विप्लव नेकपाका नेता सुदर्शनलाई पुर्पक्षका लागि थुनामा राख्न अदालतको आदेश

पक्राउ परेका ६ जनालाई नक्खु कारागार चलान

ललितपुर । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली सुदर्शन लगाएत ६ जना नेताहरुलाई जिल्ला अदालत ललितपुरले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

साथमा हातहतियार राखेको र एनसेलको टावरमा बम विस्फोटमा जोडिएको भन्दै अनुसन्धान प्रहरीद्धारा गत चैत्र ९ गते काभ्रेबाट पक्राउ परेका नेता सुदर्शन सहितलाई आज अदालतले थुनामा राख्न भन्दै त्यस्तो आदेश दिएको हो ।

अदालतको आदेशपछि नेता सुदर्शन सहित पक्राउ परेका ६ जनालाई नक्खु कारागार चलान गर्ने तयारी भैरहेको बुझिएको छ ।

प्रहरीले नेता सुदर्शनको साथबाट पेस्तोल समेत फेला पारेको बताएपनि उक्त पार्टीका नेताहरुले भने सामाजिक सञ्जालहरु मार्फत त्यसलाई कपोकल्पीत र नियोजित सड्यन्त्र भन्दै आएका छन।

नेता सुदर्शनसँगै उक्त पार्टीका नेताहरु शिव धिमाल, दिकेन्द्र राई, रामकृष्ण खतिवडा, ईश्वर दमाई र वीरबहादुर कठायतलाई थुनामा राख्न अदालतले आदेश दिएको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाको विशेष ब्युरो र जिल्ला प्रहरी कार्यालय काभ्रेको प्रहरी टोलीले नेता सुदर्शनसहित विजय श्रेष्ठ, धर्म राजवाहक, रामकृष्ण खतिवडा, शङ्कर अधिकारी, ललित तामाङ, सञ्जीव कार्की, देव घिमिरे र लोकेन्द्र खड्कालाई पक्राउ गरेको थियो ।

निजी जिपमा काभ्रेबाट काठमाडौँ आउने क्रममा नेता सुदर्शनका साथै उनको साथमा रहेका अन्य नेताहरु पनि पक्राउ परेका थिए । उनलाई गत चैत २७ गते सर्वोच्चमा बयानका लागि उपस्थित गराइएको थियो ।