रकम निकासा नहुँदा सरकारी विद्यालयको पठन-पाठन प्रभावित

भर्ना अभियान समेत अन्योलमा

सिरहा । सिरहा जिल्लास्थित रहेका अधिकांश सरकारी विद्यालयमा विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउन स्थानिय निकायले सरकारी रकम निकासा नगरेपछि विद्यालयको पठन पाठन प्रभावित हुन पुगेको छ ।

स्थानीय निकायले पाठ्यपुस्तक किन्ने पैसा नदिँदा सिरहाका अधिकांश सरकारीविद्यालयहरुको पठन पाठन प्रभावित भएको हो ।

जिल्लामा रहेका  सरकारी विद्यालयहरुका करीब ७६ हजार भन्दा बढी विद्यार्थी समयमै पाठ्यपुस्तक पाउनबाट बञ्चित भएका छन् ।

शिक्षा समन्वय इकाई समिती सिरहाका अनुसार पाठ्यपुस्तकको रकम निकासा नभएका तीनसय ३५ विद्यालय रहेका छन । जसमा कक्षा १ देखि ९ सम्म ७६ हजार पाँचसय ८८ विद्यार्थी पढ्छन् ।

जिल्लाका सिरहा, लहान, मिर्चैया, कर्जन्हा, सुखीपुर र गोलबजार नगरपालिका लगायत नवराजपुर, भगवानपुर, औरही, नरहा र लक्ष्मीपुर पतारी गाउँपालिकाले रकम निकासा नगरेको बताइएको छ ।

एकातिर ‘हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पुर्याऔँ’ नारासँगै विद्यार्थी भर्ना अभियान शुरु  भन्ने नारा लगाउने गरिएको छ भने अर्कोतर्फ स्थानीय तहले विद्यालयलाई पाठ्यपुस्तक उपलब्ध गराउन आर्थीक सहयोग जुटाएको छैन ।

रकम अभावमा विद्यालयले पुस्तक उपलब्ध गराउन नसक्दा भर्ना अभियान समेत अन्योलमा परेको फुल कुमारी उच्च माबिका एक प्राध्यापक भानु गौतमले बताएका छन ।

जिल्ला शिक्षा अधिकारी दोलराज पाण्डेले जिल्लाका स्थानीय तहलाई पाठ्यपुस्तक र छात्रवृत्तिको रकम तत्काल निकासा दिन आग्रह गरेका छन ।