विप्लवको गाउँमा प्रहरी कारबाही: गोली लागेर एक घाइते, अवस्था तनावपूर्ण

दमन रोक्न नेकपाको अपिलः प्रहरी भन्छ–हतियार बरामद भयो

फोटो फाईलबाट

कपिलवस्तु । प्रहरीले घरमा शंकासपद वस्तु राखिएको भन्ने सूचनाका आधारमा कपिलवस्तुको शिवराज नगरपालिका ९ शिवगढी स्थित नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवको गाउँमा हिजो साँझदेखि खानतलासि गरिरहेको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासिबाट गएको प्रहरी टोलीले विप्लवको घरका सार्थै अन्य शंकासपद मानिएका घर तथा स्थानहरुमा व्यापक खानतलासि बढाएपछि आज स्थानीयवासी, विद्यार्थी लगायतले त्यसको अवरोध गरेको खबरहरु आइरहेका छन ।

त्यस्तै त्यहाँ प्रहरीको खानतलासि टोली र स्थानीयवासी, विद्यार्थी, युवा लगायतबिच पटक पटक झडपको स्थिति उत्पन्न भएको बताइएको छ । त्यहाँको एक घरमा खानतलासिको क्रममा हतियार भेटिएपछि भाग्न लागेको भन्दै प्रहरीले गोली समेत चलाएको छ ।

प्रहरीको फायरिङबाट स्थानीय दुर्गाबहादुर रोकाको खुट्टाको देब्रे घुँडामाथि गोली लागेको खुल्न आएको छ । गोली लागी घाइते भएका रोकालाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ । प्रहरी श्रोतका अनुसार रोकाको बुटवलमा उपचार भैरहेको छ ।

त्यस्तै खानतलासिको क्रममा स्थानीयहरुले अवरोध गर्दा भएको झडपबाट दुई जना प्रहरी समेत घाइते भएको समाचारहरु आएका छन । प्रहरीले उक्त गाउँमा अन्य शंकासपद घरहरुको खानतलासि गर्न खोज्ने र स्थानीय, विद्यार्थी, युवाहरुले रोज्ने स्थिति अहिलेसम्म जारी रहेको बताइएको छ ।

दुई पक्षबिचको तनावका कारण अन्य सर्वसाधारण नागरिकहरु भने त्राशमा रहेका छन । त्यहाँ अहिले पनि प्रहरीको कडा निगरानी रहेको बताइएको छ । प्रहरीको खानतलासिले स्थानीय नागरिकमा त्राश, आतंक फैलाएको भन्दै विप्लव नेतृत्वको नेकपाले राज्यलाई दमन रोक्न अपिल गरेको छ ।

उक्त पार्टीको लुम्बिनी व्युरो इन्चार्ज वीरजंगले आज एक प्रेस विज्ञप्ती जारी गर्दै त्यस्तो अपिल गरेका हुन ।

उक्त विज्ञप्ती मार्फत कपिलवस्तुको शिवगढी –९ मा गृहप्रशासनले विप्लव लगायत दर्जनौं स्थानीय जनताको घरमा अनावश्यक खानतलासी गर्दै स्थानीय दुर्गावहादुर रोकालाई गिरफ्तार गरि खुट्टामा गोली हानिएको घटनाप्रति घोर निन्दा एवं भत्सर्ना समेत गरिएको छ ।

विज्ञप्तीमा भनिएको छ–‘त्यहाँ भेटिएको भनिएको हतियार पार्टीको नभएको जानकारी गराउँदछौं । यो घटना प्रहरीले आफ्नो हतियार जबर्जस्त थमाई षड्यन्त्रमूलक ढंगले फसाउने कुनियतबाट प्रेरित रहेको स्पष्ट गर्न चाहन्छौं । हामी गिरफ्तार गरिएका घाइते रोकालाई तत्काल रिहा गर्न अपील गर्दछौं । प्रहरीले सर्वसाधारण जनतामाथि यस्ता जघन्य क्रियाकलाप गरि झुट्टा मुद्दा लगाउने प्रपञ्चको खारेज गर्न चेतावनी दिन चाहन्छौं ।’

विज्ञप्ती मार्फत घाइते रोकालाई तत्काल उपचार र क्षतिपूर्ति सहित गोली हान्ने प्रहरीमाथि तत्काल कारवाही गर्न माग गर्दै वेवास्ता गरिए कडा सङ्घर्ष गर्न बाध्य हुने र त्यसबाट उत्पन्न परिणामका जिम्मेवारी स्वयं सरकार हुने बताएको छ ।

विज्ञप्तीमा राज्यको गैरन्यायिक हर्कत विरुद्ध आवाज उठाउन सम्पूर्ण नागरिक समाज, मानवअधिकारकर्मी, बुद्धिजीवी, पत्रकार एवं कानुन व्यवसायीलाई अपील गरिएको छ ।

त्यस्तै उक्त घटनाप्रति घोर भत्सर्ना गर्दै नेकपाको कपिलवस्तु जिल्ला इन्चार्ज संगम पुनले समेत विज्ञप्ती मार्फत राज्यलाई आतंक बन्द गर्न अपिल गरिएको छ ।

विज्ञप्ती मार्फत यसअघि पक्राउ परेका नवलपरासी जिल्ला पार्टी सदस्य गणेश ढकाल, रुपन्देही जिल्ला सदस्यद्धय प्रदेशी यादव र योगेन्द्र यादवको अबिलम्ब रिहाईको माग समेत गरिएको छ।

उक्त घटनाको विषयमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डीएसपी रवि रावलले भने खानतलासिको क्रममा हतियारहरु भेटिएपछि भाग्न खोजेका रोकालाई नियन्त्रणमा लिन फायर भएको बताएका छन ।

उनले त्यहाँ स्थानीय बासिन्दा, विद्यार्थी र प्रहरीबीच धकेलाधकेल हुँदा दुई प्रहरी समेत घाइते भएको बताएका छन ।

प्रहरीले घाइते भएका रोकाको घरबाट एउटा पेस्तोल, दुईवटा एसएमजीको गोली र गोलीगट्ठाका साथै ‘जनमुक्ति सेना नेपाल, आधारभूत सैन्य तालिम, शिविर २ नम्बर कम्पनी’ लेखिएको ब्यानर भेटिएको दाबी गरेको छ ।

दिउँस त्यहाँको स्थिति तनावपूर्ण रहेपनि अहिले भने जनजीवन सामान्य रहेको बताइएको छ। तर प्रहरीले आफ्नो कारबाही भने जारी नै राखेको बताइएको छ । त्यहाँ अझै प्रहरीको निगरानी जारी रहेको छ । (सांकेतिक तस्बिर/फाईलबाट)