शिक्षा नीतिमा परिवर्तन नभएसम्म समृद्ध नेपालः सुखी नेपालीको सपना पूरा हुन्नः प्रचण्ड

निर्वाचनमा जनतासँग गरेको प्रतिबद्धता पुरा गर्ने विश्वास

ललितपुर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समृद्ध नेपाल र सुखी नेपालीको सपना पूरा गर्नका लागि शिक्षामा लगानी बढाउँदै पूर्वाधारहरुको विकास र गुणस्तरियतामा ध्यान दिनुपर्ने बताएका छन ।

आज ललितपुर स्थित सिद्धिमङ्गल माध्यमिक विद्यालयको ६३ औँ वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा गरिएको नयाँ भवन हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले त्यस्तो बताएका हुन।

उनले सैद्धान्तिक शिक्षा प्रणलीमा सुधार गर्दै व्यवहारिक, प्राविधिक, वैज्ञानिक तथा जीवन उपयोगी शिक्षा नीति लागु गरेर मात्र मुलुकमा जनअपेक्षा अनुसारको परिवर्तन गर्न सकिने बताए ।

उनले शिक्षा नीतिले मुलुकको समग्र व्यवस्थामा प्रभाव पार्ने बताउँदै त्यसमा परिवर्तन गर्न नसकेमा समृद्ध नेपाल र सुखी नेपालीको सपना पुरा हुन नसक्ने तर्क गरे ।

त्यहि अनुसार सरकारले सैद्धान्तिक शिक्षाको अनुपातलाई कम गर्दै व्यवहारीक शिक्षा नीतिमा जोड दिदै आएको उनको भनाई छ ।

शिक्षामा आमुल परिवर्तन गर्ने उद्देश्यले संसदबाट नयाँ विद्येयक समेत प्रस्तुत भएको भन्दै त्यसले केही बर्षभित्र मुलुकमा नयाँ तरंग ल्याउने उनले विश्वास व्यक्त गरे ।

शिक्षाले बेरोजगार नागरिक होइन, सवल र राष्ट्र निर्माता शक्तिको उत्पादन गर्नुपर्ने उनले बताए । मुलुक समृद्धिको सपना साकार पार्नका लागि व्यवहारीक किसिमको शिक्षा नीति बनाउनमा आफूहरु केन्द्रित भएको उनले बताए ।

उनले भने–‘अब बेरोजगार पैदा गर्ने शिक्षा नीति होइन रोजगार पैदा गर्ने शिक्षा नीति ल्याउँन जरुरी छ, हामीले त्यसमा ध्यान दिएका छौं ।’

उनले आउने चार वर्षमा निर्वाचनको बेला आफुहरुले नेपाली जनताका अगाडि गरेको संकल्प र प्रतिबद्धता पुरा गर्न सकिने विश्वास समेत व्यक्त गरे ।

उनले भने–‘जनताले जुन भरोसा गरेर मत दिएका छन्, त्यसलाई गति दिने जिम्मेवारी हाम्रो काँधमा छ । त्यो पुरा गछौं, सम्भव छ ।’