भारतको ओडिशामा शक्तिशाली समुद्री आँधी, जनजीवन प्रभावित: हेर्नुहोस्, नेपालमा प्रभावबारे यस्तो आयो सूचना

शनिबारसम्म मेघ गर्जन र हावाहुरी सहित बर्षा हुने

काठमाडौं । शुक्रवार बिहान भारतको तटवर्ती राज्य ओडिशाको स्थल क्षेत्रमा आएको शक्तिशाली समुद्री आँधीको प्रभाव नेपालमा समेत देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

भारतीय ओडिशा क्षेत्रमा आएको आँधीको प्रभाव नेपालमा समेत पर्ने सम्भावनाबारे आज बिहान मौसम पूर्वानुमान महाशाखाको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौचरनले एक सूचना सार्वजनिक गरेको हो ।

महाशाखाले भारतीय आँधीको प्रभावबाट शुक्रबार र शनिबार मुलुकको पूर्वी र मध्यका क्षेत्रहरुमा मेघ गर्जन, चट्टयांग, हावाहुरी सहित हल्का वा मध्यम वर्षा हुन सक्ने जनाएको छ ।

बङ्गालको खाडीमा आएको उक्त समुद्री आँधी झन्डै २०० किलोमिटर प्रतिघण्टाको वेगले अघि बढिरहेको र आँधीको प्रभावले त्यहाँ बिहानदेखि नै भारी वर्षा भैरहेको खबरहरु प्राप्त भैरहेका छन ।

फनीको सम्भावित क्षेत्रका झन्डै १० लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन । उक्त क्षेत्रमा बिहीवार रातिदेखि विमान दुईवटा ठूला बन्दरगाह, उडान र रेलसेवा, शैक्षिक संस्था, कलाकारखान लगात सबै बन्द भएका छन।

त्यहाँ जोखिमयुक्त क्षेत्रका मानिसहरुलाई सुरक्षित स्थानमा सार्नका लागि हजारौँ उद्धारकर्मीहरू परिचालित भएका छन । भारतीय जलसेनाले उद्धार र राहतकार्यका लागि सातवटा पानीजहाज, छवटा विमान र सातवटा हेलिकप्टर तयारी अवस्थामा राखेको छ।

त्यहाँको मौसम विभागले शनिवारबाट त्यहाँ फानीको वेग कम हुने अनुमान गरेको छ । अहिले त्यहाँको जनजीवन अत्यन्त प्रभावित बनेको बताइएको छ । त्यहाँ सुरक्षित रहनका लागि सूचना समेत आह्वान गरिएको छ ।

भारतीय क्षेत्रको आँधी र त्यसको नेपालमा प्रभावबारे मौसम पूर्वानुमान महाशाखाले जारी गरेको सूचना तल प्रतुत गरिएको छ । पूर्णपाठ….

जल तथा मौसम विज्ञान महाशाखा, गौचरन

अपडेटः चक्रवात “फानी”

मितिः २०७६/१/२० गते शुक्रबार, ०८ः३० बजे

चक्रवात “फानी” हाल बंगालको खाडीमा ओडिसा को तटीय क्षेत्र नजिकै अवस्थित छ, आज (शुक्रबार) बाट यो प्रणाली भारतको ओड़ीसा को तटीय क्षेत्रमा मध्यान्हतिर भित्रिने (Landfall) सम्भावना देखिन्छ । (Landfall)  पश्चात यो प्रणाली फेरी उत्तर(पूर्व दिशातर्फ जाने क्रममा कमजोर बन्दै जाने छ ।

उक्त चक्रवात नेपाल तर्फ आउने सम्भावना अहिले सम्म नदेखिएता पनि यसको प्रभावबाट नेपालको पूर्वी र मध्य क्षेत्रमा आज (शुक्रबार) र भोलि (शनिबार) मौसम प्रभावित भइ पूर्वी र मध्यका स्थानहरुमा मेघ गर्जनरचट्टयांग तथा हावाहुरी सहित हल्का देखि मध्यम वर्षा हुन सक्ने तथा एक दुई स्थानमा भारी वर्षा हुनसक्ने सम्भावना रहको छ भने हिमाली भूभागमा पनि मध्यम देखि भारी हिमपातको सम्भावना रहेको देखिन्छ ।

साथै देशको पश्चिमी क्षेत्रमा आज (शुक्रबार) पश्चिमी वायुको प्रभाव रहने हुँदा केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा को सम्भावना देखिन्छ र हिमाली भू भागमा पनि हिमपात को सम्भावना रहेको छ । आइतबार देखि देशभर मौसममा क्रमिक रुपमा सुधार आउने सम्भावना छ ।