उमेरको बढ्दो अन्तरः संसारमा नातिनातिनीभन्दा बाजेबजै धेरै, यस्ले पार्ने असरहरु यस्ता छन…

२०२४ सम्म विश्वको जनसङ्ख्या ८ अर्ब पुग्ने अनुमान

काठमाडौं । इतिहासमा पहिलो पटक विश्वमा बच्चाहरूको भन्दा वृद्धहरूको जनसङ्ख्या धेरै हुन पुगेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ।

सन् २०१८ को अन्त्यमा पाँच वर्षमुनिका बच्चाहरूको जनसङ्ख्या भन्दा ६५ वर्ष माथिका वृद्धको सङ्ख्या धेरै भएको जनाइएको छ।

अहिले संसारमा ६५ वर्षभन्दा माथिका ७० करोड ५० लाख मानिसहरू छन् भने चार वर्षसम्मका बच्चाको सङ्ख्या ६८ करोड रहेको छ।

यही प्रवृत्ति कायम रहने हो भने सन् २०५० सम्ममा यो अन्तर झन् बढ्दै जानेछ। त्यतिबेला भर्खर जन्मेदेखि चार वर्ष उमेर समूहको एक व्यक्ति बराबार दुई जनाभन्दा बढी ६५ वर्ष माथिका व्यक्तिहरू हुनेछन् ।

जनसङ्ख्याविद्‌हरूले दशकौँ देखि राख्दै आएको अभिलेखले एउटा प्रवृत्ति देखाउँछ । सबैजसो मुलुकमा हाम्रो बाँच्ने उमेर लम्बिँदै गएको र आवश्यक सङ्ख्यामा बच्चा जन्माउन छोडेको त्यसले देखाएको छ ।

वाशिङ्टन विश्वविद्यालयमा स्वास्थ्यसम्बन्धी तथ्याङ्कहरू विश्लेषण गर्ने निकायका निर्देशक क्रिस्टोफर मुरेले भने, अब निकै कम बच्चाहरू हुनेछन् ।

उनले भने–धेरै मानिसहरू ६५ वर्ष माथिका हुनेछन् जसले विश्वव्यापी रूपमै सामाजिक कठिनाइ उत्पन्न हुनेछ। सन् २०१८ मा प्रकाशित उनको एउटा लेखमा संसारका आधा जति मुलुकले बच्चा कम हुने समस्या भोगेको बताइएको थियो।

यसको अर्थ हुन्छ जनसङ्ख्या स्थिर कायम राख्न आवश्यक बालबच्चा कम भएका छन्। उनी भन्छन् नातिनातिनीभन्दा बाजेबजै धेरै भएको समाजको सामाजिक र आर्थिक प्रभावबारे एकपटक विचार गरौँ न।

विश्व ब्याङ्कका अनुसार सन् १९६० मा एक महिलाले सरदर पाँच बच्चा जन्माउँथिन्। झन्डै ६० वर्षपछि अहिले त्यो आधामा पुगेको छ । अहिले एक महिलाको भागमा सरदर २.४ बच्चा पर्छन्।

यसै समयावधिमा आर्थिक सामाजिक विकासका कारण यो संसारमा जन्मने मानिसहरूले निकै फाइदा पाएका छन्। सन् १९६० मा मानिसहरूको औसत उमेर ५२ वर्ष भन्दा केही बढी थियो जबकि सन् २०१७ मा त्यो औसत उमेर ७२ वर्ष पुगेको छ।

त्यसको अर्थ हामी सबैको उमेर लम्बिएको छ र जति बूढो भयो त्यति बढी स्रोत उपयोगको माग बढ्दै गएको छ। उदाहरणका लागि पेन्सन र स्वास्थ्य प्रणालीमा बूढाबूढी धेरै भएका कारण दबाव बढ्दो छ।

जन्मदर अझ कम छ र त्यो आर्थिक सम्पन्नतासँग जोडिएको छ। बालमृत्युदर कम छ र जन्म नियन्त्रण गर्ने उपायमाथि सजिलो पहुँच छ। बच्चा हुर्काउने काम तुलनात्मक रूपमा महँगो हुन सक्ने धेरैको बुझाइ छ ।

त्यस्ता मुलुकहरूमा महिलाहरू अलि परिपक्व उमेर भएपछि बच्चा जन्माउँछन् त्यसैले बच्चा पनि थोरै मात्र जन्माउँछन्। जापानमा जन्मदर घटेको छ तर ६५ वर्ष माथिका मानिसहरूको सङ्ख्या एकतिहाइ पुगिसकेको छ ।

