प्रदेश दुईमा क्रान्तिकारी माओवादीको सक्रियताः भेला सम्मेलन सम्पन्न, बढ्दो क्रान्तिकारी आशावाद

भ्रष्ट व्यवस्थाको विकल्प खोज्नुपर्नेमा कडेंलको जोड

महोत्तरी । वर्तमान संसदीय व्यवस्था फालेर संघिय जनगणतन्त्रिक व्यवस्थाको स्थापना गर्नुपर्नेमा जोड दिदैँ त्यसका लागि क्रान्तिको तयारीमा जेटेको नेकपा (क्रान्तिकारी माओवादी) देशव्यापि रुपमा संगठन विस्तारको योजनामा जुटेको देखिन्छ ।

संगठन संघर्ष र फेरी संगठनको नीति अनुसार अघि बढेको क्रान्तिकारी माओवादीले पछिल्लो चरणमा देशका विभिन्न स्थानहरुमा दलाल, भ्रष्ट, तस्कर तथा जनघातीहरुमाथि पहिलो चरणको कारबाही गर्दै देशभर क्रान्तिकारी, जुझारु संगठन निमार्णको अभियानमा जुटेको हो ।

देशका अन्य क्षेत्रसँगै प्रदेश नम्बर दुईमा पनि क्रान्तिकारी माओवादीले संगठन निमार्ण, भेला, सम्मेलन, संघर्षको तयारी तथा आन्तरिक छलफल जस्ता कार्यक्रमहरुमा तिब्रता दिएको छ ।

क्रान्तिकारी माओवादी समर्थित देशभक्त जनतणतान्त्रिक मोर्चा, नेपालको यहि २४ गते काठमाडौंमा हुन गैरहेको प्रथम राष्ट्रिय सम्मेलनको लागि प्रदेश नम्बर दुईका विभिन्न स्थानहरुमा विभिन्न तयारीहरु भएका हुन ।

त्यसैगरी क्रान्तिकारी माओवादी समर्थित देजमोको दुई नम्बर प्रदेशको यहि १५ र १६ गते प्रथम सम्मेलन सम्पन्न भएको बताइएको छ । उक्त सम्मेलनबाट रामनारायण सिंहको अध्यक्षतामा २१ सदस्यीय प्रदेश कमिटी निर्वाचित भएको छ ।

त्यस्तै महोत्तरीको रामनगरमा क्रान्तिकारी माओवादी निकटको क्रान्तिकारी युवा लिगको प्रदेश भेला समेत सम्पन्न भएको छ । क्रान्तिकारी युवा लिगको प्रदेश नम्बर दुईमा गङ्गा महताको संयोजकमा १९ सदस्यीय कमिटी निर्वाचित भएको छ ।

त्यसैगरी सोही स्थानमा पार्टी निकटको मधेश राष्ट्रिय मुक्ति मोर्चा नेपाल दुई नम्बर प्रदेशको भेला समेत भव्य रुपमा सम्पन्न भएको छ । उक्त भेलाले संजयसिंहको संयोजकत्वमा १९ सदस्यीय प्रदेश कमिटी निर्वाचित गरेको छ ।

उक्त भेला तथा सम्मेलनको कार्यक्रममा नेकपा क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य तथा पूर्वि इन्चार्ज हरीभक्त कडेंल प्रतिकको प्रमुख आतिथ्यता रहेको थियो भने पार्टीका पोलिटव्यूरो सदस्य तथा प्रदेश दुईका सेक्रेटरी कृष्णदेव दनुवार लगायतको विशेष उपस्थिति रहेको थियो ।

क्रान्तिकारी माओवादीका पोलिटव्यूरो सदस्य तथा मोर्चाका प्रदेश संयोजक कमलनारायण चौधरीको सभापतित्वमा सम्पन्न मोर्चाको प्रदेश सम्मेलनमा पार्टीका केन्द्रीय सदस्य जितेन्द्र, अखिल क्रान्तिकारीका नेता किरण, दिपेन्द्र, नेताहरु उज्वल, रन्जित, विषण लगायतको आतिथ्यता रहेको थियो ।

नवनिर्वाचित कमिटीलाई शुभकामना दिदैँ नेता प्रतिकले मुलुकमा अपराध र भ्रष्टचार दलाली, तस्करीका घटनामा राज्यले संरक्षण गरेका कारण नियन्त्रमा आउँन नसकेको औल्याउँदै त्यसमा लुटतन्त्र मच्चिएको तर्क गरे ।

उनले राज्यका तल्लादेखि माथिल्ला सबै निकायहरु भ्रष्टाचारमा चुर्लुम्ब डुबेको भन्दै त्यसबाट जनताले हैरानी भोग्नुपरेको बताए ।

उनले मुलुकमा संसदीय व्यवस्था रहेसम्म कुनैपनि जनपक्षीय कामहरु हुन नसक्न ठोकुवा गरे ।

उनले भने–‘ओली सरकार भ्रष्टहरु, अपराधीहरुको संरक्षमा देखिन्छ, यसले सामाजिक न्यायको अवस्था कमजोर बनेको छ, जनताहरु राज्यको कारण दुख भोग्न बाध्य छन । अब यस्तो जनघाती, राष्ट्रघाती व्यवस्थाको खारेजी गर्नै पर्छ।’

उनले आफ्नो पार्टी जनताको मुक्ति आन्दोलनको प्रष्ट खाका सहित राजनैतिक वैचारिक ढंगले क्रान्तिको नेतृत्व गरिरहेको बताए । उनले मुलकमा देखिएमा तमाम समस्याहरुको हल यो व्यवस्थाबाट सम्भव नभएको भन्दै वर्तमान व्यवस्थाको विकल्प खोज्नुपर्नेमा जोड दिए।

उनले वर्तमान व्यवस्थाको विकल्प सडक आन्दोलन र जनताको संघर्ष भएको भन्दै त्यसको उद्घोष चैत्र २४ गतें काठमाडौंबाट हुने दावी गरे । उनले उक्त दिन तेश्रो जनआन्दोलनको तयारीको दिन समेत भएको बताए ।

उनले काठमाडौंमा राज्यको जनघात, राष्ट्र घातका विरुद्ध वृहत शक्ति प्रदर्शन हुने भएकाले त्यसमा सहभागि हुन सम्पूर्ण जनसमूदायमा हार्दिक अपिल समेत गरे ।

देजमोको प्रथम राष्ट्रिय सम्मेलन समेत त्यही दिन काठमाडौंमा हुने बताइएको छ । मोर्चाले राज्यको गलत कामहरुको विरोध स्वरुप उक्त मञ्चबाट बन्द, हड्तालसम्मका कार्यक्रमहरु समेत सार्वजनिक गर्ने भएको छ ।