जन्ती बस दुर्घटनाः एकको मृत्यु, १४ बढी घाइते, दुई जनाको अवस्था गम्भीर

घाइतेको भरतपुरमा उपचार हुँदैं, चालक फरार

चितवन । पूर्वी चितवनको टाँडीबाट माडी तर्फ जन्ती लिएर जाँदै गरेको बस अनियन्त्रित भएर दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने १४ भन्दा बढी घाइते भएका छन ।

जन्ती बोकेको ना ७ ख २२८ नम्बरको बस आज साँझ सवा पाँच बजेतिर चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत सडक खण्डमा पर्ने कसरा भन्ने ठाउँमा अनियन्त्रीत भै पल्टिएको हो ।

चालकले अत्याधिक मादक पदार्थ सेवन गरेर गाडी चलाएको कुरा प्रहरी अनुसन्धानबाट खुल्न आएको छ ।

उक्त दुर्घटनाबाट माडी नगरपालिका २ चिरौलीका मिथुन महत्तोको मृत्यु भएको प्रहरीबाट जानकारी प्राप्त भएको छ ।

उक्त दुर्घटनाबाट १४ भन्दा बढी यात्रुहरु घाईते भएको बताइएको छ । प्रहरीका अनुसार घाइतेहरुको भरतपुर अस्पतालमा उपचार भइहेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार घाइते मध्ये १४ वर्षीय क्षितिजा महत्तो र २० वर्षीया पुजा महत्तोको अवस्था गम्भीर रहेको छ भने अन्यको अवस्था खतरामुक्त रहेको छ ।

बस दुर्घटनामा परेपछि चालक फरार भएको प्रहरीले बताएको छ । हरपलसँगको कुराकानीमा प्रहरीले घटनाको प्रकृति हेर्दा चालकको लापरबार्हीको कारण दुर्घटना भएको अनुमान गरेको छ । प्रहरीले चालको खोजी गरिरहेको बताएको छ । फाइल तस्बिर