नागरिकता विधेयक विरुद्ध चर्कियो आन्दोलनः जल्यो गृहमन्त्रालयको परिपत्र

प्रहरी र प्रदर्शनकारीबीच झडपः केही घाईते

काठमाडौं । सरकारले जन्मसिद्ध नागिरकका सन्तानलाई वंशजको आधारमा नागरिकता दिन भन्दै पछिल्लो अवस्थामा जारी गरेको परिपत्र देश र जनताका विरुद्ध भएको भन्दै आन्दोलनरत समूहले काठमाडौंमा आज दिउँस प्रहरीकै अगाडी जलाएको छ ।

नागरिकता विधेयक विरुद्ध संघर्ष समन्वयन समितिले आज आयोजना गरेको विरोध कार्यक्रममा सहभागिहरुले गृहमन्त्रालयले गत चैत्र १९ गते जारी गरेको उक्त परिपत्र जलाएका हुन ।

आन्दोलनरत समूहले संसदमा लगिएको नागरिकता सम्बन्धी विधेयक राष्ट्रघाती रहेको भन्दै चर्को विरोध जनाए ।

सरकारले ल्याउन लागेको नागरिकता सम्बन्धी विधेयकले अंगिकृत नागरिकलाई समेत वंशजको नागरिकता दिने व्यवस्था गरेको र त्यसले मुलुकमा ग्रैह नागरिकता लिनेहरुलाई प्रोत्साहन गरेको भन्दै उनीहरुले त्यसको कार्यान्वयन रोक्न माग समेत गरेका छन ।

आन्दोलनकारीहरुले सरकारले ल्याउन लागेको विधेयककोे विरोधमा दिउँस माइतीघर मण्डला चोकमा प्रदर्शनको तयारी गरिरहेको त्यहाँबाट र्याली नयाँ वानेश्वरचोकतर्फ जाने क्रममा प्रहरीसँग झडप समेत भएको छ ।

वानेश्वर चोकतर्फ अघि बढ्न खोजेका आन्दोलनकारीहरुलाई प्रहरीले निषेधित क्षेत्र भन्दै अघि बढ्न रोकेपछि दुई समूहबीच केहीबेर दोहोरो झडप भएको थियो 

आक्रोशित आन्दोलनरत समूहका युवाहरुले नागरिकता सम्बन्धी परिपत्र लेखिएको पम्प्लेटहरु जलाएका थिए ।

दुई समूहबीचको झडपका कारण केही आन्दोलनकारी र प्रहरीलाई सामान्य चोट समेत लागेको छ ।

आन्दोलनरत समूहका अगुवाहरुलाई प्रहरीले नियन्त्रणमा लिन खोजेपछि झडप केहीबेर लम्बिएको थियो ।

निषेधित क्षेत्रतर्फ प्रहरीले अघि बढ्न नदिएपछि आन्दोलनरत समूहले नायाँ वानेश्वर चोकमा कोण सभा गरेको थियो । उक्त सभालाई आयोजक समूहका नेताहरुले सम्बोधन गरेका थिए ।

सभाका वक्ताहरुले राष्ट्रघाती नागरिकता सम्बन्धी विधेयक खारेजी गर्न सरकारसँग माग गरेका छन ।

उनीहरुले मुलुकमा आप्रवासी नागरिकलाई वशंजको नागरिकता दिएमा गम्भिर संकट आउने भन्दै त्यसमा राज्यलाई ध्यान दिन खबदारी समेत गरे ।

उनीहरुले नागरिकताको विषयलाई हचुवाको भरमा निर्णय नगर्न भन्दै राज्यलाई सचेत बनाएका छन ।

उनीहरुले राष्ट्रघाती नागरिकता विधेयक लागु गर्न खोजेमा सशक्त आन्दोलन गर्ने चेतावनी समेत दिएका छन ।

उक्त विरोध कार्यक्रममा दर्जनौं राजनैतिक दल, संघसस्था र सामाजिक अभियन्ताहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रम वानेश्वरमा कोणसभापछि समापन भयो ।