झोलामा लागुऔषध लुकाएर काठमाडौँ ल्याउँदै गरेको अवस्थामा दुईजना पक्राउ

लागुऔषध कारोबारको मुद्दा चलाउने तयारी

काठमाडौँ । महानगरीय प्रहरी प्रभाग थानकोटले अवैध लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

प्रभागबाट खटिएको टोलीले उदयपुरबाट काठमाडौँ आउँदै गरेको बसमा चेकजाँच गर्दा उक्त लागुऔषध भेटीएको हो ।

प्रहरीले ना ५ ख ११९८ नम्बरको यात्रुबाहक बस र नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको ना ७ ख २७७६ नम्बरको यात्रुबाहक बस जाँच गर्दा सुनसरीका विकास साह र बाँकेका सन्तोष यादवलाई आज बिहान पक्राउ गरेको खुल्न आएको छ ।

प्रभागका प्रमुख एवं प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले झोलामा लुकाएर लागुऔषध काठमाडौँ ल्याउँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए ।

प्रहरीले पक्राउ परेका साहसँग डाइजेपाम १५० एम्पुल, फेनार्गन १५० एम्पुल र नुर्फिन १५० एम्पुल तथा यादवबाट नाइट्राभेट ३६ ट्याब्लेट र स्पास्मो १९ ट्याब्लेट बरामद गरेको छ ।

पक्राउ परेका साह र यादवलाई लागुऔषध ऐन २०३३ अन्तर्गत म्याद थप गरी मुद्दा चलाउन महानगरीय प्रहरीवृत्त थानकोट पठाएको प्रभागले जनाएको छ । रासस