स्थानीयवासीहरुद्धारा सांसद केसीको टोली ४ घण्टा बन्धकः ६५ राउण्ड फायरिङ, रातभर तनाव

झडपबाट सुरक्षा निकायका तीन जना घाईतेः बढ्दैछ सुरक्षा चुनौती

काठमाडौं । चरेश कारोबार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको विरोधमा उत्रिएका बाँके नरैनापुरका स्थानीयवासीको एक समूहले निर्वाचन क्षेत्रको स्थलगत निरीक्षणमा निस्केकी प्रदेश सांसद कृष्णा केसीसहितको समूहलाई चार घण्टा बन्धक बनाएको छ ।

बाँकेको क्षेत्र नम्बर १ ‘क’ बाट निर्वाचित प्रदेश ५ की सांसद कृष्णा केसी ‘नमूना’ सहित उनका टोलीमा रहेका पत्रकारहरुको टोलीलाई तग शुक्रबार साँझ ६ बजेतिर आक्रोशित स्थानीयवासीहरुले बन्धक बनाएका हुन ।

अनाहकमा प्रहरीले त्यहाँबाट एक युवालाई पक्राउ गरेको भन्दै आक्रोशित समूहले शुक्रबार साँझ ६ बजेदेखि राति दश बजेसम्म ४ घण्टा घेराबन्दी सहित बन्धक बनाएका थिए। सांसद केसीको टोलीलाई नियन्त्रणमा लिएपछि उनीहरुले उनको गाडीको हावा समेत खोलिदिएका थिए ।

निर्वाचन क्षेत्रको निरिक्षण गरेर फर्कने क्रममा स्थानीयवासीहरुबाट सांसदसहितको पत्रकारहरुको टोली बन्धक बन्न पुगेपनि त्यहाँबाट उम्काउन प्रहरीले जिल्ला प्रहरी कार्यालय बाँकेबाट थप फोर्स माग गर्नु परेको थियो ।

बाँके प्रहरीले सांसद केसीको टोललिाई उम्काउन खोल्दा स्थानीयहरुले अटेर गरेपछि केही बल प्रयोग गर्नुपरेको जनाएको छ । प्रहरीले भिड नियन्त्रण गर्दा शुक्रबार राति ६५ राउण्ड हवाई फायर भएको बताइएको छ ।

स्थानीयवासीहरुको आक्रोशित भिडले इलाका प्रहरी कार्यालय भोजभगवानपुरमा समेत घेराबन्दी तथा तोडफोड गर्न थालेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ६५ राउण्ड हवाइ फायर गरेको बाँके प्रहरीका डीएसपी प्रकाश सापकोटाले बताए।

भिड नियन्त्रण गर्न खोज्दा भएको झडपका क्रममा सशस्त्र प्रहरीका दुई र नेपाल प्रहरीका एक जना जवान घाइते समेत भएको बताइएको छ । जिल्ला प्रहरीबाट थप फोर्स राति १० बजे पुगेपछि सांसद टोलीलाई सुरक्षित स्थानमा लगिएको थियो ।

शुक्रबार बन्धक बनाइएकी सांसद केसी सहितको पत्रकारको टोलीलाई प्रहरीले शनिबार बिहान २ बजे मात्र नेपालगञ्ज पुर्याएको थियो । नेपालगञ्ज पुगेपछि सांसद केसीले घटनाबारे पत्रकार सम्मेलन गर्दै जिल्लाको सुरक्षा अवस्था कमजोर बनेको भन्दै त्यसमा ध्यान दिनुपर्ने बताइन ।

डीएसपी सापकोटाका अनुसार नरैनापुर–४ मा लागेको हाटबजारमा कपडा बेच्न आएका भारतीय नागरिक देवीदिन विश्वकर्माको साथबाट प्रहरीले शुक्रबार साँझ करिब पाँच बजेतिर पाँच किलो चरेशसहित पक्राउ गरेको थियो ।

चरेशसहित पक्राउ परेका भारतीय नागरिक विकको रिहाइ गर्नुपर्ने भन्दै स्थानीयवासीहरु आन्दोलित भएको बुझिएको छ । अहिले भने त्यहाँको स्थिति सामान्य बनेको बताइएको छ । पक्राउ परेका विकलाई प्रहरी कानुनी कारबाहीका लागि जिल्लामा लगेको छ ।फाइल तस्बिर