क्रान्तिकारी युवा लिग ललितपुरको भेला सम्पन्नः अध्यक्षमा महर्जन

१८ सदस्यीय जिल्ला कमिटी निर्वाचिः संघर्षमा जोड

ललितपुर । नेकपा (क्रान्तिकारी माओवादी) निकटको युवा संगठन सामाजिक अपराध, भ्रष्टाचार, तस्कर, दलाल तथा राष्ट्रघात र जनघाती कदमको सशक्त विरोध गर्ने नीति अनुसार देशव्यापी संगठन निर्माणमा जुटेको छ ।

क्रान्तिकारी माओवादी निकटको क्रान्तिकारी युवा लिगले विभिन्न प्रदेशहरुमा युवाहरुलाई शारीरिक तथा राजनैतिक तालिमहरु यस अघि सम्पन्न गरिसकेको छ ।

पछिल्लो समयमा संगठन संषर्घ र फेरी संगठनको नीति अनुसार उक्त संगठनले सांगठनिक कामहरु बढाएको छ ।

पहिलो चरणमा संगठन निर्माणमा जुटेको क्रान्तिकारी युवा लिग पछिल्लो समयमा दलाल, तस्कर र माफीयाहरु विरुद्ध कारबाहीको प्रकृयामा जोडतोडले लाग्यो ।

क्रान्तिकारी युवा लिगको केन्द्रीय कार्यक्रम अनुसार काठमाडौं, सुर्खेत लगायतका जिल्लाहरुमा भ्रष्टहरुको नियमन गर्दै कालोमोसो दलेर कारबाहीमा समेत उत्रियो ।

लिगको कालोमोसो दल्ने अभियान देशव्यापी रुपमा सांकेतिक कारबाहीको रुपमा चर्चामा रह्यो । त्यसको जनमानसमा सकारात्मक प्रभावसँगै पुनः लिगले आन्तरिक संगठनलाई मजबुत गराउँदै देशव्यापी कार्यक्रममा जुटेको बुझिएको छ ।

लिगले संगठन निर्माणको कार्यक्रम अन्तर्गत हिजो ललितपुरमा प्रथम जिल्ला भेला गरेको छ । क्रान्तिकारी माओवादीको कुपोन्डोल स्थित पार्टी कार्यालयमा सम्पन्न भेलाबाट रोमन महर्जनको अध्यक्षतामा १८ सदस्यीय जिल्ला कमिटी निर्वाचित भएको छ ।

भेलाले १३ पूर्ण र ५ वैकल्पिक गरी १८ सदस्यीय कमिटी निर्वाचित गरेको हो । भेलामा जिल्लाका विभिन्न स्थानबाट युवाहरुको उपस्थित भएका थिए ।

कार्यक्रममा युवा लिगका केन्द्रीय अध्यक्ष अमिर महर्जन, युवा संगठनको प्रदेश तीनका पार्टीबाट फ्याक्सन इन्चार्ज वसन्त बोगटी, ललितपुर जिल्ला पार्टी सेक्रेटरी श्याम कार्की लगायतका नेताहरुको आतिथ्यता रहेको थियो ।

निर्वाचित कमिटीलाई बधाई दिर्दै नेताहरुले मुलुकमा जनवादी क्रान्ति नभएसम्म समाजमा देखिएका विकृति, विसंगती र तमाम समस्याहरुको समाधान सम्भव नहुने भन्दै त्यो प्रकृयामा क्रान्तिकारी युवाहरु शारीरिक र राजनैतिक, वैचारिक रुपमा तयार हुनुपर्ने बताए ।

नेताहरुले आफ्नो संगठनको दलाल, तस्कर, माफीया, भ्रष्टहरुमाथिको कारबाहीको प्रकृयालाई नरोकेको भन्दै आ आफ्नो स्थानीय तह र टोल समाजमा त्यस्ता प्रकृतिको निगरानी गर्दै योजनाबद्ध रुपमा थप कारबाहीमा जानुपर्ने बताए ।

नेताहरुले राज्य सामाजिक फासिवादतर्फ उन्मुख भएको भन्दे त्यसको खारेजीको आन्दोलनमा युवाहरुलाई नेतृत्वदायी भूमिकाका लागि तयारी अवस्थामा रहन निर्देशन समेत दिए ।