हेर्नुहोस्, काठमाडौंको झोरमा छ यस्तो गुफाः नयाँ बर्षसँगै हेर्न जानेको भिड

पर्यटन व्यवसायको राम्रो सम्भावनाः विकासमा जोड

काठमाडौं । काठमाडौंको धुँवाधुलो अनि कोलाहल भन्दा केही दुरी पर धेरैले थाह नपाएको तर अत्यन्त सुन्दर, शान्त र रमणीय स्थान रहेको छ, जहाँ नयाँ बर्षको चहलपहलसँगै दैनिक सयौं मानिसहरुको भिड लाग्ने गर्दछ ।

हुन त हाम्रो देश हिमाल,, पहाड र तराईको भौगोलिक विशेषतामा आधारीत अनि प्राकृतिक सुन्दरताले भरिभराउँ क्षेत्र नै हो तर काठमाडौं उपत्यका भित्रको कोलाहलबाट थकित मानिसहरुको लागि भने यो ठाउँ घुमफिर उपयुक्त गन्तव्य बनेको छ ।

भिडभड शहरको कोलाहल भन्दा करिब ४० किलोमिटर पर रहेको यो ठाउँमा प्राचिन कालिन गुफा र पहाडको छाँगाबाट झरेको छहरा हेर्न पाइन्छ ।

काठमाडौंमा पर्ने टोखा नगरपालिकामा पर्ने झोर भन्ने यो स्थानमा मानिसहरु गुफा र छहरा हेर्न तथा पिक्निक, बनभेज गर्नका लागि आउँने गर्दछन ।

गर्मि मौसममा समेत छहराको सितलता पाइने यो स्थानमा रहेको गुफा पनि त्यतिकै महत्वपूर्ण रहेको छ ।

स्थानीयवासीहरुका अनुसार उकत गुफा प्राचिन समयदेखि प्रकृतिको गर्भमा रहेको छ । त्यसको अवलोकनका लागि नयाँ बर्षसँगै दैनिक सयौं मानिसहरु आउने गर्दछन ।

बाहिरबाट हेर्दा पहाडको ठूलो पत्थर जस्तो देखिने तर भित्र गहिरो र फराकिलो गुफा त्यहाँ रहेको छ । उक्त क्षेत्रमा रहेको प्राकृतिक उपहारलाई व्यवस्थित गर्न सकेमा स्थानीय विकास र समृद्धिको आधार बन्ने प्रसस्त सम्भावनाहरु देखिन्छन ।

गुफाभित्र केही बत्ति राखिएको भएपनि त्यसको व्यवस्थापन र संरक्षणको विषयमा स्थानीय सरकारले जोड दिनुपर्ने स्थानीयवासीको माग रहेको छ तर त्यसमा राज्यको भने खासै चासो देखिन्न । ति क्षेत्रको विकासबाट आन्तरिक र बाहिर्य पर्यटन व्यवसाय बढाउँन सकिन्छ ।

स्थानीयवासीहरुका अनुसार अन्य समयमा प्राय सुनसान रहने उक्त स्थानमा चाडपर्व, सार्वजनिक बिदाको दिन वा अन्य विशेष अवसरमा भने मानिसहरुको भिडभाड नै लाग्ने गर्छ ।

उक्त क्षेत्रको सम्भावनाबारे बाहिरी प्रचार नभएको भएपनि प्रकृतिक सुन्दरताले भने सबैलाई निमन्त्रणा गरिरहेको भान हुन्छ ।

त्यहाँ आउने पर्यटक तथा अवलोकन कर्ताहरुको सुविधाको लागि छेउँछाउँमा नास्ता पसलहरु राखिएका छन । जस्ले स्थानीय मानिसहरुलाई आर्थिक आम्दानीको बाटो समेत खुलेको स्थानीय युवाहरु बताउँछन ।

उनीहरु त्यहाँ राज्यले ध्यान दिएमा पर्यटनको उपयुक्त गन्तव्य बन्न सक्ने दावी समेत गरे ।