महिला अधिकारको सुनिश्चितताका लागि व्यवस्था परिवर्तनको आन्दोलन अनिवार्य (भिडियोसहित)

सबै उत्पीडित महिलाहरुलाई एक हुन अनेमसंघ (क्रान्तिकारी) को आह्वान

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकटको अखिल नेपाल महिला संघ (क्रान्तिकारी) लगायत विभिन्न राजनीतिक दल तथा सामाजिक अभियान सम्बद्ध महिलाका संघ, संगठनहरुले आज महिला मुक्ति र अधिकारका लागि आवाज उठाउँदै १०९ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस देशभर भव्य रुपमा मनाएका छन ।

अखिल नेपाल महिला संघ (क्रान्तिकारी) ले राजधानी काठमाडौं लगायत कैलाली, कञ्चनपुर, बर्दिया, बाँके, सुर्खेत, दाङ, रुपन्देही, झापा, मोरङ, सुनसरी, चितवन, गुल्मी वाग्लुङ, कास्की लगायतका जिल्लाहरुमा भव्य रुपमा श्रमिक महिला दिवस मनाएको छ ।

काठमाडौंको रत्नपार्क अगाडि रहेको शान्तिवाटिकामा अनेमसंघ (क्रान्तिकारी) को आयोजनामा महिला अधिकार सम्बन्धी विभिन्न नारा, जुलुस सहित सयौंको संख्यामा रहेका महिलाहरुले कोणसभा गरेका छन ।

‘महिला मुक्ति र जनगणतन्त्रका लागि संघर्ष गरौं । १०९ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस भव्य रुपमा सफल पारौं ।’ भन्ने मुल नाराका साथ संघले देशभर कार्यक्रमको आयोजना गरेको छ ।

महिला संघको महासचिव सारदा महतको अध्यक्षतामा सम्पन्न उक्त सभामा क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य तथा महिला संघको फ्याक्सन इन्चार्ज रामसिंह श्रीसको प्रमुख आतिथ्यता रहेको थियो भने संगठनको केन्द्रीय अध्यक्ष अम्बीका मुडभारी, लगायत उपाध्यक्ष, सचिव, सहसचिव र अन्य पदाधिकारीहरुको समेत आतिथ्यता रहेको थियो ।

संगठनको सह–सचिव रुपा गेलालले सञ्चालन गरेको उक्त कार्यक्रममा अनेमसंघ क्रान्तिकारीको काठमडौं कमिटीका सचिव विष्णु न्यौपानेले स्वागत मन्तव्य राखेकी थिइन । उक्त कार्यक्रममा क्रान्तिकारी माओवादीका पोलिटव्यूरो सदस्य पवनमान श्रेष्ठ, केन्द्रीय सदस्यहरु हुकुमबहादुर सिंह, जगदीशचन्द्र भण्डारी, सुरेश श्रेष्ठ, इश्वरचन्द्र ज्ञवाली लगायतका नेताहरुको समेत उपस्थिति रहेको थियो ।

कार्यक्रलाई रामसिंह श्रीस, जगदीशचन्द्र भण्डारी, अम्बीका मुडभारी लगायतले सम्बोधन गरेका थिए । कार्यक्रमका अधिकांश वक्ताहरुले महिला अधिकारको सुनिश्चितताका लागि वर्तमान संसदीय राज्य व्यवस्थाको विकल्प खोज्नुपर्ने औल्याउँदै त्यसका लागि आन्दोलन अनिवार्य सर्त भएको ठहर गरेका छन ।

कार्यक्रमका वक्ताहरुले मुलुकमा जनअधिकार प्राप्तीको लागि पटक पटक आन्दोलनहरु भएको भएपनि त्यसको मर्म अनुसार व्यवस्थामा परिवर्तन हुन नसकेकाले समाजका उत्पीडित वर्ग, समुदाय र महिलाहरु अधिकारबाट बञ्चित हुनुपरेको बताएका छन ।

