‘उहाँलाई माक्सवादी स्कुलको रुपमा लिन सकिन्छ’–महासचिव किरण (भिडियोसहित)

श्रद्धाञ्जलीको प्रचलनबारे वहस गर्नुपर्नेमा जोड

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन बैद्य किरणले कम्युनिस्ट आन्दोलनका पुराना नेता कृष्णदास श्रेष्ठको योगदानको चर्चा गर्दै उनलाई माक्सवादी स्कुलको रुपमा लिन सकिने बताएका छन ।

घट्टेकुलोस्थित इच्छुक साँस्कृतिक प्रतिष्ठानमा क्रान्तिकारी माओवादीद्धारा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै महासचिव किरणले त्यस्तो बताएका हुन । महासचिव किरणले श्रेष्ठले नेपाली कम्युनिस्ट आन्दोलनमा खेलेको भूमिका अतुलनिय रहेको बताए ।

उनले नेता श्रेष्ठलाई माक्र्सवादी सिद्धान्तका व्याख्याता, लेखक, अनुवादक र जनताको नेताका रुपमा उनलाई सम्बोधन गरे ।

श्रेष्ठको बहुआयामिक व्यक्तित्व, कम्युनिस्ट आन्दोलनमा गरेको योगदान र उनका मौलिक तथा अनुदित कृतिहरुलाई कम्युनिस्ट आन्दोलनमा स्कुलको रुपमा लिन सकिने उनले बताए ।

उनले श्रेष्ठको क्रान्तिप्रतिको निष्ठालाई जोगाउनका लागि कृष्णदास फाउन्डेसनलाई सञ्चालन गर्नुपर्ने बताए । उनले भने–‘कम्युनिस्ट सिद्धान्त तथा विचारको अध्ययनका लागि स्कुललाई निरन्तरता दिनुपनर्छ ।’

उनले माक्र्सवादी सिद्धान्त तथा विचारको अध्ययन, प्रचार प्रसारमा पछिल्लो पुस्ताले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिए ।

उक्त कार्यक्रमका अन्य अतिथि वक्ताहरुले श्रद्धाञ्जलीको कार्यक्रम र माल्यार्पणको परम्परा आध्यात्मवादसँग जोडिने भन्दै त्यसको विकल्प खोज्नुपर्ने बताएकापछि महासचिव किरणले त्यो विषमा वहस आवश्यक रहेको बताएका थिए ।

उनले भने–‘श्रद्धाञ्जली गर्ने प्रचलनलाई निरन्तरता दिनै पर्छ भन्ने होइन तर इतिहास बोकेका नेताहरुलाई कसरी सम्झिने ? यसको विकल्प के हुन सक्त, यो विषमा छलफल आवश्यक छ, यो सम्बन्धी कुनै छुट्टै कार्यक्रम राखेर छलफल गरौं ।’

उक्त कार्यक्रममा कम्युनिस्ट पार्टीका नेताहरु, राजनीतिक चिन्तक, लेखक लगाएतका मानिसहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको इच्छुक प्रतिष्ठानको सभा हलमा सम्पन्न भएको थियो । बाँकी भिडियोमा हेर्नुहोला ।