काबुलस्थित सूचना मन्त्रालयमा विस्फोटनः सात जनाको मृत्यु, आठ घाइते

तालिबान समूहद्धारा आक्रमणको जिम्मा

अफगानिस्तान । अफगानिस्तानको राजधानी काबुलस्थित सूचना मन्त्रालयमा सशस्त्र व्यक्तिहरूले आक्रमण गर्दा सात जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

शनिवार बिहान ११ः ४० बजे त्यहाँ विस्फोटन भएको सुनिएको थियो।विस्फोटनपछि दिउँसो अबेरसम्म फाट्टफुट्ट गोली चलेको सुनिएको बताइएको छ । आक्रमण भएपछि सयौँ व्यक्तिलाई सुरक्षित स्थानतर्फ सारिएको थियो ।

उक्त विस्फोटनको घटनालाई सरकारी पक्षले छ घण्टापछि नियन्त्रणमा आएको घोषणा गरेपनि त्यसबाट चार सर्वसाधारण र तीन प्रहरी अधिकारीहरूको मृत्यु भएको बताइएको छ। त्यस्तै आठजना सर्वसाधारण घाइते भएका छन्।

मन्त्रालय स्रोतका अनुसार तीन सशस्त्र व्यक्तिहरू सो आक्रमणमा संलग्न थिए। तीनमध्ये एक जना मन्त्रालयको भवनमा पस्न सफल भएको उनले बताए।

उनका अनुसार दोस्रो व्यक्तिले मन्त्रालयको परिसरको पर्खालमा विस्फोट गराएको र तेस्रो व्यक्तिलाई प्रहरीले गोली हानेको थियो।

तालिबान र अफगान सरकारका प्रतिनिधिहरूबीच वार्ता विफल भएको एक दिनपछि यो घटना भएको हो। राजधानीको व्यस्त क्षेत्रमा भएको आक्रमणपछि सयौँ सर्वसाधारणलाई उद्धार गरिएको मन्त्रालयले बताएको छ।

सो आक्रमण राष्ट्रपति निवास र ख्यातिप्राप्त होटलहरू भएको एउटा व्यस्त स्थाननजिकै भएको हो। उक्त क्षेत्रमा सेरेना होटल रहेको छ र त्यसलाई अतिसुरक्षित क्षेत्र मानिन्छ। उक्त होटलमा धेरै विदेशीहरू बस्ने गर्छन्।

अठारतले सूचना मन्त्रालयको उक्त भवनलाई काबुलका अग्ला भवनमध्येको एक मानिन्छ। आक्रमण भएपछि सो भवनमा झन्डै दुई हजार मानिसहरू घण्टौँसम्म अलपत्र परेको बताइन्छ। अन्ततः उनीहरूलाई बाहिर निकालियो।

एएफपी समाचारसंस्थाका अनुसार स्थानीय टीभीहरूले देखाएको दृश्यमा एउटा सानो धुवाँको मुस्लो निस्केको र तल्लो तहको झ्यालबाट मानिसहरू बाहिर निस्कन लागेको देखिएको थियो।

त्यस क्षेत्रलाई सुरक्षाकर्मीहरूले घेरेर राखेका थिए। महिनौँको शान्तिपश्चात् काबुलमा अहिले आक्रमण भएको हो। यो घटनाको जिम्मेवारी कसैले लिइसकेको छैन।

तर अमेरिका र तालिबानबीच अफगानिस्तानमा शान्तिप्रक्रिया सुरु गराउन थालिएको भनिएको वार्ताहरूबीच यो आक्रमण भएको छ। तालिबानका प्रवक्ता जबिउल्लाह मुजाहिदले आफ्नो सङ्गठन यो आक्रमणमा संलग्न भएको बताएका छन।

इस्लामिक स्टेट समूह अफगान शाखाले पनि शनिवारको आक्रमणबारे केही बोलेको छैन। यसअघि भएका आक्रमणहरूमा सो समूह संलग्न हुने गरेको थियो।

