दुई नम्बर प्रदेशका आर्थिक मामिलामन्त्री यादव समाजवादी फोरमको प्रदेश अध्यक्षमा निर्वाचित

प्रतिद्धन्द्धी रेणु यादव ३७ मतले पछि परिन

सिरहा । दुई नम्बर प्रदेशका आर्थिक मामिलामन्त्री बिजय यादव संघीय समाजवादी फोरम नेपालको २ नँबर प्रदेश अध्यक्षमा कडा प्रतिस्पर्धाबीच निर्वाचित भएका छ्न।

फोरमको आइतबार शुरु भएको प्रदेश अधिवेशनमा सर्वसम्मति नहुँदा सोमवार निर्वाचन भएको थियो । सोमबार राति सम्पन्न अधिवेशनबाट यादव प्रदेश अध्यक्षमा निर्वाचित भएका हुन् ।

प्रदेश अध्यक्षमा निर्वाचित यादव फोरमका केन्द्रीय कोषाध्यक्ष समेत हुन् । उनको प्रतिस्प्रर्धा पार्टीका केन्द्रीय उपाध्यक्ष रेणु यादवसँग भएको थियो । उनी ३७ मतले रेणुलाई पछि पार्दै निर्वाचित भएका हुन ।

उनले १ सय ८४ मत ल्याए भने उनका निकटम प्रतिद्धन्द्धी रेणु यादवले १ सय ४७ मत ल्याएकी थिइन् । प्रदेश समितिको निर्वाचनमा ४ सय ५ जना मतदाता रहेका थिए ।

प्रतिद्धन्द्धी रेणु यसअघि प्रदेश दुईको अध्यक्ष थिइन् । अध्यक्षका लागि साँसद अशोक यादबले पनि उम्मेदवारी दिएका थिए । अशोक यादव प्रदेशसभाका सदस्य हुन् भने फोरमका प्रदेश समिति सदस्य पनि हुन् ।

तीनजनाको बीचमा चुनाव भएपनि रेणु यादव र विजय यादवको बीचमा कडा प्रतिस्पर्धा रहेको थियो । नयाँ विधान अनुसार प्रदेशको ५१ सदस्यीय समिति मध्ये ४१ जनाका लागि निर्वाचन भएको थियो ।

निर्वाचन समितिका अनुसार २ सय जनाले प्रदेश सदस्यमा उम्मेदवारी दर्ता गराएका थिए । अध्यक्ष र सदस्यको निर्वाचन भएपछि समितिको बैठकले तीन जना उपाध्यक्ष, एकजना महासचिव, एक जना सचिव र एक जना कोषाध्यक्षसहितका १० पदाधिकारी चयन गर्ने बताइएको छ ।

स्थानीयवासी र फोरमका नेता, कार्यकर्ताहरुले निर्वाचित यादबलाई भव्य स्वागत गरेका छन । मुख्यमन्त्री लालबाबु राउतले उनलाई सफल कार्यकालको शुभकामना सहित बधाई ज्ञापन गरेका छन ।