कर्यक्रममा बोल्दै पार्टीका नेता श्रीसले व्यवस्थामा परिवर्तन नआउँदासम्म महिला तथा अन्य अत्पीडित वर्ग, समुदायहरुको हक, अधिकार सुनिश्चित हुन नसक्ने दावी गरे ।

उनले राज्य जनताको न्यायपूर्ण आन्दोलनको खिलापमा आफ्नो हर्कत बढाउँदै गएमा त्यसको प्रतिरोधमा उत्रिन तयार हुनुपर्ने भन्दै अहिले शान्तिपूर्ण रुपमा आफ्ना मागहरु सहित सडक संघर्षमा आफ्नो पार्टी जुटिरहेको समेत बताए ।

उनले बढ्दो मंहगी, भष्टाचरी, दलाली तथा राष्«िघाती, जनघाती कदमहरुको खुलेर आ आफ्नो ठाउँबाट विरोध गर्न पार्टीका नेता, कार्यकर्ताहरु तथा आम नागरिकहरुलाई आग्रह गरे।

महिला तथा सबै उत्पीडित वर्ग समुदायको अधिकार संघीय जनगणतन्त्रमा मात्र सम्भव भएको भन्दै उनले त्यसको सुनिश्चितताका लागि सबैलाई क्रान्तिकारी लाईनमा आएर संघर्षमा सहभागि बन्न आह्वान समेत गरे ।

कार्यक्रममा बोल्दै संगठनकी अध्यक्ष मुडभारीले महिलाको हक, अधिकार मागेर प्राप्त नहुने भएकाले त्यो संघर्षबाट मात्र प्राप्त हुने बताइन ।

उनले व्यवस्था परिवर्तन बिना महिला मुक्तिको नारा सार्थन नहुने भन्दै त्यसका लागि छरिएर रहेका सबै तह र तप्काका महिला, उत्पीडित वर्ग, समुदायहरुलाई अनेमसंघ क्रान्तिकारी र अन्य क्रान्तिकारी संगठनहरुमा जोडिन आह्वान गरिन ।

त्यस्तै संगठनकी महासचिव महतले कार्यक्रमको समापन गर्दै श्रमिक महिला दिवसले हक, अधिकारको लागि संघर्ष गर्नुपर्ने र त्यसका लागि अनिर्वाय रुपमा संगठित हुनुपर्ने संन्देश दिएको भन्दै सबैलाई त्यो प्रकृयामा आउँन आग्रह गरिन ।

त्यसैगरी हाम्रा सुर्खेत सहकर्मि मनराज कठायतका अनुसार अनेमसंघ क्रान्तिकारीले सुर्खेतमा महिला अधिकारका लागि खुला अन्तरक्रिया तथा चियापान कार्यक्रम गरेको छ । उक्त कार्यक्रममा जिल्लाका विभिन्न स्थानबाट महिलाहरुको उपस्थिति रहेको थियो ।

त्यस्तै बाँकेमा र्याली सहित श्रमिक महिला दिवस मनाइएको खबर हाम्रा बाँके सहकर्मि दिनेश कुमार श्रीवास्तवले गराएका छन । बाँके, बर्दिया, दाङमा अन्तरक्रिया, र्याली, कोणसभा लगायतका कार्यक्रमहरु भएको उनले बताएका छन ।

त्यस्तै गुल्मीको सत्यवती गाउँपालिकामा संघको कोषाध्यक्षको नेतृत्वमा वृहत र्याली तथा कोणसभा सम्पन्न भएको छ भने अन्य जिल्लाहरुमा समेत विविध कार्यक्रमहरु भएको बताइएको छ ।

त्यस्तै नेकपा विप्लव समुहको महिला संगठनले राजधानीमा कायोजना गरेको कार्यक्रममा प्रहरीले दमन गरेको र केही पक्राउ परेको बताइएको छ ।

अन्य सरकारी निकाय र संघ, सस्थाहरुले समेत श्रमिक महिला दिवसमा कार्यक्रमहरु गरेका छन । रक्तदान, वहस, कविता, गजल वाचन लगायतका कार्यक्रमहरु समेत आज भएका छन।