राज्यको प्रेस विरोधी हर्कत विरुद्ध पत्रकार महासंघ आन्दोलितः काउन्सिल विधेयक रोक्न माग (कार्यक्रमको सूचिसहित)

२५ गते मानव हातेसाङ्लो सहित प्रदर्शन हुने

काठमाडौं । नेपाल पत्रकार महासंघले सरकारले ल्याउने तयारी गरिरहेको मिडिया काउन्सिल सम्बन्धी विधेयकले स्वतन्त्र प्रेसमाथि अंकुश लगाउन खोजेको ठहर गर्दै आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ ।

पत्रकार महासंघका उपलब्ध केन्द्रीय समितिको सदस्यहरुको हिजो बसेको बैठकले उक्त विधेयक नेपाली स्वतन्त्र पत्रकारीतालाई निषेध गर्ने ढंगले आएकाले त्यसलाई सच्याउन माग गर्दै दोस्रो चरणको आन्दोलन घोषणा गरेको हो ।

उक्त विधेयकको विरोधमा महासंघले गरेको पहिलो चरणको आन्दोलनपछि पनि सरकारले त्यसमा सुधार नगरेकाले दोश्रो चरणको आन्दोलन सार्वजनिक गर्न महासंघ बाध्य भएको हो ।

उक्त विधेयकलाई संसदमा पेश हुन नदिनका लागि महासंघले सम्बन्धीत पक्षहरुसँग छलफल, अन्तरक्रिायादेखि विरोध प्रदर्शन गर्ने सम्मका कार्यक्रमहरु अघि सारेको छ ।

महासंघका महासचिव रमेश बिष्टले हिजो एक विज्ञप्ति जारी गर्दै त्यस्तो कार्यक्रमहरु सार्वजनिक गरेका हुन । विरोधका कार्यक्रमहरु यस्ता छन…..

नेपाल पत्रकार महासंघ

केन्द्रीय कार्यालय

१) जेठ ६ र ७ गते महासंघका पूर्वअध्यक्षहरुसँग छलफल र परामर्श गर्ने ।
२) जेठ ८ गते संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय पार्टीहरुको ध्यानाकर्षण गराउने ।
३) जेठ ९ देखि १२ गतेसम्म सञ्चार माध्यमका सम्पादकहरुसँग भेट गरी सञ्चार अभियान सञ्चालन गर्ने ।
४) जेठ १३ र १४ गते सांसदहरुसँग छलफल गर्ने ।
५) जेठ १६ गते प्रेस स्वतन्त्रता सेनानीसँग छलफल गर्ने ।
६) जेठ १८ देखि २० गतेसम्म महासंघको प्रतिष्ठान शाखा, र एसोसिएटहरुको आयोजनामा विधेयकका कारण समाचार कक्षमा पर्ने प्रभावबारे छलफल चलाउने ।
७) जेठ २३ र २४ गते राजनीतिक दल, सञ्चारकर्मी, नागरिक संघसंस्था, पेशाकर्मी र अभिकारकर्मीसँग अन्तक्र्रिया कार्यक्रम गर्ने ।
८) जेठ २५ गते अपरान्ह ३ बजे काठमाडौंको वानेश्वरदेखि बबरमहलसम्म मानव हातेसाङ्लो बनाई बृहत प्रदर्शन गर्ने । काठमाडौं उपत्यकाबाहिर प्रदेश राजधानीमा पनि मानव हातेसाङ्लो बनाई प्रदर्शन गर्ने ।

……..
महासचिव
रमेश बिष्ट