प्रधानमन्त्री ओलीको स्पष्टिकरणः ‘आलोचना गर्ने छुट छ, तर हामी काम गरेर देखाउँछौं’

सुशासन र सवृद्धिमा मुख्य जोडः भ्रष्टहरुलाई कारबाही

काठमाडौं । शुक्रबार संसद सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भएसँगै पत्रपत्रिका, सामाजिक सञ्जालहरुमा र खुला कार्यक्रममा नागरिकदेखि सत्ताँरुढ दलकै विभिन्न तहका नेता, कार्यकर्ताहरुले आलोचना गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली आफैले त्यसलाई प्रष्ट्याउने कोशिस गरेका छन ।

सदनको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रमबारे बाहिर उठेका प्रश्न र सम्भावनाहरुको विषयमा प्रधानमन्त्री ओलीले हिजो (शनिवार) विभिन्न सञ्चारमाध्यमका सम्पादक, प्रकाशक र प्रतिनिधिहरुसँग छलफल गर्दै आलोचनाको स्पष्टिकरण दिएका हुन ।

प्रधानमन्त्री ओलीले राष्ट्रपतिको सम्बोधनका क्रममा आएको ‘मेरो सरकार’ लाई अनौठो मान्नु नहुने तर्क गरेका छन ।

उनले भने–‘मेरो देश, मेरो राष्ट्रिय गान भन्नु के अरुको चैँ होइन भनेको हो त ? देशको प्रमुखले त्यसो भन्नु कुनै अनौठो कुरा होइन, भारत तथा अरु देशमा पनि ‘माइ गभर्नमेन्ट’ भन्ने चलन छ ।’

राष्ट्रपति सबैभन्दा मर्यादित तथा सम्मानित पद भएकाले ‘मेरो सरकार’ भन्ने सामान्य अभ्यासलाई अनौठो मान्न नहुने उनको तर्क थियो ।

उनले भने–‘यस्तो सामान्य अभ्यासको विषयलाई समेत हामीले नबुझ्ने समय आयो भने त्यसको अर्थ आफैँले ल्याएको प्रणालीलाई नै हामीले नबुझेको जस्तो भो’

मुलुकमा भ्रष्टचार अन्त्य गर्न चाहेको भन्दै उनले भने–‘भ्रष्टाचार, अनियमितता, सुन तस्करी आदि पहिले नदेखिका समस्याको पनि हामीले पत्ता लगाएर कानूनी दायरामा ल्याएका छौं, विभिन्न अनियमितता पत्ता लगाएर कानूनी कारवाही प्रकृयामा जान्छ।’

कतिपय मानिसहरु सरकारको आलोचना मात्र गर्न बानी परेको भन्दै उनले भने–‘आलोचना मात्र गर्नु उचित होइन ।’

उनले बेरुजु देखिएको बारे प्रत्रकारको प्रश्नमा भने–‘सबै बेरुजु भ्रष्टाचार होइन, केही कानूनी, केही प्रक्रियागत अपर्याप्तताले समयमा फछ्र्यौट नभएर पनि भएको हुनसक्छ । सरकार भ्रष्टाचार रोक्न लागेको छ ।’

उनले बालुवाटार जग्गा बिक्रि गरेर खाएको भन्ने समाचारबारे भने–‘हामी जग्गा प्रकरणको पनि छानबिन गछौँ, विस्तारै तथ्य सतहमा आउँदैछन्, हामी राष्ट्रको सम्पत्ति हिनामिना भइरहन दिदैनौँ, यसलाई पनि कानूनी दायरामा ल्याउँछौँ ।’

उनले बाहिर बसेर आलोचना गर्ने छुट भएपनि सरकार भने त्यसको जवाफ काम गरेर देखाउँने ढंगले अघि बढेको बताए ।

उनले आलोचनाले सरकारलाई देश र जनताको पक्षमा काम गर्नबाट रोक्न नसक्ने भन्दै सरकार आफ्नो कार्यक्रम अनुसार अघि बढ्ने बताए ।

उनले सरकारको अगाडी यतिबेला मुलुकको सुशासन र विकासको मुद्धा मुख्य रुपमा रहेको भन्दै त्सलाई ठीक ढंगले अघि बढाउने प्रतिवद्धता समेत गरे । उनले भने–‘नेपाल उदीयमान राष्ट्रको रुपमा अगाडि आएको छ ।’

उनले देशमा शान्ति तथा सुव्यवस्था कायम गरी तथा कमजोर तथा अशक्तका अधिकार समेत सुनिश्चित गर्दै उनीहरुको क्षमता अभिवृद्धि गराउन नीति तथा कार्यक्रममा थुप्रै व्यवस्था समेटिएको समेत बताए ।

उनले नीति तथा कार्यक्रममा कृषि, उद्योग, व्यापार, पर्यटन, शिक्षा, स्वास्थ्य, पूर्वाधार तथा राष्ट्रिय गौरवका आयोजना आदिलाई कसरी अघि बढाउने भन्नेबारे स्पष्ट कुराहरु आएको भन्दै त्यसमा धेरै बाझिँनु आवश्यक नभएको बताए ।

उक्त छलफल कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा, पूर्व सभामुख सुवास नेम्वाङ, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा राजन भट्टृराई, प्रेस सल्लाहकार डा कुन्दन अर्याल र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चार माध्यमका प्रमुख तथा प्रतिनिधिहरु लगायतको बाक्लो उपस्थिति रहेको थियो ।