राष्ट्रिय खेलकुदले उत्साह ल्याएको छ: सिद्दीकी

नेपालगञ्जमा स्तरीय खेल हुने दावी

बाँके । सम्सुद्धिन सिद्धिकी नेपालको प्रतिनिधित्व गर्दै सबैभन्दा बढि अन्तर्राष्ट्रिय पदक जित्ने नेपालका खेलाडी हुन् । अन्तर्राष्ट्रिय प्रतियोगितामा उनले भारत्तोलन खेलमा ६ रजत र ९ काश्य पदक जितेका छन् ।

सक्रिय खेल जीवनबाट राजनीति र खेलसङ्घमा सम्वद्ध सिद्धिकी नेपालगञ्जमा हुने ८ औं राष्ट्रिय खेलकुद प्रतियोगिताबाट एकदमै उत्साहित देखिएका छन् ।

२०५४ सालमा नेपालगञ्जमा भएको चौथो राष्ट्रिय खेलकुद प्रतियोगितामा सिद्धिकीले भेरी अञ्चलका तर्फबाट प्रतिनिधित्व गर्दै भारत्तोलनमा स्न्याच, क्लिन एण्ड जर्क र टोटल गरी तीनवटा स्वर्ण जितेका थिए ।

चौथो खेलकुद अभावका बीचमा नेपालगञ्जमा सम्पन्न भएको थियो । शुक्रबार नेपालगञ्ज रङ्गशालाको भिआईपी प्यारापिट निर्माण कार्यमा सघाउँदै गर्दा भेटिएका सिद्धिकीले भने– ‘यसपटक भौतिक पूर्वाधार निर्माणको हिसावले कोशेढुङ्गा नै सावित भएको छ ।’

चौथो खेलकुदमा नेपालगञ्ज रङ्गशाला र कभर्डहल कै भरमा सम्पन्न भएको बताउँदै सिद्धिकीले अहिले भौतिक पूर्वाधार निर्माणको हिसावले धेरै काम भएको बताए । चौथो खेलकुदमा खेलाडीलाई पुरस्कार रकमको पनि ब्यवस्था नभएको स्मरण गर्दै सिद्धिकीले विगत र बर्तमानमा धेरै फरक भएको बताए ।

नेपालगञ्जमा बिभिन्न खेलकुदका संरचना निर्माण भईरहेको हेरे पुर्ब खेलाडीहरु उत्साहित भएको बताउँदै सिद्धिकीले गर्मीले नेपालगञ्जमा खेलकुद गर्न कुनै कठिनाई नहुने दावी गरेका थिए ।

गृष्मकालिन ओलम्पिक नै हुन्छ भने नेपालगञ्जमा चैत बैशाखमा खेल हुन सक्दैन भन्नुको कुनै तुक छैन । सिद्धिकीले विगतमा छैठो खेलकुदको भारत्तोलनको खेल काठमाडौंमा सडकमा टेन्ट लगाएर भएको उदाहरण दिदै नेपालगञ्जमा सबैभन्दा स्तरीय हुने दावी गरे ।

खेलाडीका लागि राष्ट्रिय महोत्सव उत्सव भएको बताउँदै सिद्धिकीले कुनैपनि हालतमा प्रतियोगिता गर्नु पर्ने पुर्ब खेलाडीको माग भएको बताए ।

दुई पटक नेपालको सर्वाधिक बलियो ब्यक्तिको उपाधी जितेका सिद्धिकी नेपालका तर्फबाट एशियन खेलमा समेत सहभागिता जनाएका थिए ।

सिद्धिकीले साग खेलकुदमा ६ रजत र ९ काश्य पदक जितेका हुन् । उनका नाममा नेपालमा भारत्तोलनका धेरै राष्ट्रिय रेकर्ड रहेका छन् ।