जीवनको गुणस्तर राम्रो हुनुको अर्थ यी देशहरूमा मानिसहरू लामो उमेरसम्म बाँच्छन्। एउटा प्रमुख उदाहरण जापान हो जहाँ औसत उमेर ८४ छ। यो संसारको सबभन्दा ठूलो राष्ट्रिय औसत सङ्ख्या हो।

सन् २०१८ मा ६५ वर्ष माथिका मानिसहरूको सङ्ख्या जापानमा २७ प्रतिशत थियो जुन विश्वकै सबभन्दा ठूलो सङ्ख्या हो।

जापनमा पाँच वर्ष मुनिको जनसङ्ख्याको अनुपात कस्तो छ । संयुक्त राष्ट्र सङ्घका अनुसार कुल जनसङ्ख्याको जम्मा ३.८५ प्रतिशत मात्रै हो। यो दोहोरो चुनौतीले जापानी अधिकारीहरू दशकौँदेखि पिरोलिएका छन्।

गत वर्ष सरकारले अवकाश लिने उमेर ६५ बाट बढाएर ७० वर्ष घोषणा गरेको छ। यो यदि कार्यान्वयनमा आयो भने जापानमा कामदारहरू संसारभरिमै सबभन्दा उच्च उमेरमा अवकाश लिनेमा पर्नेछन्।

असन्तुलित जनसङ्ख्याले विकासोन्मुख मुलुकहरूलाई पनि खतरामा पार्दैछ। चीनमा ६५ वर्ष माथिका मानिसको जनसङ्ख्या जापानको तुलनामा कम छ । अर्थात् जम्मा १०.६ प्रतिशत।

सन् १९७० मा कार्यान्वयनमा ल्याइएको बच्चाको जन्मनियन्त्रण कार्यक्रमका कारण त्यहाँका महिलाहरूको प्रजनन दर पनि कम नै छ । अर्थात् १.६ बच्चा प्रति महिला। पाँच वर्षमुनिका बच्चाको सङ्ख्या कुल जनसङख्याको छ प्रतिशत मात्र छ।

अफ्रिकी मुलुकहरूमा संसारमै उच्च जन्मदर छ तर बालमृत्युदर पनि उच्च नै छ। बच्चाहरूको सङ्ख्या र जीवनको गुणस्तर पनि उस्तै छ । अफ्रिकी मुलुकहरू जन्मदरको सन्दर्भमा गुणस्तर र सङ्ख्याबीच रहेको अन्योलका राम्रा उदाहरण हुन्।

त्यहाँ उच्च जन्मदर छ। उदाहरणका लागि नीजेरमा सन् २०१७ मा प्रतिमहिला बालजन्मदर ७.२ छ। तसर्थ यसलाई विश्वको सबैभन्दा उर्वर मुलुक मान्न सकिन्छ।

तर यही मुलुकमा सबैभन्दा उच्च बालमृत्युदर पनि छ । नीजेरमा जन्मिएका १००० बच्चामध्ये ८५ को मृत्यु हुने गरेको छ । थुप्रै मुलुकहरूमा जनसङ्ख्या स्थिर राख्न आवश्यक सङ्ख्या २.१ भन्दा कम जन्मदर रहेको छ ।

जनसङ्ख्याको हिसाबले २.१ विशेष अङ्क हो। जनसङ्ख्याविद्‌हरूका अनुसार जनसङ्ख्या स्थिर राख्नका लागि जन्मदर २.१ कायम हुनुपर्छ।

तर संयुक्त राष्ट्र सङ्घको सबैभन्दा पछिल्लो तथ्याङ्कले संसारका आधाभन्दा केही बढी अर्थात् ११३ मुलुकले मात्रै त्यो जन्मदर कायम राखेका छन्।

अनुसन्धानकर्ताहरूले उच्च बालमृत्युदर भएका र कम औसत आयु भएका देशहरूमा जन्म दर २.३ आवश्यक पर्ने र अहिले त्यस्तो दर ९९ देशमा मात्र रहेको बताइन्छ।

यसरी जन्मदर घटेपछि धेरै मुलुकहरूको जनसङ्ख्या उल्लेख्य रूपमा घट्दै जानेछ। त्यसो भएपनि संसारको जनसङ्ख्या भने बढ्दै जानेछ जुन सन् २०२४ सम्ममा आठ अर्ब पुग्ने अनुमान गरिएको छ।

नराम्रो जन्मदर भएको मुलुकमध्ये रुस पनि एक हो। प्रतिमहिला जम्मा १.७५ मात्र जन्मदर भएकाले त्यहाँको जनसङ्ख्या आउँदा दशकमा निकै घट्ने ठानिएको छ।

संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या निकायले अहिलेको अवस्था कायम रहिरहे सन् २०५० सम्ममा रुसी जनसङ्ख्या १४ करोड ३० लाखबाट घटेर १३ करोड २० लाखमा पुग्ने अनुमान लगाएको छ।

घट्दो जन्मदर र वृद्धवृद्धाको बढ्दो सङ्ख्या हुनुको अर्थ काम गर्न सक्ने मानिसहरूको सङ्ख्या कम हुनु हो। यसबाट आर्थिक उत्पादकत्व घट्नेछ जसले अन्तत आर्थिक वृद्धिदरलाई नकारात्मक असर पार्नेछ।

गत नोभेम्बर महिनामा अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले आगामी ४० वर्षमा जापानको बढ्दो वृद्धहरूको सङ्ख्याका कारण जापानको अर्थतन्त्र २५ प्रतिशत भन्दा बढीले खुम्चिन सक्ने चेतावनी दिएको छ।

जनसङ्ख्याले हाम्रो जीवनको हरेक पक्षलाई असर गर्नेछ। आफ्नो घरको झ्यालबाट सडकमा हिँडिरहेका मानिसहरू, घर, ट्राफिक, उपभोग हेर्दा सबै नै जनसङ्ख्याबाटै परिचालित देखिन्छन्, अक्सफोर्ड इन्स्टिट्युट अफ पपुलेशन एजिङका जर्ज लिसनले बताए ।

एउटा कुरामा भने सर्वसम्मति छ । वृद्ध जनसङ्ख्याको टाइम बमलाई सरकारहरूले निष्क्रिया पार्नुपर्नेछ र उनीहरूले त्यो प्रयत्न गरिरहेका पनि छन्। चीनले उसको एक बच्चा नीति सन् २०१५ मा समीक्षा गरेर परिवर्तन गर्यो ।

सन् २०१८ मा अर्को वर्ष सम्ममा जन्मदरमा लगाइएको प्रतिबन्ध नै अन्त्य गर्ने सङ्केत गरेको छ। राज्यद्वारा सञ्चालित पत्रिका द पीपल्ज डेलीमा प्रकाशित एउटा लेखमा बच्चा जन्माउनु परिवार र राष्ट्र दुवैको चासोको विषय भएको उल्लेख छ।

चीनमा बच्चा जन्माउनमा लगाइएको कडाइ खुकुलो गरेर खासै समस्या समाधान भने भएको छैन। सन् २०१८ मा चीनमा १५ करोड दुई लाख जन्म भएको छ जुन ६० वर्षमा पहिलोपटक सबभन्दा न्यून सङ्ख्या हो।

चिनियाँ प्राज्ञहरूले जन्मदर घट्नुको कारण प्रजनन गर्न सक्ने महिलाको सङ्ख्या घट्नु र परिवारहरूले आर्थिक अवस्थाका कारण बच्चा जन्माउने योजना स्थगित गर्नु र पढेलेखेका महिलाहरूले परम्परागत रूपमा महिलाहरूले गर्दै आएको स्याहारसुसारको जिम्मा लिन मन नगर्नु आदि हुनसक्ने बताएका छन्।

जनसङ्ख्याविद्‌हरू वृद्ध बन्दै जाने जनसङ्ख्याको प्रभाव कम गर्न वृद्धहरूको स्वास्थ्य क्षेत्रमा काम गर्ने नीतिहरूले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने हुन्छ भन्छन्।

यसको मुख्य तर्क हो । मानिसहरू स्वस्थ्य रहे भने उनीहरू लामो समयसम्म र सशक्त भएर काम गर्न सक्छन् जसले गर्दा स्वास्थ्य सेवाको मूल्य कम हुन सक्छ।

तर विश्वव्यापी रूपमा हेर्दा महिलाहरूको श्रम बजारमा उपलब्धता ४८.५ प्रतिशत रहेको छ जुन पुरुषहरूको तुलनामा २५ प्रतिशतले कम हो।

महिलाहरूको कार्यक्षेत्रमा सङ्ख्या धेरै भएको अर्थतन्त्रमा वृद्धिदर खस्कने कम देखिएको छ। महिला कामदारहरू धेरै भएका ठाउँमा आर्थिक सङ्कट परेका बेला पनि अर्थतन्त्र धरमराउँदैन।

धेरै महिलाहरू काममा भएका ठाउँमा उनीहरू गरिबी कम गर्ने सशक्त माध्यम पनि हुन पुग्छन्, आईएलओका अर्थशास्त्री एकहर्ड अर्न्स्टको भनाइ छ। तर समय घर्कँदैछ। बीबीसीबाट