आठौ प्रतियोगिताका केही खेलहरु निर्धारित समय भन्दा अगावै हुने

प्रतियोगिताकालागि नेपालगन्ज तथा खजुराक्षेत्रमा रंगरोगन एवं सरसफाई

बाँके । आठौंं राष्ट्रिय खेलकुद प्रतियोगितामा केही खेलहरु निर्धारित मिति अघि नै हुने भएपछि आइतवार नेपालगञ्ज तथा खजुराक्षेत्रमा सरसफाई गरिएको छ ।

आठौंं राष्ट्रिय खेलकुद प्रतियोगितामा केहि खेलहरु यही चैत्र २७ गते शुरु हुने भएको छ भने राष्ट्रिय खेलकुद परिषदको समन्वयमा खजुरा गाउँपालिका, बिद्यालय ब्यवस्थापन समिति र स्थानियको सहकार्यमा खेल स्थलको तयारी, रंगरोगन, सरसफाई गरिएको छ ।

नेपालगञ्जमा रंगशाला वरपराका सम्पूर्ण बाटोहरुमा जमेका धुलो, माटो तथा फोहोर सरसफाई गर्ने कार्य शुरु गरिएको छ । खजुरामा बक्सिङ हुने ज्ञानोदय माबि, फुटबल हुने डि गाउँ, हक्की र भलिबल हुने शुक्र माबि भलिबल स्टेडियममा सरसफाई गर्नुका साथै अन्य तयारीलाई अगाडी बढाईएको हो ।

प्रतियोगिता अन्तर्गत बाँकेमा पुरुष फुटबल, बक्सिङ, भलिबल, टेबल टेनिस, उसु, जुडो, ह्याडबल, कराँते, हक्की, सुटिङ, जिम्न्याष्टिक, साइकिलिङ, आर्चरी, फेन्सिङ, पौडी, ट्रायथलन र पुरुष क्रिकेटका खेलहरु खजुरामा ४ खेल सञ्चालन हुने छन् ।

प्रतियोगितालाई शान्त र सभ्य बनाउन खजुरा गाउँपालिका प्रमुख किस्मत कुमार कक्षपतिको संयोजकत्वमा १५१ सदस्यीय समन्वय तथा सहयोग समिति निर्माण गरिएको छ । बैशाख ५ देखि ११ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु बाँके, बर्दिया, दाङ, कपिलवस्तु, कास्की, ललितपुर र काठमाडौँमा हुनेछ । प्रदेश–पाँचमा प्रतियोगिता आयोजना हुने भएपनि प्याराग्लाइडिङ र गल्फका लागि पूर्वाधार नभएकाले कास्की र काठमाडौँमा गर्न लागिएको जनाए ।