मुलुकमा सिक्किमिकरणको खतराः दलाल ब्यवस्था विरुद्ध आन्दोलन गर्ने चेतावनी

राज्यको नागरिकता नीति राष्ट्रघाती छः सीपी गजुरेल

काठमाडौं। नेकपा (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका केन्द्रीय अध्यक्ष सीपी गजुरेलले मुलुकमा संसदवादीहरुका कारण सिक्किमिकरणको खतरा बढेको भन्दै त्यसको सचेत, देशभक्त, प्रगतिशिल, क्रान्तिकारी शक्तिहरुले विरोध गर्नुपर्ने बताएका छन ।

शुक्रबार संवाद डबलीमा आयोजित ‘नागरिकता सम्बन्धी समस्या र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले त्यस्तो बताएका हुन ।

उनले वर्तमान सरकार दलाल, तस्कर, माफीयाकरणमा लिप्त रहेको भन्दै त्यसबाट मुलुकलाई जोगाउँन अर्को आन्दोलन गर्नको विकल्प नरहेको तर्क गरे 

नेता गजुरेलले मुलुकमा नक्कली कम्युनिस्टको सरकार भएपनि व्यवस्था भने पुरानै भएको तर्क गरे ।

उनले अहिलेको व्यवस्था दलाल पूजिवादी भएकाको भन्दै त्यसबाट आम नागरिकको अपेक्षा पुरा हुन नसक्ने ठोकुवा गरे ।

उनले वर्तमान व्यवस्थाको विरुद्ध सशक्त आन्दोलनका लागि तयार हुन देशभक्त शक्तिहरुलाई आह्वान समेत गरे ।

उनले वर्तमान सरकारले नागरिकता जस्तो संवेदनशील बिषयमा गम्भीर भएर सोच्नुको सट्टा हतारमा निर्णय गरेर देशलाई कमजोर बनाउने र सिक्किमिकरणतर्फ डोर्याउने काम गर्न लागेको भन्दै कडा आक्रोश समेत व्यक्त गरे ।

उनले भने–‘सरकारले पटक पटक लाखौं विदेशीलाई नेपाली नागरिकता गैरकानूनी ढंगबाट दिने काम गरेको छ । यसले मुलुकको राष्ट्रियतामा गम्भीर असर पार्छ । नागरिकताको विषयमा निर्णय गर्दा धेरै कुराहरुमा सोच्नु पर्छ ।’

उनले सरकारले नागरिकताबारे बनाएको नीति राष्ट्रघाती भएको भन्दै त्यसका विरुद्ध कडा अन्दोलन गर्ने चेतावनी समेत दिए ।

नेता गजुरेलले संसदमा नागरिकता सम्बन्धि विधेक विचाराधीन रहेकै अबस्थामा संसदीय सिस्टमको समेत उल्लङ्घन गरी ओली–प्रचण्डहरुले संसदीय व्यवस्थाकै उपहास गरेर नैतिकताहिन प्रदर्शन गरेको आरोप लगाए ।

सरकारले लाखौं भारतीय नागरिकहरुलाई नेपाली नागरिकता दिलाउने नीति अबलम्बन गरेको भन्दै उनले त्यस्तो नीतिले देशलाई सिक्किमिकरण र फिजीकरणतिर लग्ने संकेत देखिएको तर्क गरे ।

वर्तमान सरकारले पञ्चायतीकालिन व्यवस्थाको झल्को दिने गरी राजनीतिक दलमाथि प्रतिबन्ध लाउने जस्ता कामहरु गरेको भन्दै उनले विरोध समेत जनाए ।

उनले सरकारले सिके राउतलाई जेलबाट निकालेर अंगालो मार्ने र राजनीतिक मुद्धा लिएर अघि बढेको विप्लव समूहलाई प्रतिबन्ध लगाएर ठीक पार्ने नीति अघि बढाएको प्रति उनको आक्रोश थियो ।

सरकारको जनविरोधी तथा राष्ट्रघाती कदम विरुद्ध आन्दोलन गर्न आफुहरु विचार र एजेण्डा मिल्ने शक्तिहरुसित कार्यगत एकता गर्न लागेको समेत उनले जानकारी दिए ।

उक्त कार्यक्रममा नेकापा माओवादी केन्द्रका महासचिब कर्णजित बुढाथोकीले ओली सरकार वजनभावना अनुसार अघि बढ्न नसकेको भन्दै त्यसको विकल्प जनताले खोजि रहेको तर्क गरे ।

उनले भने-“वर्तमान सरकारको बलमिच्याँइले प्रदेशहरु कमजोर बन्ने खतरा देखियो, यसको विकल्प सोच्ने बेला आयो ।”

त्यसैगरी उक्त कार्यक्रममा नेपाली कांगे्रसका युवा नेता लोकेश ढकालले सरकारले दुइतिहाइको बलमा जनघाती कामहरु गरेको भन्दै आक्रोश व्यक्त गरे।

उनले सरकारले ल्याएको नागरिकता नीतिलले ग्रैह नागरिकलाई नागरिक बनाउने संकेत देखिएको समेत बताए ।

त्यस्तै सीमा, जल तथा नागरिकता विषयका जानकार समेत रहेका सामाजिक अभियन्ता नागरिकता जस्तो संवेदनशील विषयमा नेताहरुले बारम्बार राजनीतिक प्रभावका आधारमा निर्णय गर्नु मुलुकको अहितमा हुने बताए ।

उक्त कार्यक्रममा राजनीतिक दलका नेता, सामाजिक अगुवा, नागरिकता विषयका जानकार लगायत विद्यार्थी, युवा र पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रमले राज्यका गलत नीति निर्णयहरुको विरोधमा संघर्ष गर्नुपर्नेमा जोड दिएको थियो ।