एनसेललाई सरकारको ताकेताः पुँजीगत कर तिर्न ७ दिनको म्याद

३९ अर्ब ६ करोड ६ लाख रूपैयाँ तिर्न बाँकी

काठमाडौं । सरकारले एनसेललाई पुँजिगत लाभकर तिर्नका लागि सात दिनको म्याद दिएको छ । गत साता सर्वोच्च अदालतले त्यसबारे आफ्नो फैसलाको पूर्ण पाठ दिँदै तीन महिनाभित्र एनसेलबाट पुँजीगत लाभकर उठाउन सरकारलाई जनाएको थियो ।

मलेसियन कम्पनीलाई सेयर बेच्दा भएको लाभकरको तिराउने फैसला सर्वोच्चले गत माघमै गरेको भएपनि ठूला करदाता कार्यालयले उठाउँनु पर्ने करबारे निर्धारण गरेपछि थप कडाई गरिएको हो ।

ठूला करदाता कार्यालयले एनसेल कम्पनीले पुँजीगत लाभकरको ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८१५ रूपैयाँ तिर्नु पर्ने बताएको छ । ठूला करदाता कार्यालयले उठाउँनु पर्ने लाभकरको तथ्य सार्वजनिक गरेपछि एनसेललाई रकम तिर्न थप दवाव आएको छ ।

सर्वोच्चको फैसलाको पूर्ण पाठ नआउन्जेल सरकारले एनसेलले तिर्नुपर्ने करको नर्धारण गरेको थिएन, सर्वोच्चले उक्त फैसलाको पूणपाठ सरकारलाई दिएपछि कर असुलिमा सरकारले थप कडाई गर्दै समयसीमा तोकेको छ ।

मलेसियाको एक्जियटा कम्पनीलाई एनसेलको ८० प्रतिशत सेयर स्वामित्व बेच्दा भएको पुँजीगत लाभको कर एनसेल र एक्जियटालाई तिराउने सर्वोच्च अदालतले यस अघि नै फैसला गरिसकेको छ ।