राष्ट्रियताको विषयमा गम्भीर हुन क्रान्तिकारी माओवादीका महासचिव बैद्यको आह्वान (भिडियोसहित)

सीमा क्षेत्रको सुरक्षा गर्दै वृहत नेपालको खोजी गर्नुपर्नेमा जोड

काठमाडौं । राजधानीमा आयोजित एक कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन बैद्य किरणले राष्ट्रियताको विषयमा गम्भीर हुन राज्य , राजनीतिक दलहरु र आम नागरिकसँग आह्वान गरेका छन ।

महासचिव बैद्यले हिजो पार्टी समर्थित देशभक्त जनगणतान्त्रीक मोर्चा, नेपालको काठमाडौं समितिले राजधानीको होटेल हार्दिकमा आयोजना गरेको सर्वपक्षीय अन्तरसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै त्यस्तो बताएका हुन ।

‘देशको स्वाधीनता र नेपालको वास्तविक नक्सा प्रयोगको प्रश्न’ विषयक अन्तरसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव बैद्यले मुलुकको अहिलेको क्षेत्रफल अनुसारको भूगोलको समेत सुरक्षा हुन नसकेको भन्दै त्यसकालागि राज्यलाई गम्भीर बन्न आग्रह गरे ।

उनले सीमावर्ति क्षेत्रहरुमा दजशजा मिच्दै भारतीय पक्षबाट अतिक्रमणको काम गरिरहेको कुरा सार्वजनिक हुँदा पनि राज्यका निकायहरु मौन हुनु अचम्मको विषय भएको भन्दै त्यसले मुलुकको राष्ट्रियतामाथि गम्भीर प्रश्न खडा भएको बताए ।

उनले मुलक रहें मात्र हामी नेपालीहरु र हाम्रो राजनीति विचार, पार्टी वा अरु विषयहरु रहने हुन भन्दै अब सबै मिलेर मुलुक बनाउँन एक ढिक्का भएर बढ्नुपर्ने धारणा राखें । उनले राष्ट र राष्ट्रियता आम नेपाली जनताको विषय भएकाले यो विषयमा सबै एक जुट हुनुपर्नेमा जोड दिए ।

मुलुकको अहिलेको सीमानाको सुरक्षा गर्दै वृहत नेपपालको विषयमा खोजी गर्नुपर्ने बताए । नेपालको कालापानी, लिम्पुवाधुरा, लिपुलेक हटाएका नकसाको प्रयोग सरकराी निकायमा हुनुले आफुहरु अचम्मित भएको भन्दै उनले त्यतिमात्र हैन वृहत नेपालको सीमान समेत सबैले थाहा पाउँनुपर्ने बताए ।

आफ्नो पार्टी लामो समयदेखि राष्ट्रियता, जनतन्त्र र जनजीवीकाका विषयलाई लिएर संघर्ष गर्दै आएको भन्दै उनले राष्ट्रिय स्वाधीनताको सवालमा साँझा मोर्चा बनाएर बोल्नु सकिने भन्दै देजमोले त्यस्तो कार्यक्रम आयोजना गरेकोमा बधाई ज्ञापन गरे ।

महासचिव किरणले नेपाल कम्युनिस्ट पार्टीले स्थापनाकालदेखि नै राष्ट्रियताको विषयलाई प्रमुख मुद्दा बनाउँदै आएको चर्चा गर्दै अहिले नामधारी कम्युनिस्टको सरकार भएकै बेला राष्ट्रियताको विषय खतरामा पुगेको बताए । उनले राज्य राष्ट्रियताको विषयमा खासै गम्भिर नदेखिएको संकेत गरे ।

उनले भने, “सीमा अतिक्रमण भइरहेको छ, हस्तक्षेप बढिरहेको छ, राष्ट्रिय स्वाधीनतामाथि गम्भीर संकटहरु देखापरिरहेका छन्, त्यसका विरुद्ध सबै पार्टीहरु एकढिक्का भएर लड्नु पर्छ।”

सम्बोधनका क्रममा उनलेले भने, “कम्युनिस्ट नामको सरकारले अहिले किन राष्ट्रियताको विषयमा बोल्न सकेको छैन, यसको बारेमा हामी सरकारलाई पनि घचघच्याउँछौं, जनतालाई पनि जागृत पार्छौ ।”

उकत कार्यक्रममा क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सिपी गजुरेलले मोर्चाको २१ गते समापन गरेको पन्द्र दिने मेची महाकाली अभियानक क्रममा संगालेक अनुभवहरु सुनाएका थिए ।

मोर्चा अध्यक्ष गजुरेलले अभियानको क्रममा सीमावर्ति क्षेत्रमा धेरै स्थानहरुमा भारतीय पक्षले नेपाली जमिन अतिक्रमण गरेको पाइएको बताए । उनले आफुहरुले अतिक्रमित भूमिको निरीक्षण समेत गरेको चर्चा गर्दै राष्ट्रिय स्वाधीनताको विषयमा जनतामा समेत जागरण पैदा भइरहेको बताए ।

मोर्चाले आगामी दिनमा पनि त्यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाउँदै उनले सबै देशभक्त तथा राष्ट्रवादीहरुलाई एकढिक्का भएर आवाज उठाउन आव्हान समेत गरे ।

कार्यक्रममा सिमाविद् बुद्धिनारायण श्रेष्ठले देशको सिमाना र नक्साका विषयलाई गम्भीर प्रश्नका रुपमा उठाए । उनले भने–
‘अहिले प्रयोगमा आएको नक्सा के शुद्ध छ ? सुगौली सन्धिले इङ्गित गरेको सिमाना के नक्सामा देखाइएको छ ? निशाना छापमा हालिएको नक्सा शुद्ध छ ? नेपालको संविधानमा के नेपालको नक्सा परेको छ ? अब हामी कहिले सचेत हुन्छौं ?’

