भारतीय लोकसभा निर्वाचनको कारण महोत्तरीका सीमानाका बन्द

सवारी र मानिसको आवतजावतमा रोक

महोत्तरी । महोत्तरी जिल्लासँग जोडिएका ११ सीमाना नाकाहरुमा आज बिहान देखि भारतमा भइरहेको लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै सिल गरिएको छ ।

आज बिहान ५ बजेदेखि भोलि साँझ ५ बजेसम्मका लागि महोत्तरीका सीमानामा सिल गरिएको हो । भारतको बिहार राज्यको विभिन्न लोकसभा सिटमा भोलि निर्वाचन हुन लागेको छ ।

महोत्तरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले भारतीय निर्वाचनको समयमा सीमा सिल गर्नुका साथै अन्य घटनाहरु समेत हुन सक्ने भन्दै उच्च सतर्कता अपनाइएको बताए ।

उनका अनुसार भारतको विहार राज्यको सीतामढी मधुबनी जिल्लासँग सीमा जोडिएका महोत्तरीका ११ वटै नाकामा सिल गरिएको छ । अहिले सीमानाकामा नेपाल–भारत दुवैतर्फ उल्लेख्य रुपमा सुरक्षाकर्मी परिचालन भएका छन ।

त्यहाँ अत्यावश्यक सेवा बाहेकका अन्य सवारी र मानिसको आवतजावतमा रोक लगाइएको छ भने सीमा क्षेत्रको नेपाली बजारमा मदिरा पदार्थको बेचबिखनमा पनि रोक लगाइएको प्रहरीले बताएको छ ।