उपसचिव गिरीले १८ लाख घुस लिएको आरोपः अख्तियारद्धारा अदालतमा मुद्दा दायर

नक्कली प्रमाणपत्र बोकेका अर्का इन्जिनियर पनि फन्दामा

भोजपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार आरोपमा एक उपसचिवविरुद्ध मुद्दा दायर गरेको छ ।

सडक निर्माणका क्रममा भुक्तानी रोक्ने धम्की दिई १८ लाख ५० हजार रुपैयाँ घुस लिएको आरोपमा जिल्ला प्राविधिक कार्यालय भोजपुरका तत्कालीन सिनियर डिभिजन इन्जिनियर (उपसचिव) लालु गिरीविरुद्ध अख्तियारले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

भोजपुर–टक्सार–कोट–गोगने–लेखर्क सडक स्तरोन्नतिका लागि पेस्की तथा रनिङ बिल भुक्तानीका लागि उनले घुस लिएका थिए ।

सडक निर्माणको ठेक्का पाएको एमके रवाई पिजेभीका प्रतिनिधिसँग पटक–पटक रकम माग गरी बैंक खातामार्फत तथा नगदैसमेत गरी घुस लिएको उजुरी आयोगमा परेको थियो ।

छानबिनका क्रममा गिरीले घुस लिएको पुष्टि भएको अख्तियारले जाएको छ । उनको बैंक खाताको विवरणसमेत आयोगले अनुसन्धान गरेको थियो, जसमा निर्माण कम्पनीका प्रतिनिधिले पैसा दिएको पुष्टि भएको छ ।

दुई वर्ष ६ महिनादेखि चार वर्षसम्म कैद सजाय माग गरी उनीविरुद्ध आयोगले मुद्दा दायर गरेको हो । साथै, १८ लाख ५० हजार जरिवानासमेत माग गरिएको छ ।

सरकारी इन्जिनियरको प्रमाणपत्र नै नक्कली

एक सरकारी इन्जिनियरको नक्कली प्रमाणपत्र रहेको खुलेको छ । खानेपानी तथा ढल निकास विभाग पानीपोखरी काठमाडौंको मातहतमा विभिन्न खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयमा कार्यरत इन्जिनियर मोतिउर रहमानको नक्कली प्रमाणपत्र रहेको भन्दै आयोगले मुद्दा दायर गरेको छ ।

भारतको अलाहबाद विश्वविद्यालयबाट बिई अध्ययन गरेको भन्दै शैक्षिक प्रमाणपत्र पेस गरेर उनी बढुवा भएका थिए । यो समाचार आजको नयाँ पत्रिकामा प्रकाशित छ ।