मुलुकका सरकारी निकयमा समेत भारतबाट प्रकाशित भएका त्रुटिपूर्ण नक्साहरुको प्रयोग भएको विषय चिन्ताजनक रहेको भन्दै उनले राज्यलाई त्यो सच्चाउन आग्रह गरे । उनले भने–‘नेपाल सरकारको भूमि व्यवस्था मन्त्रीले केहस् दिनअघि सार्वजनिक गरेको नेपालको नक्सा के शुद्ध छ ? पुराना ऐतिहासिक नक्साले नेपालको सिमाना कहाँ इङ्गित गरेको छ, के यसबारे यो सरकार जानकार छ ?’

उनले सरकारले हालै सार्वजनिक गरेको नक्सामा नेपालको ३१० वर्ग किमी भूमि गायब रहेको दावी प्रस्तुत गर्दै भारतले बनाएर नेपाली बजारमा छ्याप्छ्याप्ती पारेको नक्सामा नेपालको ३७२ वर्ग किमी नेपाली भूमि भारततिर पारिएको बताए ।

सिमाविद् श्रेष्ठले स्थानीय मन्त्रालयले प्रकाशित गरेको पुस्तकमा समेत सबै स्थानीय तह, प्रदेशहरुको कूल क्षेत्रफल जोड्दा २३ सय वर्ग किमि भूमि गायब देखिएको पनि बताए ।

उनले नेपालका शासकहरु लुरेलारे भएकाले सीमा अतिक्रमण नरोकिएको र हस्तक्षेप बढिरहेको चर्चा गर्दै ओली सरकारको चर्को आलोचना गरे ।

उनले पुराना ऐतिहासिक नक्साका आधारमा नेपालको वास्तविक नक्सा बनाइनु पर्ने र सबै तथ्यहरुले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भएको पुष्टि गरेकोले सोही अनुसार नक्सा बनाएर प्रयोग गर्न पनि उनले सरकारलाई सुझाव दिए र राजनीतिक पार्टीहरुलाई त्यसका निम्ति दबाब सिर्जना गर्न अनुरोध समेत गरे ।

आर्थिक रुपले समृद्ध, विज्ञान प्रविधिले सम्पन्न र विकसित तथा शक्तिशाली राष्ट्र बन्न सकेको खण्डमा नेपालले आफ्नो विशाल भूभाग फिर्ता गर्न सक्ने समेत दावी गरे । त्यसको लागि शासकहरु बलिया राष्ट्रवादी हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य तथा काठमाडौं इन्चार्ज सुरेश श्रेष्ठले ‘राष्ट्रिय स्वाधिनता र नेपालको वास्तबिक नक्सा प्रयोगको प्रश्न’ विषयक तयार पारेको कार्यपत्र पस्तुत गरेका थिए । कार्यक्रममा सहभागिहरुले उक्त कार्यपत्रमाथि सुझावहरु दिएका थिए ।

मोर्चाको काठमाडौं जिल्ला अध्यक्ष खगेन्द्र छन्त्यालले अध्यक्षता सम्पन्न उक्त कार्यक्रमको सञ्चालन शारदा महतले गरेकी थिइन् ।

कार्यक्रममा क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य रामसिंह श्रीस, सिमाविद् बुद्धिनारायण श्रेष्ठ, कृष्ण राई–डबल नेकपा, सिद्धि महर्जन–नेकपा माले, नरेन्द्र तण्डुकार– नेकपा ऋषि कट्टेल, रहर बहादुर खड्का नयाँ शक्ति, झविन्द्र बेलबासे– राष्ट्रिय जनमोर्चा, देवेन्द्र प्रधान– राप्रपा, कपिल सिजापति– माके (किराती), सन्तोष चालिसे– मेयर (गोकर्णेश्वर नपा) लगायत रहेको आतिथ्यता रहेको थियो।

कार्यक्रमका अधिकांश वक्ताहरुले श्रेष्ठले प्रस्तुत गरेको कार्यपत्रले उठाएका विषयहरुलाई समर्थन गर्दै राष्ट्रिय स्वाधीनता तथा सीमा र नक्साको विषयमा सबै राजनीतिक पार्टीहरु एकढिक्का भएर अगाडि बढ्नुपर्ने धारणा राखेका थिए ।

सरकारी निसान छापमा समेत नक्कली नक्सा प्रयोग भएको पाइएको भन्दै यसको क्रान्तिकारी माओवादी तथा देजमो लगायतका राजनीतिक पार्टीले त्यसको विरोध गर्दै आएका छन् ।