प्रेसमाथिको दमन रोक्न माग राख्दै पाँच पत्रकार संघसंगठनहरु आन्दोलनमा उत्रिए (विज्ञप्तिसहित)

महासंघको आन्दोलनमा एक्यवद्धता

काठमाडौं । पछिल्लो समयमा सरकार पक्षबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको कुण्ठित गराउने खेल चलिरहेको भन्दै ५ पत्रकार संघ संगठनहरु एकजुट भई दबाबमूलक आन्दोलन गर्ने भएका छन् ।

काठमाडौंमा आज भएको पत्रकार सम्बद्ध ५ संघसंगठनहरुको संयुक्त बैठकले त्यस्तो निर्णय गरेको हो । बैठकले पछिल्लो समय सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता प्रति अनुदार हुदै गएको निष्कर्ष निकालेको छ ।

बैठकले राज्यको प्रेस विरोधी कदमका विरुद्धमा दबाबमूलक अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । पाँच पत्रकार संगठनहरुले आज जारी गरेको संयुक्त प्रेस विज्ञप्तिमा आन्दोलनको तयारीबारे जनाइएको छ ।

क्रान्तिकारी पत्रकार महासंघ, जनपत्रकार संगठन नेपाल, प्रगतिशील पत्रकार संघ, प्रेस सोसाइटी नेपाल र मधेसी पत्रकार समाजको सयुक्त बैठक बसेको थियो ।

बैठकमा क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष ईन्द्र राउत, जनपत्रकार संगठन नेपालका अध्यक्ष प्रकाश डुम्रे, प्रगतिशील पत्रकार संघका अध्यक्ष नारायण शर्मा, मधेसी पत्रकार समाजका अध्यक्ष मोहन सिंह, प्रेस शोसाइटी नेपालका कार्यवाहक संयोजक केशव अर्याल लगाएतको सहभागिता रहेका थिए।

उक्त बैठकले नेपाल पत्रकार महासंघले अघिसारेको आन्दोलन प्रति एक्यवद्धता जनाउँदै महासंघको भुमिका बढाउन अनुरोध गर्ने निर्णय समेत गरेको बताइएको छ ।

बैठकले राज्यले देशभरका पत्रकारहरुमाथि गरेको धरपकड र गिरफ्तारी र दमनको विरोध गर्दै त्यस्ता हर्कत तत्काल रोक्न माग गरेको छ ।

साथै बैठकले बिना कारण हिरासतमा राखिएका पत्रकारहरुलाइ अविलम्ब रिहाइ गर्नुपर्ने भन्दै त्यसका लागि संघर्षको तयारी गर्ने निर्णय अघि सारेको छ । संयुक्त विज्ञप्तिको पूर्णपाठ यस्तो छ …

संयुक्त प्रेस वक्तव्य

देशमा पछिल्लो समय प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि सरकारले अनुदारवादी व्यवहार देखाउँदै आएको र आस्थाकै आधारमा पत्रकारहरुप्रति धरपकड बढाएकोप्रति हाम्रो गमभीर ध्यानाकर्षण भएको छ । सरकारले स्वतन्त्र प्रेस विरोधी चरित्र प्रदर्शन गरिरहेको र श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन प्रभावकारी रुपमा नगरेको सन्दर्भमा आज मिति २०७६ वैशाख १७ गते निम्न पत्रकार संगठनहरुको संयुक्त बैठक बस्यो । बैठकले गरेका निर्णयहरुको सार्वजनिक जानकारीका लागि यो संयुक्त वकतव्य जारी गरेका छौं ।

१) हामी संविधान प्रदत्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सम्बन्धी अधिकारलाई नियन्त्रण गरी बनाइएको सबै ऐन, कानुन खारेजीको माग गर्दछौं । समाचार लेखेकै कारण आस्थाका आधारमा पत्रकारहरुको गैरन्यायीक गिरफ्तारीको हामी जोडदार विरोध गर्दै हिरासतमा रहेका पत्रकारहरुको विनाशर्त रिहाईको माग गर्दछौं । यस विषयमा नेपाल पत्रकार महासंघको जारी आन्दोलनप्रति एक्यवद्धता जनाउँदै यसलाई थप प्रभावकारी बनाउन विशेष आग्रह गर्दछौं ।

२) श्रमजीवी पत्रकार ऐनको प्रभावकारी कार्यान्वयन गर्न माग गर्दछौं । सो ऐनको कार्यान्वयनका सम्बन्धमा स्वरोजगारमूलक र पछाडि पारिएका समुदाय, भाषाभाषीको आवाज उठ्ने सञ्चार माध्यमका निम्ति उपयुक्त विधि बनाएर सहुलियत दिन सरकारसँग माग गर्दछौं।

३) नागरिक अधिकार, प्रेस तथा अभिव्यकत स्वतन्त्रताको पक्षमा निरन्तर खबदारी र वहसको आवश्यकता देखिएकाले त्यसका निम्ति हामी बीचमा सहकार्य गर्दै जाने समझदारी भएको छ । साथै पत्रकारिता क्षेत्रमा क्रियाशिल अन्य संघ संगठनहरुसँग समेत सहकार्यका लागि पहल गर्ने निर्णय गरेका छौं ।

१) क्रान्तिकारी पत्रकार महसंघ अध्यक्ष- इन्द्र राउत
२) जनपत्रकार संगठन नेपालका अध्यक्ष-  प्रकाश डुम्रे
३) प्रगतिशील पत्रकार संघका अध्यक्ष- नारायण शर्मा
४) मधेसी पत्रकार समाजका अध्यक्ष-  मोहन सिंह
५) प्रेस शोसाइटी नेपालका का. संयोजक-  केशव अर्याल

मितिः १७ वैशाख २०७६