लोकतान्त्रिक गणतन्त्र असफल भयो, जनगणतन्त्रको लागि संघर्ष गरौंः सीपी गजुरेल

ओली सरकार राष्ट्रघाती र जनघाती

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका केन्द्रीय अध्यक्ष सीपी गजुरेल गौरवले जनताको चाहना विपरित ल्याइएको लोकतान्त्रिक गणतन्त्र नेपालमा असफल सावित भैसकेको भन्दै त्यसको विकल्प सडक आन्दोलनबाट खोज्नुपर्ने बताएका छन ।

देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको काठमाडौंमा यहि २४ गतेदेखि शुरु हुने प्रथम राष्ट्रिय सम्मेलनको तयारीका विषयमा जानकारी दिन आज राजधानीको कमल पोखरी स्थित होटेल कमलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मोर्चाका अध्यक्ष गजुरेलले त्यस्तो बताएका हुन ।

मोर्चा अध्यक्ष गजुरेलले जनताको परिवर्तनको चाहनालाई विगतमा आन्दोलनमा केही नेताहरुको गद्दारीका कारण पुरा गर्न नसकिएको र संसदवादीहरुले लोकतान्त्रिक गणतन्त्रको भ्रम जनतामा फैलाउने काम गरेको भएपनि सारमा त्यो दलाल, सामन्ती र पूजिपति वर्गकै राज्यव्यवस्था हो भन्ने कुरा जनताले बुझिसकेको उनको भनाई छ ।

उनले कम्युनिष्ट सरकारको नाममा ओली सरकारले सर्वसाधारण जनतामाथि करको भारी बोकाएर राज्यव्यवस्थाको प्रष्ट पहिचान गराएको दावी गरे । उनले भने ’वर्तमान सरकारले आफूलाई कम्युनिस्ट सरकार भन्छ तर कम्युनिस्टले गर्ने सामान्य काम पनि गर्न सकेको छैन, सारमा यो दलालहरुको सत्ताँ हो, जनताको होइन ।’

उनले देशमा हत्या, हिंसा र सामाजिक अपराधका घटनाहरु बढ्दै गएको भएपनि त्यसमा संलग्नहरुलाई नियन्त्रण गर्न नसक्नु आश्चार्यजन भएको बताए । उनले मुलुकमा भैरहेका ठूला ठूला भ्रष्टाचार, तस्करी। दलाली, माफीयाकरण जस्ता घटनाका दोषीहरुलाई राज्यले नै संरक्षण गरेको खुलासा गरे ।

उनले वर्तमान सरकार जनघात, राष्ट्रघात हुँदै फासिवादतर्फ उन्मुख रहेको जिकिर गरे । उनले ओली नेतृत्वको सरकार मुलुकमा अझै चार वर्षसम्म रहेमा देश विकराल स्थितिमा पुग्ने ठोकुवा गर्दै देशलाई जोगाउनका लागि आम नागरिकहरु वर्तमान व्यवस्थाको विकल्पका लागि सडक संघर्षमा जुट्नुपर्ने बताए ।

उनले मुलुकमा सरकारले गरेको राष्ट्रघाती कदमको संसदीय प्रतिपक्षी दल नेपाली कांग्रेसले ठिक रुपमा विरोध गर्न नसकेको भन्दै त्यसको विकल्पका लागि क्रान्तिकारी, परिवर्तकानरी र आम देशभक्त नागरिकहरुलाई सडकमा उत्रिन आह्वान गरे ।

उनले जनताको मुद्धा लिएर अघि बढेका राजनीतिक दलहरुमाथि राज्यले अपराधिक समूहसँग गर्ने व्यवहार गरेको र दलमाथि प्रतिबन्ध सम्म लगाउन तल्लिन भएको भन्दै त्यसलाई लोकतन्त्रमाथिको हमलाका रुपमा व्यख्या गरे ।

उनले देजमो जनताको संघर्ष उठान गर्ने संयुक्त मोर्चाका रुपमा अघि बढेको भन्दै त्यसमा सबै देशभक्त, परिवर्तनकारी नागरिकहरुलाई जोडिन आग्रह गर्दै काठमाडौं यहि चैत २४ गते जनआन्दोलन दिवसको दिन भव्य रुपमा मोर्चाको उद्घाटन हुने र २६ गते सकिने जानकारी दिए ।

मोर्चाको पहिलो राष्ट्रिय सम्मेलनको उद्घाटन काठमाडौको प्रदर्शनी मार्गमा गर्ने तयारी रहेको छ । सम्मेलनको उद्घाटन नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ’किरण’ले गर्ने बताइएको छ ।

उक्त कार्यक्रममा क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य तथा मोर्चाका अध्यक्ष सीपी गजुरेल, पार्टीका स्थायी समिति सदस्य तथा मोर्चाका केन्द्रीय सचिव परि थापा, पार्टीका पोलिटव्यूरो सदस्य तथा मोर्चाका प्रदेश नम्बर तीनका संयोजक पवनमान श्रेष्ठ, पार्टीका केन्द्रीय सदस्य तथा मोर्चाका केन्द्रीय सचिवालय सदस्य हरीकृष्ण गजुरेल लगायत, पार्टी र संगठनहरुका नेताहरुको आतिथ्यता रहेको थियो ।