोगले यसअघि २०५६, २०६८ र २०७१ सालमा परीक्षा लिएको थियो। ती सबै परीक्षामा विद्यार्थी संगठनदेखि कर्मचारी, प्राध्यापक र परीक्षा दिएका विद्यार्थीहरूले समेत अनियमितता भएको भन्दै विरोध जनाउँदै आएका थिए।

त्यस्तै त्रिवि सेवा आयोगले पछिल्लो अवस्थामा आर्थिक वर्ष २०७३ ७४ मा विभिन्न प्रशासनिक पदमा १७० जनाका लागि खुलाएको परीक्षामा समेत पुरानै परम्परा दोहोरियो ।

आयोग पदाधिकारीहरूले आफन्तलाई भर्ती गर्ने थलोको रुपमा त्रिवि सेवा आयोगलाई प्रयोग गरेको आरोपमा छानबिन र कारबाहीका लागि अख्तियारमा उजुरी परेसँगै विद्यार्थीहरुले समेत त्यसको निपक्ष न्यायको माग सहित आन्दोलन बढाउँदै आएको देखिन्छ ।

अख्तियारमा परीक्षामा अनियमितता भएको बारे उजुरी आएपछि सबै उत्तरपुस्तिका नियन्त्रणमा लिएको खुल्न आएको छ, तर अनुसन्धान प्रकया भने अझै सकिएको छैन ।

अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले अनुसन्धान प्रकृया चलिरहेको र त्यसमा दोषि प्रमाणित हुन आउँने जो सुकै भएपनि कारबाही हुने बताएका छन । उनले भनेका छन–‘अहिले आवश्यकता अनुसार पदाधिकारी वा जोडिएका पक्षसँग बयान लिने काम हुन्छ। कागजपत्र खोलेर अनुसन्धानको काम भइरहेको छ। त्यसको निचोड चाडै आउँछ ।’

त्यो विषयमा अख्तियारमा अनुसन्धान प्रकया चलिरहदाँ आमसञ्चार माध्यमहरुले भने यसअघि आयोगले लिएको परीक्षामा अधिकांश नाम निस्कएकाहरू आयोगका अध्यक्षसहित अन्य पदाधिकारी, कर्मचारी तथा केही सत्ताँरुढ र अन्य राजनीतिक दलका नेता, कार्यकर्ताहरुको निकट र आफन्तहरु भएको भन्दै समाचार सामाग्रीहरु प्रकाशन गर्दै आएका छन ।

यसरी राज्य शक्तिको आँडमा, पद र प्रतिष्ठाको दुरुपयोग गर्दै मर्यादीत र निष्पक्ष परीक्षा प्रणालीमा विकृति ल्याउनेहरुका विरुद्ध हुने आन्दोलनमा दिनहुँ आम नागरिक, युवा, विद्यार्थी र परिवर्तकारी शक्तिहरुको समर्थन जुट्दै जाने निश्चित देखिन्छ ।

यस्तो छ आजको आन्दोलनमा समर्थन र थप तयारीको अवस्था……

क्रान्तिकारी माओवादी निकटको अखिल क्रान्तिकारीले त्रिविको सेवा आयोगमा भएको भ्रष्टाचार, अनियमितताको विरोध गरेको आन्दोलन नागरिक अधिकारको पक्षमा, समुतामूलक समाज निर्माणको पक्ष र वैज्ञानीक तथा जनवादी शिक्षा प्रणाको कार्यान्यनमा दवाव दिने पक्षमा रहेको भन्दै पार्टी नेतृत्वबाट समेत समर्थन, एक्यवद्धता जनाइएको छ ।

क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य तथा संयुक्त संघर्षको लागि तयार गरिएको देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका केन्द्रीय अध्यक्ष सीपी गजुरेल, पार्टीका पोलिटव्यूरो समदस्य तथा प्रदेश तीनका सेक्रेटरी दिनेश शर्मा समितको टोलीले हिजो विद्यार्थीको आन्दोलनमा सहभागि हुँदै निरन्तर आन्दोलनको झण्डा उठाउँन निर्देशन दिएको छ ।

त्यस्तै क्रान्तिकारी माओवादी सम्बद्ध दर्जनौ संघ, संगठनहरुले समेत आज ११ बजे संयुक्त रुपमा विद्यार्थीहरुको उक्त आन्दोलन जायज रहेको र त्यसलाई राज्यले हल गर्नुपर्नेमा जोड दिदैँ एक्यवद्धता तथा समर्थन जनाउने भएका छन ।

त्यस्तै अन्य विभिन्न क्रान्तिकारी, परिवर्तनका लागि संघर्षरत पार्टी र तिनका संघ संगठनहरुले समेत उक्त आन्दोलनलाई समर्थन गर्दै एक्यवद्धता जनाउने तयारी भैरहेको बुझिएको छ ।

यसरी हेर्दा विद्यार्थीहरुको मुद्धालाई हल नगरेमा अर्को चरणमा हुने आन्दोलन अझ सशक्त तथा आक्रामक हुने आंकलन गर्न सकिन्छ ।