सशस्त्र तालिबान विद्रोहीका प्रतिनिधिहरू र दुई सय ५० अफगान राजनीतिज्ञहरूबीच शनिवार र आइतवार कतारको राजधानी दोहामा एउटा सम्मेलन हुने तय भएको थियो।

तर तालिबानले अफगान प्रतिनिधिमण्डलको आकार र उनीहरूको हैसियतबारे प्रश्न उठाउँदै बिहीवार अचानक उक्त सम्मेलन सहभागी नहुने घोषणा गर्‍यो।

एउटा वक्तव्यमा तालिबानले अफगान सरकारले उक्त सम्मेलन र शान्ति प्रक्रियालाई भङ्ग गरेको आरोप लगाएको छ।अमेरिका र तालिबानबीच अक्टोबर २०१८ देखि पाँच चोटि वार्ता भइसकेको छ।

उनीहरू अहिले छैटौँ चरणको वार्ताको बीचमा छन्। अफगानिस्तानबाट सोभियत सेना फर्किएपछि सन् १९९० को दशकमा पूर्वार्धमा एउटा कट्टरपन्थी धार्मिक अभियान सुरु भयो।

अधिकांश पश्तुन समुदायका व्यक्तिहरू संलग्न रहेको तालिबान अभियानबारे सन् १९९४ मा धेरैले थाहा पाए। साउदी अरबबाट आएको आर्थिक सहयोगमा सञ्चालित कट्टरपन्थी सुन्नी इस्लामबारे पढाइने विद्यालयहरूबाट सो अभियान सुरु भएको विश्वास धेरैको छ।

पश्तुनहरूको बाहुल्य भएको पाकिस्तान र अफगानिस्तानका क्षेत्रहरूमा शान्ति र सुरक्षा स्थापित गर्ने वाचासहित आफ्नै इस्लामिक कानुन अर्थात् शरिया कार्यान्वयन गर्ने तालिबानको उद्देश्य थियो।

तालिबानले दुवै देशमा हत्यारा र व्यभिचारीहरूलाई सार्वजनिक रूपमा मृत्युदण्ड दिन थाल्यो। चोरी गरेको प्रमाणित भए अङ्गभङ्गको दण्ड दिइन्थ्यो।

तालिबानको प्रभाव भएको क्षेत्रमा पुरुषले दाह्री पाल्नै पर्ने र महिलाले पूरै शरीर छोपिनेगरी बुर्का लगाउनै पर्ने बनाइयो।टीभी, चलचित्र र सङ्गीतमाथि प्रतिबन्ध लाग्यो।

१० वर्ष र त्यसभन्दा माथिका बालिकालाई विद्यालय जान दिइएन। दक्षिणपश्चिम अफगानिस्तानबाट सुरु भएको तालिबानले बिस्तारै आफ्नो प्रभाव विस्तार गर्यो।

सन् १९९५ को सेप्टेम्बर महिनामा तालिबानले इरानसँग सीमा जोडिएको हेरात प्रान्त आफ्नो नियन्त्रणमा लियो। त्यसको एक वर्षपछि देशको राजधानी काबुल तालिबानको नियन्त्रण पुग्यो।

राष्ट्रपति बुरानुद्दिन रब्बानीलाई हटाएर तालिबान देशको सत्तामा पुग्यो। सन् १९९८ सम्ममा अफगानिस्तानको ९० प्रतिशत भूभाग तालिबानको नियन्त्रणमा आइसकेको थियो।

सत्तामा पुगेको सो इस्लामिक कट्टरपन्थी समूहले सन् २००१ मा बामियानस्थित बुद्धका विशाल मूर्तिहरू भत्काइदिएको थियो।

तर न्यूयोर्कमा आक्रमण भएको एक महिनाभित्रै अक्टोबर ७, २००१ मा अमेरिकी नेतृत्वमा अफगानिस्तानमा सैन्य कारबाही सुरु भयो। डिसेम्बर महिनाको पहिलो हप्तामा तालिबान सत्ता धराशायी भयो। बीबीसीबाट