पत्रकार महासघंको ६४ औं स्थापना दिवसः स्वतन्त्र र मर्यादित पत्रकारितामा जोड

पूर्वपदाधिकारीहरु सम्मानितः कास्की शाखा उत्कृष्ट

काठमाडौं । नेपाल पत्रकार महासङ्घले स्थापनाको ६४औँ दिवसरका अवसरमा पत्रकारीता क्षेत्रको सुधारको लागि महत्वपूर्ण भूमिका खेलेको भन्दै केन्द्रीय कमिटीका पूर्वपदाधिकारी, उत्कृष्ट शाखा र शाखाका पदाधिकारीहरुलाई सम्मान गरेको छ ।

पत्रकार महासंघको स्थापना दिवसको अवसरमा हिजो आयोजित शुभकामना आदानप्रदानको कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले महासंघका पूर्वपदाधिकारीहरुलाई त्यस्तो सम्मान गरेका हुन ।

उक्त कार्यक्रममा बोल्दै राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष शर्माले न्यायपालिका र पत्रकारिता दुवै क्षेत्र निस्वार्थ र निष्पक्ष रुपमा काम गर्नुपर्ने संस्था भएको बताए । उनले यि सस्थाहरु स्वतन्त्र हुनुपर्ने भन्दै कहि कतैबाट प्रभावित बनाउन नहुने तर्क गरे ।

उक्त कार्यक्रममा पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले आफ्नो जीवनकालभरी समाचार सम्प्रेषणको काममा लाग्ने पत्रकारहरुको देश निर्माणमा महत्वपूर्ण भूमिका खेलेको बताए ।

उनले पत्रकार महासंघ जहिले पनि श्रमजीवी पत्रकार र प्रेस स्वतन्त्रताको पक्षमा उभिने बताए । उनले आफु पत्रकारका समस्या, अधिकारको लागि सधैँ सहयोग गर्न तयार रहेको भन्दै प्रतिवद्धता जाहेर गरे ।

उक्त अवसरमा महासङ्घका पूर्वअध्यक्ष डा. महेन्द्र बिष्टले पत्रकारीता देश र समाजको पक्षमा हुनुपर्ने धारणा राखेका थिए । त्यस्तै महासंघका पूर्वसभापति हरिहर विरहीले समाजप्रति पत्रकारीता उत्तरदायी हुनुपर्ने बताए । महासङ्घका पूर्वउपाध्यक्ष राधा बुढाथोकी र महासङ्घका पूर्वमहासचिव चन्द्र भण्डारी लगायतले उक्त कार्यक्रममा शुभकामना मन्तव्य राखेका थिए ।

शुभकामना मन्तव्यको क्रममा बोल्ने अधिकांश पत्रकार महासंघका पूर्वपदाधिकारीहरुले पत्रकारितालाई समाजको ऐनाका रुपमा निष्पक्ष, स्वतन्त्र रजिम्मेजार तथा मर्यादित बनाउनु पर्नेमा जोड दिएका थिए ।

त्यसैगरी स्थापना दिवसका अवसरमा आयोजना गरिएको मिडिया कप फुटसल प्रतियोगिता समेत गरिएको थियो । फुटवल प्रतियोगितामा सफल भएका समूहलाई समेत उक्त कार्यक्रमबीच सम्मान गरिएको बताइएको छ ।

उक्त मिडिया कप फुटसल प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थानमा क्रमशः प्रेस सङ्गठन नेपाल , नेपाल प्रेस युनियन र इमेज च्यानलको टोली सफल भएको थियो । सफल समूहलाई कार्यक्रमबीच ट्रफी, मेडल, नगद र प्रमाणपत्र प्रदान गरिएको थियो ।

उक्त अवसरमा महासंघका केन्द्रीय पूर्वपदाधिकारीहरु राधा बुढाथोकी उपसभापति, चित्राङ्ग थापा उपसभापति, चन्द्र भण्डारी महासचिव, कर्णदेव भट्ट उपसभापति, ईश्वरचन्द्र गौतम उपसभापति, हेमन्त कर्माचार्य उपसभापति र तेजबहादुर भण्डारी उपसभापतिलाई सम्मान गरिएको छ ।

त्यसैगरी उक्त कार्यक्रममा यज्ञ शर्मा उपसभापति, गोपाल बुढाथोकी उपसभापति, उमिद बागचन्द उपसभापति, सञ्जय सन्तोषी राई उपसभापति, कृष्णप्रसाद बस्याल राकेश उपसभापति, डीआर पन्त उपसभापति, गङ्गाधर पराजुली उपसभापति, पोषण केसी महासचिव, यशोदा तिम्सिना उपाध्यक्ष, ओम शर्मा महासचिव, खिलबहादुर भण्डारी उपाध्यक्ष, अनिता बिन्दु उपाध्यक्ष र उजिर मगर महासचिवलाई समेत सम्मान गरिएको छ ।

त्यसैगरी तत्कालीन पत्रकार सङ्घलाई महासङ्घमा रुपान्तरण गर्न र महासङ्घलाई प्रत्यक्ष निर्वाचन प्रणालीमा लैजान महत्वपूर्ण भूमिका निर्वाह गरेकामा कास्की शाखालाई विशेष रुपमा सम्मान गरिएको थियो ।