दिउँसै काठमाडौंमा सकेट बम भेटियोः सेनाद्धारा डिस्पोज, अवस्था सामान्य

बन्दकर्ताले राखेको हुनसक्ने प्रहरीको आशंकाः अनुसन्धान जारी

काठमाडौं । काठमाडौंको अति बेस्त सडक खण्ड कोटेश्वर चोकदेखि केहीपर सडकमा आज अज्ञात समूहले बम जस्तो देखिने बस्तु राखेपछि केहीबेर त्यहाँको अवस्था त्रासमय बन्न पुग्यो ।

अति ब्यस्त सडकमा दिउँस करिब ३ः३० बजेतिर सडकमा सकेट बम राखेको जस्तो देखिने झोला देखेपछि मानिसहरु आतंकित भएका थिए ।

उक्त शंकास्पद वस्तु भेटिएको खबर पाएपछि त्यहाँ नेपाल प्रहरी पुगेर त्यसको विषयमा सम्बन्धीत निकायमा थप जानकारी गराएको थियो ।

स्कुलमा झोलामा विद्यार्थीहरुले खाजाको लागि प्रयोग गर्ने वक्स जस्तो वस्तु राखिएको र त्यसबाट तारहरु निस्केको तथा सानो व्याट्रि जोडिएको शंकास्पद वस्तु त्यहाँ भेटिएको महानगरिय प्रहरी महाशाखा टेकुका एसएसपी वसन्त लामाले हरपल नेपालसँग बताए ।

एसएसपी लामाले उक्त शंकास्पद वस्तु बाहिरबाट हेर्दा बम वा पड्किने वस्तु जस्तो देखिएपनि त्यो मानिसहरुलाई आतंकित पार्नका लागि कुनै समूहले राखेको हुन सक्ने बताए ।

उनले आज बन्द घोषणा गर्ने समूहले पनि त्यो राखेको हुन सक्ने प्रारम्भिक आशंका रहेको बताए ।

उनले उक्त शंकास्पद वस्तुलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्कृय बनाएको र अहिले त्यहाँको अवस्था सामान्य रहेको समेत बताए ।

उनले उक्त बस्तु कस्ले र किन राखेको हो भन्ने विषयमा प्रहरीले अनुसन्धान प्रकृया अघि बढाएको र छिट्टै त्यसको वास्तविकता बाहिर आउने विश्वास व्यक्त गरे ।

एसएसपी लामाले त्यो विषयको वास्तविकता छिट्टै सार्वजनिक हुने बताएका छन । उक्त बम जस्तो बस्तु भेटिएपछि प्रहरीले केही समय सवारी आवागमन रोकेको थियो , डस्पोज पस्चिात भने पुन सडक सुचारु भएको छ ।