दलाल पुँजीवादी सत्ताभित्र गरिने सम्झौताले मुलुकलाई निकास दिन सक्दैनः विप्लव

ओली सीके सम्झौता समवर्गको लेनदेन र सौदाबाजी

काठमाडौँ । नेत्रविक्रम चन्द विप्लवले सरकारको पछिल्लो समझौता र निर्णयको विषयमा आफ्नो आधिकारीक धारणा सार्वजनिक गरेका छन । उनले मंगलबार एक विज्ञप्ती जारी गर्दै आफ्नो धारणा सार्वजनिक गरेका हुन ।

सरकारले उनको पार्टीमाथि प्रतिबन्ध लगाएपछि अधिकांश नेताहरु सम्पर्क विहिन भएको अवस्थामा उनले विज्ञप्ती जारी गरेका हुन । उनले विज्ञप्ती मार्फत सरकारको निर्णयको घुमाउरो ढंगले विरोध गरेका छन ।

उनले भनेका छन–‘उत्पीडन, शोषण, दमनबाट श्रमिक जनताले मुक्ति केवल दलाल पुँजीवादी सत्ताको अन्त्य र वैज्ञानिक समाजवाद—साम्यवादको स्थापनाबाट मात्र प्राप्त गर्न सक्छन् ।’

त्यस्तै उनले यही फागुन २४ गते सरकार र सीके राउतका बीच भएको सम्झौतादमई सकवर्गभित्रको लेनदेन र सौदावाजीको रुपमा अर्थ लगाएका छन।

उनले उक्त सम्झौताको विरोध गरेका छन । उनले भनेका छन–‘हाम्रो स्पष्ट दृष्टिकोण छ– दलाल पुँजीवादी सत्ताका कारणले पैदा भएका वर्गीय, जातीय, क्षेत्रीय, लैङ्गिक समस्याहरू दलाल पुँजीवादी सत्ताभित्रै गरिने सम्झौताद्वारा कदापि समाधान हुँदैनन्, न त जातीय, क्षेत्रीय भिडन्त र विखण्डनबाट नै समाधान हुन्छन् ।’

विप्लवले जारी गरेको विज्ञप्तीको पूर्णपाठ यस्तो छ ।

फागुन २४ गते केपी वली सरकार र सीके राउतबीच भएको ११ बुँदे सम्झौताबारे पक्ष–विपक्षमा प्रचारहरू भइरहेका छन् । सामान्यतः धेरैले वार्ताबाट समस्या हल गर्नु सकारात्मक भएको प्रतिक्रिया दिएका छन् । हाम्रो दृष्टिकोणमा सम्झौता के हो रु यसबाट के समस्या समाधान भयो र जनताले के प्राप्त गरे भन्ने विषय मुख्य हुन्छ । सामान्यतः पुँजीवाद र दलाल पुँजीवादी सत्ता स्वीकार्दै वा मान्दै गरिने आपसी विवाद, सङ्घर्ष, फासिवाद र विखण्डन साथै उनीहरूबीच हुने सम्झौता पुँजीवादकै बहुअनुहार हुन् । समवर्गभित्रैका लेनदेन र सौदाबाजी हुन् । त्यहाँ न देश र जनताको विषय हुन्छ, न ती विषयप्रति नै उनीहरू इमानदार हुन्छन्, न त उनीहरूले फलाक्ने कथित सम्झौताहरूबाट शान्ति नै स्थापना हुन्छ । केवल जनतालाई भ्रमित गर्ने र आफ्नो वर्गस्वार्थ पूरा गर्ने उद्देश्य अन्तरनिहित हुन्छ । हाम्रो स्पष्ट दृष्टिकोण छ– दलाल पुँजीवादी सत्ताका कारणले पैदा भएका वर्गीय, जातीय, क्षेत्रीय, लैङ्गिक समस्याहरू दलाल पुँजीवादी सत्ताभित्रै गरिने सम्झौताद्वारा कदापि समाधान हुँदैनन्, न त जातीय, क्षेत्रीय भिडन्त र विखण्डनबाट नै समाधान हुन्छन् । उत्पीडन, शोषण, दमनबाट श्रमिक जनताले मुक्ति केवल दलाल पुँजीवादी सत्ताको अन्त्य र वैज्ञानिक समाजवाद—साम्यवादको स्थापनाबाट मात्र प्राप्त गर्न सक्छन् ।

हालै प्रचार गरिएको सरकार र सीके राउतबीचको कथित ११ बुँदे सम्झौता उत्पीडनमा परेका मधेसी जनता र शान्ति चाहने नेपाली जनताको चाहनासँग सम्बन्धित छैन । यसबाट न मधेसी जनताले कुनै अधिकार पाउनेछन्, न त विखण्डनकारी प्रवृत्तिको नै अन्त्य हुनेछ । मधेसी जनताको मुक्ति र देशमा शान्ति दलाल पुँजीवादी सत्ता चलाएर वा देश टुक्र्याएर हुनेछैन । तिनको प्राप्ति नेपालबाट दलाल पुँजीवादी सत्तालाई अन्त्य गरेर वैज्ञानिक समाजवाद स्थापना गरेपछि मात्र हुनेछ । जतिबेलासम्म दलाल पुँजीवादी सत्ता कायम हुनेछ त्यतिवेलासम्म जनतामाथि वर्गीय, जातीय, क्षेत्रीय उत्पीडन कायम हुनेछ भने त्यसबाट अनेकौँ सङ्घर्षका स्वाभाविक र अस्वाभाविक रूपहरू उत्पन्न भइरहनेछन् । तसर्थ हामी पार्टीका तर्फबाट सबै नेपाली देशभक्त, लोकतान्त्रिक, कम्युनिस्ट शक्तिहरू र मधेसी जनतालाई यस्ता कथित सम्झौताहरूको भ्रममा नपरी देशलाई दीर्घ शान्तिमा पुयाउनका लागि एकीकृत जनक्रान्तिमा सहभागी बनौँ भन्ने अपिल गर्दछौँ ।

मितिः २०७५, फागुन २८ गते
                                                                               ……….
                                                                      महासचिव, विप्लव